
हालसालै नेपाली सेनाको संख्याबारे र यो संख्या कटौती गरी आर्थिक भार कम गर्ने आदि विषयमा केही सांसदले सार्वजनिक रूपमा तथा संसदमा बोलेको विषयमा टिका-टिप्पणी व्यक्त भइरहेको छ। नेपाली सेनालाई हेर्ने, बुझ्ने र मूल्यांकन गरिने दृष्टिकोणहरू सामाजिक सञ्जालमार्फत् बाहिर आइरहेका छन्। यो सन्दर्भ तथा प्रसंगमा नेपाली सेनाले आफ्नो आधिकारिक भनाइ राखेको त छैन। तर मुख्य रूपमा सैनिकहरूले भने सार्वजनिक रूपमा नै विभिन्न माध्यमद्वारा कडा प्रतिक्रियाहरूसहितका अभिव्यक्ति दिइरहेकाे अवस्था छ।
हुन त नेपाली सेना र यसको संख्या अनि कार्यक्षेत्र, कार्यशैली र भूमिकाबारे बीचबीचमा तर्क, चर्चा, टिप्पणी आदि नहुने गरेका पनि होइनन्। ती चर्चा र टिप्पणी तथा भनाइहरू सकारात्मक र नकारात्मक दुवै रूपका हुनेगरेका पनि पाइन्छन्। विशेषगरी ०४६ सालदेखि नेपाली सेनाबारे विभिन्न कोणबाट द्रुतरूपमा नै चर्चा, टिप्पणी र प्रतिक्रियाहरू आइरहेकाे क्रमहरू देख्न र बुझ्न सकिन्छ।
यो पंक्तिकारले करिब ८ वर्ष रक्षा मन्त्रालयमा कार्यरत रहेको र विभिन्न उत्तारचढाव, आरोह र अवरोहहरूलाई साक्षात गर्दै आफूले कार्यसम्पादन गर्दा अध्ययन गरेको, बुझेको, भोगेको र अनुभव गरेका यथार्थ, समझ र सुझबुझका आधारमा राष्ट्रिय सेना बारेको दृष्टिकोणलाई यो सानो आलेखमार्फत् अहिले आएका दृष्टिकोण, भनाइ र बुझाइहरूलाई केही विश्लेषण गर्दै आफ्ना भनाइहरू समेत राख्ने जमर्को गरेको छु। र, यो गर्न अहिले आवश्यक ठानेरै यहाँ प्रस्तुत भएको हुँ।
०४६ पछि लगत्तै तत्कालीन राजनीतिक नेतृत्वबाट राजा वीरेन्द्रसमक्ष अब देशमा प्रजातन्त्र आयो र राजनीतिक र आर्थिक रूपमा शीघ्र नै समस्याहरू हल हुने हुँदा सेनाको संख्या घटाएर २०-२५ हजारमा राख्न प्रस्ताव भएकाे थियाे। उक्त प्रस्तावमा राजाबाट कुनै प्रतिक्रिया आएन र पछि केही वर्षमा नै माओवादीले जनयुद्ध सुरु गरेसँगै अप्रत्यासित रूपमा नेपाली सेनाको संख्या बढाउनु पर्यो।
त्यसपछि पहिलो संविधानसभाका अवधिमा माओवादी पार्टीको वर्चस्व भएको र हौसिएको बखत नेपाली सेनामाथि निकै प्रहारहरू भए। संसदको एउटा समितिमा यो पंक्तिकारलाई पनि उपस्थित गराई नेपाली सेनाप्रति रोष प्रकट गर्दै विभिन्न व्यंगवाणहरू प्रहार गरेपछि पंक्तिकारले पनि त्यसक्षण गम्भीतापूर्वक जवाफ फर्काउनु परेको थियो।
त्यसपछि पनि नेपाली सेनाबारे केही सकारात्मक र केही नकारात्मक टिप्पणीहरू बुझी वा नबुझी, आग्रह वा पूर्वाग्रहमा, सत्यतथ्यमा टेकी नटेकी हुने गरेका छन्। अक्सर गरी राष्ट्र दुर्बल भएकाे अवस्थामा तथा कसैकसैका महत्त्वाकांक्षा, उत्ताउलोपन र भावावेशहरू बढेका बेलामा पनि कतिपय टिप्पणीहरू आउने गरेका छन्।
