
काठमाडौं- दक्षिण एसियाको न्यूरोसर्जरी अर्थात् स्नायू शल्यचिकित्सासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ।
नेपाल न्यूरोसर्जन समाजका अध्यक्ष डा. प्रबीण श्रेष्ठका अनुसार यही सेप्टेम्बर ७ देखि ९ सम्म आठौं दक्षिण एसियाली न्यूरोसर्जरीसम्बन्धी तीन दिने शिखर सम्मेलन काठमाडौंको कुपन्डोलस्थित हिमालय होटेलमा हुन लागेको हो।
यस दक्षिण एसियाली सम्मेलन सन १९९९ मा पहिल पल्ट नेपालबाट नै सुरु भएको थियो भने नेपालमा हालसम्म दुईपटक यस सम्मेलन भइसकेकाे छ।
विगत ६ वर्षदेखि र कोरोनाकालमा यस सम्मेलन हुन नसकिरहेको बेलामा नेपाल न्युरोसर्जन समाजले यस आठौं शिखर सम्मेलन नेपालको आयोजना गर्न लागेको हाे।
तीन दिनसम्म चल्ने उक्त सम्मेलनको पहिलो दिनमा न्यूरोसर्जरी रेजिडेन्ट चिकित्सक (तालिमरत चिकित्सक) लाई न्यूरो सर्जरीसम्बन्धी विविध विषयमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञहरूद्वारा तालिम दिइने छ भने दोस्रो र तेस्रो दिनमा दक्षिण एसियाका आठै देशलगायत अमेरिका, युरोप, जापान, चीन, क्यानाडा, इजरायल आदि देशहरुबाट न्यूरोसर्जरी समबन्धि विज्ञहरुको सहभागिता रहने छ।
सम्मेलनमा १५० वटाभन्दा धेरै कार्यपत्रहरू प्रस्तुत हुने डा. श्रेष्ठले जानकारी दिए। यस सम्मेलनलाई दक्षिण एसियाको न्यूरोसर्जरीसम्बन्धि सबैभन्दा ठूलो सम्मेलन मानिन्छ।
डा. प्रबीण श्रेष्ठका अनुसार नेपालमा हाल करिब ११२ जना सक्रिय न्यूरोसर्जनहरू रहेका छन्। तीमध्ये करिब आधा काठमाडौं उपत्यका (राजधानी) भित्र कार्यरत छन् भने आधा देशका अन्य स्थानहरूमा कार्यरत छन्। हाल देशको सातै प्रदेशमा न्यूरोसर्जनको उपस्थिति रहेको हुनाले न्यूरोसर्जरीसम्बन्धी सेवा देशभर पुगेको छ।
सन् १९८८ मा स्वर्गीय डा. उपेन्द्र देवकोटाले नेपालमा पहिलोपल्ट आधुनिक न्युरोसर्जरी सेवा सुरु गरेपश्चात देशमा यस सेवाको सुरवात भई विस्तार हुँदै गएको हाे।
नेपाल न्यूरोसर्जन समाजमा हाल उपाध्यक्ष डा. अमित थापा र महासचिव डा. सुदन भट्टराईसहित जम्मा १५ सदस्यहरू रहेका छन्।
दुई साताभित्र हुन गइरहेको दक्षिण एसियाली न्यूरोसर्जरी शिखर सम्मेलनले नेपालमा न्यूरोसर्जरीको विकासमा ठोस योगदान दिने नेपाल न्यूरोसर्जन समाजको विश्वास रहेको छ।
निकट भविष्यमा नेपालमा न्यूरोसर्जरी सम्बन्धि सेवा अझै विस्तृत हुँदै गइ अझै सरल र सुलभ तरिकाले उपलब्ध हुन सक्ने विश्वास गर्न सकिने डा. श्रेष्ठले बताए।