
धनगढी – धनगढी उपमहानगरपालिकाअन्तर्गतका स्वास्थ्यका कर्मचारीलाई उपमहानगरले हाजिरी गर्न नदिएपछि उनीहरुले आन्दोलन जारी राखेका छन्।
शुक्रबारदेखि हाजिर नगराए सम्पूर्ण सेवा ठप्प पार्ने उनीहरुले चेतावनी दिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन तथा समायोजन मिलान भएका स्वास्थ्यका कर्मचारीलाई हाजिर गराउनू भनेर पत्र पठाए पनि नमानेपछि निजामति कर्मचारीहरुले शुक्रबारदेखि कुनै सेवा नदिने निर्णय गरेका हुन्।
निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन कैलालीका अध्यक्ष विमल प्रकाश जोशीले धनगढीले स्वास्थ्यकर्मीमाथि अन्याय गरेको भन्दै भोलिदेखि हाजिर लगाउन नदिए सम्पूर्ण कर्मचारीले सेवा ठप्प पार्ने बताए। उनीहरु चार दिनदेखि उपमहानगरपालिकाभित्रै धर्नामा बसेका छन्।
मन्त्रालयले पटक–पटक भन्दा समेत प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र नगर प्रमुख गोपाल हमालले समायोजन भएर आएका स्वास्थ्यका कर्मचारीहरुप्रति अन्याय गरेको जोशीले बताए।
धनगढी उपमहानगरपालिकाले ३३ जना समायोजन तथा समायोजन मिलान भएका कर्मचारीको हाजिर रोकेको छ। कर्मचारीलाई कहाँबाट तलब दिने भन्ने समस्या देखिएकाले समायोजन तथा समायोजन मिलान भएका कर्मचारीलाई हाजिर गर्न नदिएको उपमहानगरले जनाएको छ।
स्वास्थ्यकर्मी कृष्णबहादुर बोहराले भने,‘तलब कहाँबाट दिने भन्दै उपमहानगरपालिकाले हामीलाई हाजिर लगाउन दिएको छैन। अहिले पनि हाम्रो धर्ना जारी रहेको छ।’