
पोखरा- पोखरा महानगरपालिकाले बढाएको करको विरोधमा प्रदर्शन भएको छ। अस्वाभाविक रूपमा बढाइएको कर खारेज गर्न माग गर्दै विरोध प्रदर्शन भएको हो।
जागरुक नागरिक समाजले बढेको करको दरको विरोध गर्दै चिप्लेढुंगादेखि पोखरा महानगरपालिकाको कार्यालयसम्म र्यालीसमेत निकाल्यो।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई जागरुक नागरिक समाजले ज्ञापनपत्रसमेत बुझाएको छ।
ज्ञापनपत्रमा अंशवन्डा, सवारी-साधन लगायतमा लगाएको कर चर्को भएकाले फिर्ता लिनुपर्ने माग छ। जनता बाँच्नै नसक्ने गरेर मंहगी बढेकाले नियन्त्रणको प्रयास थाल्न अनुरोध गरिएको छ।
जागरुक नागरिक समाजका अध्यक्ष रामहरि ढुंगानाले वर्तमान परिवेशमा बढाएको कर अव्यावहारिक भएको बताए। करको दर नभएर दायरा बढाउनुपर्ने उनको भनाइ छ।
‘हिजो जसरी सिंहदरबार घरघरमा आउदैछ भनेर उत्साह उमंग थियो। त्यसैको विपक्षमा स्थानीय सरकारले, प्रदेश सरकारले लगाएको जग्गा कर, सम्पत्ति कर, पेशा व्यवसायिकता फर्म नवीकरण कर तिर्न नसक्ने गरेर बढाए’, उनले भने।
गत वर्षको भन्दा ४ गुणासम्म कर बढेको उनले सुनाए।
पोखरा महानगरपालिकाले आर्थिक ऐन २०८०/८१ मार्फत् केही शीर्षकमा करको दर वृद्धि गरेको छ। गत आर्थिक वर्षको तुलनामा सम्पत्ति, व्यवसाय, बहाल, भूमिलगायत करको दर वृद्धि गरेको हो।
व्यवसाय करमा ‘क’ वर्गको वित्तीय संस्था वा वाणिज्य बैंकदेखि सहकारी बैंक शाखा कार्यालयका लागि १० प्रतिशतले वृद्धि गरेको छ। सहकारी संस्थाको व्यवसाय करमा भने १५० प्रतिशतसम्म वृद्धि भएको छ ।
पोखरा महानगरले आन्तरिक स्रोतबाट मात्रै यो आर्थिक वर्षमा २ अर्ब २७ करोड ८७ लाख संकलन गर्ने लक्ष्य लिएको छ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले मालपोत करमा एकरुपता ल्याउन खोजेको बताए।
उनले अन्य करमा त्रृति भएको भए सच्चयाउने बताए। विरोधको स्वर सुनिन थालेपछि कार्यपालिका बैठकले अध्ययन गरेको उनले जनाए।
‘अब हल्लाचाहिं निकै धेरै भयो। फेरि राजस्व परामर्श समितिको बैठक बसेर त्यसमा छलफल गरेको छ। त्यसमा कार्यपालिका बैठकमा फेरि हामीले यो ऐजेन्डा राखेर हेर्यौं’, मेयर आचार्यले भने, ‘के भएको हो भनेर राजस्व शाखाका पनि भनेका छौं। प्रतिवेदन आउँदैछ। अघिल्लो वर्ष र अहिलेको हामी तुलना गरेर हेर्छौं। कहाँ कहाँ के भाको लिखित स्टेटमेन्ट जारी गर्छौं। कहीं भ्रम पनि छ। कहीं मिस्टेक सुधार्ने विषय पनि छ।’