
पछिल्लो केही समययता मानसिक समस्या भएका बिरामीको संख्या बढ्दो क्रममा छ। मनोचिकित्सकका अनुसार सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो। मानिस पूर्ण रूपमा स्वस्थ रहन शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ हुनुपर्छ। कुनै देखिने रोग मात्रै पूर्ण स्वस्थताको अवस्था होइन।
कुनै व्यक्ति शारीरिक रूपमा स्वस्थ भइकन मन, विचार, सोच, व्यवहारमा तादम्यता राख्छ, व्यक्तिले आफू, परिवार, समाजमा सामञ्जस्यता कायम गरेको छ, व्यक्तिको व्यवहार, सोच त्यससँग मेल खान्छ, आफ्नो पोटेन्सियल, स्ट्रेन्थ, कमजोरपन सहज रूपमा चाल पाउँछ, त्यसलाई मनन गर्न सक्छ, आफू, परिवार र समाजलाई केही योगदान गर्न सक्छ भने त्यो अवस्थामा व्यक्ति मानसिक रूपमा स्वस्थ भएको बुझिन्छ।
प्रस्तुत छ, मानसिक समस्याका कारण र समाधानलगायत विषयमा केन्द्रित रहेर ललितपुरस्थित मानसिक अस्पतालका निर्देशक डा. अनन्तप्रसाद अधिकारीसँग न्युज एजेन्सी नेपालले कुराकानीको सम्पादित अंशः
० मानसिक रोग भनेको के हो?
– मानिस पूर्ण रूपमा स्वस्थ रहन शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ हुनुपर्छ। कुनै देखिने रोग मात्रै पूर्ण स्वस्थताको अवस्था होइन। कुनै व्यक्ति शारीरिक रूपमा स्वस्थ भइकन उसको मन, विचार, सोच, व्यवहारमा तादम्यता राख्छ, व्यक्तिले आफू, परिवार, समाजमा सामञ्जस्यता कायम गरेको छ, व्यक्तिको व्यवहार, सोच त्यससँग मेल खान्छ, आफ्नो पोटेन्सियल, स्ट्रेन्थ, कमजोरपन सहज रूपमा चाल पाउँछ, त्यसलाई मनन गर्न सक्छ, आफू, परिवार र समाजलाई केही योगदान गर्न सक्छ भने यो अवस्थामा व्यक्तिको मानसिक रूपमा स्वस्थ भएको बुझिन्छ।
मानसिक रोग भनेको यो अवस्थाबाट विचलित भएको अवस्था हो। व्यक्तिको मन, वचन, कर्म, व्यवहार आपसमा तादम्यता राख्दैन। सोच अर्कै खालको छ, उसको सामान्य मानिसको भन्दा व्यवहार अर्कै खालको छ, जसले उसलाई, परिवार, समाजलाई अप्ठ्यारो पार् यो। सामाजिक पेसागत काममा अप्ठ्यारो पर्न थाल्यो भने व्यक्ति मानसिक रूपमा स्वस्थ छैन भनेर बुझ्नुपर्छ।
० अस्पतालले कस्ता–कस्ता खालका सेवा प्रवाह गर्दैै आएको छ?
– मानसिक स्वास्थ्यका समस्या धेरै खालका हुन्छन्। मानसिक स्वास्थ्यको आयाम एकदमै बृहत् छ। सामान्य अवस्थामा भोक, निद्रा गडबड हुनेदेखि लिएर कडा खालको विक्षिप्तता उत्पन्न गराउने रोगसम्म मानसिक समस्याले ओगट्छ। ती धेरै हजारौं समस्यामध्ये हाम्रो अस्पतालचाहिँ केन्द्रीय मानसिक अस्पताल भएको हिसाबले अलि कडा खालका मानसिक रोगीको उपचारमा बढी केन्द्रित छ। भनाइको मतलव अन्य अस्पतालमा पनि मानसिक समस्याको उपचार त हुन्छ।
ती अस्पतालमा उपचार हुन नसकेर अथवा केन्द्रीय मानसिक अस्पतालको हिसाबले यो समस्याको उपचार गर्न मानसिक अस्पतालमै लैजानुपर्छ भन्ने हिसाबले सोचेर ल्याइएका बिरामी अलिक गम्भीर प्रकृतिका मानसिक रोगका बिरामी आउनुहुन्छ।
जस्तो डिप्रेसनमा पनि अलिक कडा खालका डिप्रेसनका समस्या, एन्जाइटीमा पनि त्यस्तै खालका, विक्षिप्तता उत्पन्न गराउने रोग डिसअर्डर, साइकोसी समूहमा पर्ने सिजोफ्रेनियालगायत रोग, लागुपदार्थ दुव्र्यसनीको कारणले गर्दा आएका कडा खालका मानसिक रोग, छारेरोगका समस्या यी यस्ता खालका समस्याको उपचार यस अस्पतालमा हुन्छ।
० मानसिक रोगको उपचार पद्धति कस्तो हुन्छ?