अहिले फेरि दुई सांसद्हरूले नेपाली सेनाको संख्या कटौती गरेर देशको खर्च घटाउने एउटा विकल्प सुल्झाए । यसबारे नेपाली सेना, भूपू सैनिकहरू, सुरक्षा मामिलामा सरोकार राख्नेहरू र सचेत नेपाली नागरिकलाई चासो रहनु स्वाभाविक छ। अब प्रश्न उठ्छ- किन यी दुई सांसद्ले यो समयमा यस्तो कुरा बोले? के सरकारको खर्च घटाउने उपाय र आवश्यकताको प्राथमिकता नेपाली सेनामा कटौती हो? यो अहिले जरुरी र आवश्यक नै छ? के यो विषयलाई यसरी आक्षेपयुक्त रूपमा मानमर्दन गरेर उठाउनु र उचाल्नु हुन्छ? के उहाँहरू यस विषयका विज्ञ हुन्? आदि प्रश्नहरू उठेका छन्।
प्रथमतः राष्ट्रिय शक्तिका चार मुख्य तत्वमध्ये सेना एउटा महत्त्वपूर्ण तत्व हो भन्ने कुरा सर्वव्यापी रूपमा बुझिएको विषय हो। यो राष्ट्रिय सेना हो र यसको आफ्नै प्रकारको विशिष्ट संवैधानिक दायित्व हुन्छ। नेपाली सेना संवैधानिक र कानुनी दायित्व तथा प्रावधानहरूबाट सञ्चालित हुन्छ।
दोस्रोपटकको संविधानसभापछि निर्मित संविधान र त्यसअन्तर्गत अख्तियार भएको राजनीतिक प्रणाली, शासकीय स्वरूप, अवस्था र संस्कारले देश अघि बढेको छ कि पछि सर्दैछ? राजनीतिक अस्थीरता, सुशासनको अभाव र व्याप्त भ्रष्टाचार, बढ्दो प्रशासनिक तथा साधारण खर्च, स्रोत परिचालन र खर्चमा देखिएको कमजोरी र विसंगति, कानुन मिचेर गरिने फजुल खर्च र काण्डैकाण्ड तथा राजनीतिबारे गम्भीर बहस हुनुपर्ने अवस्थामा नेपाली सेनाबारे उठेको चर्चा र त्यसपछिका टिप्पणी एवं मन्तव्यहरूले गम्भीर प्रश्न र चासो खडा गरेको छ।
देशको समस्याको जड कहाँ छ? जरा कहाँ छ? गम्भीर विषय र प्राथमिता के छन्? नेपाली सेनाका बारेमा जनमानसको बुझाइ र दृष्टिकोण के छ? नेपालमा राजनीति भ्रष्ट छ र अब दुई निकायहरू न्यायालय र सेनामा भरोसा गर्नुपर्ने अवस्थालाई इंगित गर्दै पछिल्ला दिनमा आएर त अब अदालतहरू पनि राजनीतिका भर्तीकेन्द्र र भ्रष्ट तथा स्वार्थका अखडा बन्दै गएपछि नेपाली सेना नै भरोसाको केन्द्रमा रहेको कुरा भनिँदै तथा सुनिँदै आइएको हो।
नकारात्मक कुरा गर्नेहरूले भने सलामी र मलामीमा प्रयोग हुने, देशको सीमा जोगाउन नसक्ने, काम नभएको, बोझिलो आदि शब्द प्रयोग गर्दै नकारात्मक टिप्पणी गर्ने गरेकाे अवस्था पनि देखा पर्छन्। नेपाली सेनाले नै सत्ता हातमा लिएर देश चलाउनु पर्छ र परेका बेलामा काम गर्दैन भने सेनाको इतिहास मात्र सम्झिएर हुँदैन भन्ने भनाइ राख्दै नेपाली सेनालाई उचाल्ने गरेका अभिव्यक्तिहरू पनि सुनिन्छन्।
सत्य-तथ्य, भनाइ-बुझाइ आ-आफ्ना कोणका छन्। यी र यस्तै अन्य धेरै प्रकारका भनाइ, बोली-बुझाइ, अभिव्यक्ति, चर्चा-टिप्पणी भइरहँदा नेपाली सेना बारेको इतिहास, यथार्थ कार्यशैली र जिम्मेवारी अनि संख्या बारेको प्रसंग र नेपाली सेनाको आवश्यकता एवं औचित्य तथा विद्यमान साखबारे केही दृष्टिकोण राख्दैछु।
प्रथमतः राष्ट्रिय शक्तिका चार मुख्य तत्वमध्ये सेना एउटा महत्त्वपूर्ण तत्व हो भन्ने कुरा सर्वव्यापी रूपमा बुझिएको विषय हो। यो राष्ट्रिय सेना हो र यसको आफ्नै प्रकारको विशिष्ट संवैधानिक दायित्व हुन्छ। नेपाली सेना संवैधानिक र कानुनी दायित्व तथा प्रावधानहरूबाट सञ्चालित हुन्छ। सेनाको इतिहास, पृष्ठभूमि र विशिष्ट चरित्र हुन्छ। यो गैरराजनीतिक हुन्छ, दृढ र छुट्टै पहिचानको हुन्छ। सरकारको अभिन्न अंग भएर पनि केही पृथक स्वभाव, उत्तरदायित्व र मान्यतामा रहन्छ।
