
पोखरा- पोखरामा यो वर्ष पनि तायाः मचा नृत्य प्रतियोगिता आयोजना गरिएको छ। यसपाली रानीपौवा तायाः मचा नाच समितिले प्रतियोगिता आयोजना गरेको हो।
१९ वर्षपछि रानीपौवा तायाः मचा नाच समितिले प्रतियोगिता आयोजना गर्ने पालो पाएको छ। भदौ १६ गते भिमसेन मन्दिर परिसर रानीपौवामा प्रतियोगिता हुनेछ।
कास्कीका ३० तायाःमचा नृत्य समूहले सहभागिता जनाउने प्रचारप्रसार संयोजक सुभाष ताझ्यले जानकारी दिए। उनका अनुसार पुरुषको २१ र महिलाको ९ समूहले प्रतिस्पर्धा गर्नेछन्।
यो पटक १० गुणाले पुरस्कार राशी वृद्धि भएको छ। पुरुषतर्फको विजेताले ३ लाख १ रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो हुनेले २ लाख १ रुपैयाँ, तेस्रोले १ लाख १ रुपैयाँ र सान्त्वना समूहलाई ३० हजार रुपैयाँ १ प्रदान गरिने ताझ्यले बताए।
तेर्सापट्टिका रामकाजी श्रेष्ठ, रविन्द्र श्रेष्ठ र शंकर श्रेष्ठले आफ्ना आमाबुवा हेमकुमार र बालकुमारीको स्मृतिमा १० लाख रुपैयाँ सहयोग गरेपछि पुरस्कार राशी बढाइएको उनको भनाइ छ।
यस्तै, महिलातर्फको विजेताले ४० हजार १ रुपैयाँ र दोस्रो हुने समूहले २० हजार १ रुपैयाँ पाउनेछन्। ‘खास तायाःमचामा पुरुष महिला भएर नाँच्ने गरिन्छ। अचेल महिला पनि नाच्ने भएकाले प्रोत्साहन स्वरूप पुरस्कारको व्यवस्था गरिएको हो’, ताझ्यले भने।
नेवा खलः कास्कीको आह्वानमा पोखरामा २०५६ सालदेखि निरन्तर तायाः मचा नृत्य प्रतियोगिता आयोजना हुँदै आइरहेको छ। गाइजात्रालाई पोखरामा तायाःमचा भनिएको हो।
गाइजात्रा (सापारु) पौराणिक र धार्मिक हिसाबले वर्षभर दिंवगत भएका आत्मको स्वर्गलोकमा बास पाउने विश्वासका साथ बाजागाज र नृत्यसहित मनाउने कथन छ।
तायाःमचा नृत्य पोखराको पर्यटनका लागि प्रडक्टका रूपमा विकास गर्नुपर्ने नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे बताउँछन्।
‘टुरिष्टका लागि तयाः मचा प्रडक्टको रूपमा विकास गर्नुपर्नेछ। व्यापक रूपमा टुरिजम सेक्टरका साथीहरुसँग मिलेर यसलाई क्यालेन्डरमै राख्न सक्यौं भने राम्रो हुन्छ’, उनले सुनाए।
तायाःमचा पोखरामा सबै जातजातीको भइसकेको उनको भनाइ छ।