– यो स्वास्थ्यको समस्या हो भनिसकेपछि यसको उपचार त पक्कै पनि छ। मानसिक रोग स्वास्थ्यका अन्य समस्या जस्तै हो। अलिकति केही फरक त छ। मुख्य रूपमा हाम्रो अस्पतालबाट प्रवाह हुने सेवा भनेको औषधि उपचारकै सेवा हो। कडा खालका मानसिक रोग उपयुक्त समयमा उपचारको पहुँचमा आउनुभयो भने निको हुन्छ। र, हामीले अपनाएको मुख्य उपचार पद्धति भनेको औषधि उपचार हो। त्योबाहेक केही मानसिक स्वास्थ्य समस्या जसलाई मनोपरामर्श भनिन्छ।
साइकोलोजिकल उपचार पद्धतिको उपचारले पनि केही हदसम्म फाइदा गर्न सक्छ। त्यो उपचार पद्धति पनि हामीसँग उपलब्ध छ। अनि कतिपय अवस्थामा औषधोपचारबाट त्यति प्रभावकारी नभएका रोग हिजोआज विज्ञान प्रविधिको विकासले न्युरोमोडुलेसनमा आधारित उपचार पद्धती भित्र् याएका छौं।
ती उपचार पद्धतिमा हामीले जस्तो पहिलेदेखि सुन्ने गरिएको विद्युतीय उपचार पद्धति, म्याग्नेटिक उपचार पद्धति पनि छ। औषधोपचार, मनोवैज्ञानिक उपचार र न्युरोमोडुलेसन यो तीन वटा मुख्य उपचार पद्धति हामीले अवलम्बन गरेका छौँ।
० नेपालमा मानसिक रोगको अवस्था कस्तो पाउनुभएको छ?
– मानसिक स्वास्थ्यको समस्या विगतमा पनि थियो। अहिले पनि छ, पछि पनि रहन्छ। मानसिक स्वास्थ्यका समस्या बढ्दै छन्। मानसिक स्वास्थ्यलाई मान्छेले हेर्ने दृष्टिकोण पनि विस्तारै परिवर्तन हुँदै आएर जागरुक पैदा भएर स्वास्थ्यको ख्याल गर्ने हिसाबले मेन्टल हेल्थको जगेर्ना गर्ने र उपचारमा आउने प्रवृत्ति पनि बढेको छ। यसरी हेर्दा मानसिक स्वास्थ्यका समस्या बढ्दै पनि छन्। र, औषधोपचारका लागि अस्पताल आउने क्रम पनि बढ्दै छ।
० कस्ता खालका मानसिक समस्या भएका बिरामी यस अस्पताल आउने गर्नुहुन्छ?