त्यसैले यो राष्ट्र बचाउने शक्तिमध्येको अत्यन्त कठोर, अन्तिम महत्त्वपूर्ण र संवेदनशील औजार, अंग र संगठन पनि हो। त्यसैले मुख्य रूपमा के बुझ्नुपर्छ भने सेनाबारे सतही रूपमा, हल्का रूपमा र लोकप्रिय बन्न ठाउँ न कुठाउँमा टिप्पणी र चर्चा गर्नु उपयुक्त हुँदैन। यसलाई राम्रो मानिन्न। यो राष्ट्रको महत्त्वपूर्ण अंग र विषय भएकाले यसको संरचना, संख्या, कार्यक्षेत्र, कार्यप्रकृति र कार्यशैलीबारे विज्ञहरूको राय-परामर्श, अनुभव, प्रक्षेपण र आंकलनको महत्त्व हुन्छ। सेनाको संख्या र संरचना गोप्य राख्नुको आफ्नै संवेदनशील र सामरिक महत्त्व पनि छ।
कुनै विज्ञ, आधिकारिक व्यक्ति वा निकायले सेनाको नेतृत्वसमक्ष यस विषयमा छलफल, राय-परामर्श नै गर्थ्यो भने पनि त्यो विषय सार्वजनिक हुनु हुँदैन र आवश्यकता र औचित्यअनुसार जिम्मेवार तवरवाट निरूपण र निर्णय नै कार्यान्वयनमा आउनुपर्छ। तर, अहिले जथाभावी बोल्ने र लेख्ने प्रवृत्ति बढेर गएको छ र यो शोभनीय छैन, घातक नै छ।
संसदको रोस्ट्रममा उभिएर एउटा जिम्मेवार सांसदले देशको रक्षा गर्न नसक्ने, छिमेकीसँग युद्ध गर्न सामर्थ्य नभएको र सीमा सुरक्षा गर्न नसक्ने यति ठूलो संख्याको सेना किन राख्नेजस्ता गम्भीर आक्षेप र सतही रूपमा अभिव्यक्त हुँदा गर्दा विदेशी स्वार्थी तत्वहरू त रमाउलान् तर राष्ट्रिय सेनाको मानमर्दन हुने र जनतामा भ्रम तथा वितृष्णा फैलने कुराको समझ र हेक्का हुन नसक्नु दु:खको कुरा हाे।
सेना बैंक ब्यालेन्स तथा निकासयुक्त सरोवरमा रहेको पानीजस्तै हो। परेको बेला खपत हुन्छ। यो नदेखिने तर परेको बेला सबैभन्दा पहिला र महत्त्वपूर्ण रूपमा अगाडि आउने र कार्य गर्ने संगठन हो। यसर्थ यस्तो संवेदनशील र महत्त्वपूर्ण संगठनबारे बोल्नुपूर्व होस र विचार पुर्याउनुपर्ने हुन्छ।
यसले सेनाप्रतिको आस्था, विश्वास र भरोसालाई क्षति पुर्याउने अनि राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता र राष्ट्रिय स्थीरतालाई बलियो नबनाउनेतर्फ लक्षित पनि हुन्छ। सेनाको संख्याको विषय सतही तर्क र भावावेशमा निरूपण हुने विषय होइन। यसमा प्रत्यक्ष, अप्रत्यक्ष, सूक्ष्म विषय र कारणहरू लुकेका हुन्छन्। भविष्यका लागि सम्भावना र प्रक्षेपणहरू पनि हुन्छन्। साथै सैनिक नेतृत्वसँग विभिन्न प्रसंग र अवसरमा भेट हुँदा गरिएका विचार आदान-प्रदान, छलफल र तर्कलाई सार्वजनिक गर्न पनि संवेदनशीलतालाई ठम्याउन नसक्नु हो।
सीमा विवादकै कुरा गरौँ। यो किन सृजित भएको छ? कहिलेदेखिको हो? क-कसको दायित्वको विषय थियो र हो पनि ? को-को चुक्दै गए? सेना कहाँ तैनाथ हुन्छ? कति बेला कुन प्रक्रियाबाट परिचालित हुन्छ? सेना र सरकारको सम्बन्ध के हुन्छ? के सेना आफैं निर्णय गर्दै हिँड्ने निकाय हो? सेनाले आफ्नो कार्यक्षेत्र नाघेको छ कि पूरा गरेको छैन? त्यो कसरी परिभाषित, उल्लेखित छ? प्रथम, दोस्रो तथा अन्य स्टेपहरू के के हुन्छन्?