– यस अस्पतालमा कडा खालका मानसिक रोगी उपचारका लागि आउनुहुन्छ। समाजमा कस्ता खालका रोग बढी छन् भन्ने कुरा गर्न जरुरी छ। हाम्रो समाजमा व्याप्त मानसिक समस्यामा धेरैमा एन्जाइटी डिस्अर्डर, डिप्रेसन, लागुपदार्थ दुव्र्यसनसँग सम्बन्धित स्वास्थ्य समस्या व्यापक रूपमा छ।
अहिले कडा खालको मानसिक रोग बढ्दो क्रममा छ। जस्तोः साइकोसी समूहका, एपिलेप्सी, बालबालिकामा देखिने मानसिक स्वास्थ्य समस्यालगायत। अहिले हाम्रो औसत आयुु बढ्दै गएको अवस्थामा वृद्धवृद्धामा देखिने मानसिक स्वास्थ्यका समस्या पनि धेरै छन्। अस्पतालमा आउने बिरामीको कुरा गर्नुपर्दा यी रोगमा पनि अलिकति कडा खालका रोग।
डिप्रेसनमा पनि सिभियर खालको डिप्रेसन, एन्जाइटीमा पनि एक्स्ट्रिम एन्जाइटी, प्यानिक डिस्अर्डर यस्ता खालका आउँछन्। यस्तै, साइकोसी, एपिलेप्सीमा छारे, मिर्गी भएकाहरू पनि आउनुहुन्छ।
० मानसिक समस्या भन्ने कि मानसिक रोग?
– विश्व स्वास्थ्य संगठनले के भन्छ भने मेन्टल एण्ड बिहेभियर डिस्अर्डर भन्छ। अहिले आएर नयाँ माहोल पनि आएको छ, मेन्टल हेल्थ कन्डिसन भन्नुपर्छ भन्ने पनि आएको छ। मानसिक स्वास्थ्यको अवस्था वा अस्वस्थताको अवस्था भन्ने कुरा पनि अगाडि आइरहेको छ। कुरा जे भए पनि मानसिक स्वास्थ्यको समस्या समस्या नै हो। जसका केही कारण पनि छन्। जसको निराकरण, समाधानका उपाय पनि छन्। यसको रोकथाम गर्न सकिन्छ। कारणलाई हामीले आइडेन्टिफिकेसन गर्न सक्यौं र त्योबाट टाढा रहनसक्यौं भने मानसिक स्वास्थ्यको समस्याबाट जोगिन सकिन्छ। स्वास्थ्यको समस्या आइसकेपछि उपचार पनि छ।
० मानसिक समस्याका बिरामी बढ्दै गएका हुन्?
– मानसिक स्वास्थ्यको समस्याका कारण त्यहाँभित्र अन्तरनिहित समस्याको जड के हो भनेर पनि केलाउन जरुरी छ। स्वास्थ्यका अरु समस्या जस्तैः व्याक्टेरिया, भाइरस पर्टीकुुलर चिज हुँदैन यसमा। बायोलोजिकल कारणमा जैविक कारण भनौँ न मान्छेको शरीरको संरचना, मस्तिष्कको संरचना, मस्तिष्कमा हुने न्युरो केमिकल ब्यालेन्सको कुरा एउटा हुन्छन्, अनुवंशिकताका कुरा एउटा हुन्छन्।
सामाजिक कारण पारिवारिक विखण्डन, वैदेशिक रोजगार, लागुपदार्थ दुव्र्यसनी, मानिसको महत्वाकांक्षी धेरै हुने, त्यसको फुलफिल कम हुने, बेरोजगारी यी सबै कुरा सामाजिक कारण हुन्। त्यसै गरेर साइकोलोजिक कारण पनि हुन्छ, जस्तो व्यक्तिले समस्यालाई हेर्ने दृष्टिकोण, व्यक्तिको व्यक्तित्व यी कुरा पनि हुन्छन्। जसले गर्दा मानसिक रोग निम्तिन्छ।
यसलाई चाहिँ हाम्रै अस्पतालमा होस् या समुदायमा होस् जहाँसुकै पनि निराकरण गरेर उपचार गर्नका निम्ति बायोलोजिकल, साइकोलोजिकल र सोसल यी सबै कुराबाट अप्रोच गर्नुपर्छ। यो मेजर हेल्थको इस्युु त हो। सँगसँगै यहाँ सोसोलोजिकल पनि जोडिन्छ। समाजको संरचना कस्तो छ? त्यहाँका नीतिनियम, कानुन कस्तो छ? लागुपदार्थको दुव्र्यसनी कत्तिको हुन्छ? तनाव व्यवस्थापनको स्थिति के छ? राज्य कत्तिको कल्याणकारी छ? यी कुरामा पनि भर पर्छ। त्यसैले बायोलोजिकल कारणलाई हेल्थ इस्युबाट एड्रेस गर्नुपर्यो।
रोगका लक्षण देखिएपछि उपचार गर्नुपर्यो। कारण पत्ता लगाउनुप¥यो। निश्चित समयअवधिसम्म औषधि सेवन गराउनुप¥यो। निको भएको छ कि छैन वाच गर्नुप¥यो भने सामाजिक कारणमा त भूमिका सबैको छ नि! राज्यको पनि छ, समाजको पनि छ। यो कुरामा सबै जना लाग्नुपर्छ।
साइकोलोजिकलमा चाहिँ व्यक्तिको सहन गर्ने क्षमता, व्यक्तित्व विकासका कुरा फेरि समाजसँगै जोडिएर आउँछ। कस्तो परिवारमा बच्चा हुर्केको छ? बुवा आमाबीचको सम्बन्ध कस्तो थियो? विद्यालयमा शिक्षकले कस्तो व्यवहार गर्नुहुन्छ? साथी–साथी बीचको सम्बन्ध। समग्रमा सबै कुरा हेर्नुपर्छ। र, राज्यको नीति पनि त्यतै जानुपर्छ जस्तो लाग्छ।
समाजमा अमनचयनको स्थिति कायम हुने, बेरोजगारीको स्थिति नहुने, पारिवारिक विखण्डन नहुने स्थिति, यी कुराले पनि मानसिक स्वास्थ्यको जगेर्नामा भूमिका खेल्छन्। सोसल मिडियाको अत्यधिक प्रयोगले केही कुरा फाइदा पनि ल्यायो। बेफाइदा पनि सँगसँगै भइरहेको छ। यसले पनि मान्छेलाई मानसिक रूपमा अस्वस्थ बनाउने कुरा भएको छ। सोसल मिडियाको प्रयोग होसियारीपूर्वक गर्नुपर्छ। रिलायबल कुरा मात्रै हेर्ने गर्नुपर्छ। लामो समय लागुपदार्थ दुव्र्यसनी हुने हिसाबले सोसल मिडियामा लत पर्ने हिसाबले प्रयोग गर्नु हुँदैन।
कुनै पनि व्यक्तिले पनि रचनात्मक काममा भाग लिने, तनाव व्यवस्थापन गर्ने कुरा, पर्याप्त मात्रामा सुत्ने, पोषिला खानेकुरा खाने, आफन्तहरूसँग टचमा रहने, मनका कुरा शेयर गर्ने, गफ गर्ने, यी कुराको पनि त्यत्तिकै महत्व हुन्छ। कडा खालको मानसिक रोग लाग्यो भने आफूलाई याद हुँदैन।
परिवारले उहाँहरूलाई तुरुन्तै स्वास्थ्य संस्थामा लिएर जानुपर्छ। र, आफूलाई पनि मन, व्यवहार, वचनमा तादम्यता छैन, केही असहज महसुस हुन लाग्यो, दिग्दारीले छाउन लाग्यो, बिना कारण डर लाग्न थाल्यो, निराशाजनक सोच आउन थाल्यो, जीवन प्रतिको मोह हराउँदै गयो भने कतै म मानसिक रोग, डिप्रेसनको सिकार त भएको होइन भनेर परामर्श लिन जानुपर्छ, हच्किनु हुँदैन। लुकाउनुपर्ने कुरो छैन नि यो।
० परामर्शले मानसिक रोगको समाधान हुन्छ?