छिमेकीसँगका सम्बन्ध र विवादलाई बुझ्ने र समाधान गर्ने प्रक्रिया के हुन्? सेना कुन बेला र कसको निर्णयबाट परिचालित हुन्छ? पहिला त यी विषय बुझ्नुपर्याे र मात्र बोल्नु पर्याे। नत्र कसैको पनि मान, इज्जत, प्रतिष्ठा र साख रहँदैन। सेनाको व्यारेक किन बोर्डरमा रहँदैन र त्यहाँ प्राय: कुन फोर्स रहन्छ भन्ने कुरा बुझ्नुपर्याे।
नेपाली सेनाले राष्ट्रिय सुरक्षा संकट र निर्वाचनका बखत तथा द्वन्दकालमा वनजंगल र वन्यजन्तु संरक्षणमा, दैवी र प्राकृतिक प्रकोपका बखत, भिआइपी सुरक्षा र संवेदनशील संरचना र वस्तुहरूको सुरक्षा, शान्ति सेनामा पुर्याएकाे योगदानलगायत देशमा युवाहरूलाई रोजगारी दिएर सामाजिक उत्थानमा पुर्याएको भूमिकालाई चटक्कै बिर्सिएर यसको योगदानलाई न्यूनीकरण गर्ने तथा शून्यमा झार्ने सांसदले गर्दै छन्। राष्ट्रिय सेनाको मानमर्दन गर्नु दु:खको कुरा हो र कसैको हितमा छैन। अवश्य पनि सेना निरन्तर तालिम गर्ने, व्यारेकमा नै बस्ने, देशव्यापी रूपमा कभर गरेर बस्ने र सजग र तन्दुरुस्त हालतमा बस्ने संगठन हो।
सेना बैंक ब्यालेन्स तथा निकासयुक्त सरोवरमा रहेको पानी जस्तै हो। परेको बेला खपत हुन्छ। यो नदेखिने तर परेको बेला सबैभन्दा पहिला र महत्त्वपूर्ण रूपमा अगाडि आउने र कार्य गर्ने संगठन हो। यसर्थ यस्तो संवेदनशील र महत्त्वपूर्ण संगठनबारे बोल्नुपूर्व होस र विचार पुर्याउनुपर्ने हुन्छ।
सेनाभित्र पनि विसंगति, विकृति र सुधार गर्नुपर्ने ठाउँ र अवस्था होलान्। सेनाको संख्या र कार्यप्रकृति तथा कार्यक्षेत्रबारे पुनर्विचार हुनुपर्ने अवस्था होला। तर याे सस्तो, सतही र फोस्रा कुराको माध्यमबाट सार्वजनिक गरिने विषय होइन। सरकार र सेना नेतृत्व अनि कार्य अनुभवी तथा विज्ञहरूकाे अन्तर्क्रिया, राय, परामर्शमा उपयुक्त ढंग र प्रणालीबाट निरूपण गरिने विषय हुन्।
सेनाको संख्या र संरचना गोप्य राखिन्छ। यो गम्भीर र संवेदनशील विषय पनि हो। देशको अहिलेको हालत तथा गम्भीर आर्थिक अवस्था र भ्रष्टाचारको यो स्थिति तथा अवस्था हुनमा दोषी को छ? मुख्य रूपमा चुकेको विषय के हो? देशको प्राथमिकता र आवश्यकता केमा छ?
एउटा उदाहरण संघीयता बोझिलो र फजुल छ कि नेपाली सेनाको संख्या? राष्ट्रियता किन कमजोर भयो? विकासको मार्ग किन सुगम भइरहेको छैन? राजनीतिशास्त्री, अर्थशास्त्री, समाजशास्त्री, विद्वान र विज्ञ अनि माननीयज्यूहरूले पहिला यतापट्टि ध्यान दिऊँ, अध्ययन, विश्लेषण र बहस गरौं। त्यसपछि शान्ति र स्थायित्व अनि समृद्धिको ढोका खोल्दै नेपाली सेनालाई पनि संख्याबारे सोच्न भनौँ। सस्ता, फोस्रा र असंवेदनशील बोली र शैली बन्द गरौँ। यो घातक छ।