– बायोलोजिकल उपचार, साइकोलोजिकल उपचार र सोसल एप्रोच सबै मिल्यो भने अधिकांश मानसिक रोग निको हुन्छन् अथवा नियन्त्रणमा आउँछन्। र, मान्छेले आफ्नो जीवन सहज रूपमा बनाउन र पेशा व्यवसाय गरेर जीवनलाई इन्ज्वय गर्न सक्छ। विभेद गर्न जरुरी छैन। उचित उपचार, मनोपरामर्श र सामाजिक सहयोग पाएको खण्डमा मानसिक समस्याको पूर्ण रूपमा उपचार सम्भव छ।
हरेक व्यक्तिको जीवनमा सधैँ खुसी मात्रै आउँछ भन्ने छैन। कहिले तनाव हुन्छ, कहिले निराशा हुन्छ, त्यो भन्दैमा व्यक्तिमा मानसिक रोग लाग्यो भन्न मिल्दैन। मनोरोगका लक्षण केही आउँदा पनि डिस्अर्डर वा रोग हो भन्नलाई केही क्राइटेरिया फुलफिल हुनुपर्छ। जसलाई डायग्नोसिस गर्ने काम फिजिसियनले गर्नुहुन्छ।
कतिपय अवस्थामा दैनिक रूपमा हुने तनाव व्यवस्थापन गर्न व्यक्ति आफैँ सक्षम हुन्छ। जस्तो कुनै उपलब्धिमा हामी धेरै खुसी हुन्छौँ, आफन्त गुमायौं भने तनावमा हुन्छौँ, पिर पर्छ त्यो मानसिक रोग होइन। त्यो नर्मल इमोस्नल रियाक्सन भयो।
यसबाट व्यक्ति अगाडि बढ्यो र उसको सोसियल, अकुपेसन, फङ्सनिङमा समस्या पर्न थाल्यो भने अलिकति सामान्य जीवनबाट फरक देखिन थाल्यो भने मानसिक रोग भनेर जान्नुपर्यो। आफूले वा आफन्तले पहिचान गर्नुप¥यो। छिट्टै उपचारको दायरमामा, मनोपरामर्शको दायरामा आउनुपर्यो। हरेक कुराको समाधान छ।
० अस्पतालको आगामी योजना छ, कसरी बिरामीले सेवा पाइरहेका छन्?
– यो अस्पताल केन्द्रीय अस्पताल हो। नेपालको जनसंख्याको अनुपातमा शय्या संख्या अपुग छ। यसलाई स्तरोन्नति गर्न ढिला भइसकेको छ। हाम्रो ५० शय्याको अस्पताल हो। ओपिडीमार्फत हामीले यथेस्ट सेवा दिएका छौं। अस्पतालमा आउने बिरामीलाई मनोचिकित्सकले हेरेर जाँच पड्ताल गर्नुहुन्छ र उपचार प्रक्रिया अघि बढाउनुहुन्छ। भर्ना हुन जति भर्ना हुनुपर्ने बिरामी आउनुुहुन्छ, सबैलाई एकैचोटि भर्ना गर्नसक्ने स्थिति छैन। ओपिडीको हिसाबले १३ जना साइक्याट्रिक्स हुनुहुन्छ।
दुई जना साइकोलोजिस्स्ट हुनुहुन्छ, काउन्सिलर हुुनुहुन्छ। दैनिक एक सय ५० देखि दुई सय जनाले ओपिडी सेवा लिनुहुन्छ। लागुपदार्थ दुव्र्यसनीलाई पनि सब्स्टीच्युस्नल उपचार पद्धतिबाट पनि सेवा प्रवाह गरेका छौँ। इमरजेन्सी सेवामा ६ वटा शय्या छ। एउटा मात्रै केन्द्रीय अस्पताल भएका कारण हाम्रो अस्पताललाई स्तरोन्नति गरेर राष्ट्रिय स्तरको मानसिक स्वास्थ्य प्रतिष्ठानको रूपमा विकास गर्ने योजना छ। त्यसका लागि मानसिक अस्पतालको अहिलेको संरचना अपुग हुन्छ। यो अस्पताल हाताभित्रै १५० शय्या पुर्याउने लक्ष्य छ।
सायद यो वर्ष काम सुरु हुन सक्छ। प्रतिष्ठान बनाउन जग्गाको खोजी गरिरहेका छौँ। मानसिक रोगको पनि उपचार छ। उपचार गरेपछि राम्रो जीवनयापन बिताउन सकिन्छ। खुलेर आफ्नो समस्या बताउने र उपचार लिने गर्नुपर्छ। वार्षिक रूपमा ओपिडीमार्फत ३० हजार जनाले सेवा लिनुहुन्छ। एक वर्षको अवधिमा ७ सय जना भर्ना गरेर उपचार गर्छौं। मानसिक रोगले उमेर, लिंग कसैलाई छाड्दैन। रोगमा देखिने लक्षण फरक पर्न सक्छन्। हाम्रो अस्पतालमा आउने अधिकांश बिरामी निको भएर स्थिर भएर घर जाने गर्नुभएको छ।