
काठमाडौं- प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार ढाल्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताएका छन्।
मंगलबार काठमाडौंमा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले गठबन्धन तोड्ने र सरकारलाई ढाल्ने धेरै कसरत भइरहेको तर सफल हुन नसकेको बताए।।
प्रधानमन्त्री दाहालले भने, ‘अहिले सरकारविरुद्ध विभिन्न खालका षड्यन्त्र भइरहेका छन्। यो गठबन्धन तोड्ने सरकारलाई ढाल्ने धेरै कसरत छन्। तर कसैको केही लाग्ने मैले देखेको छैन। गठबन्धन ५ वर्ष नै जानेछ, मैले त्यही देखेको छु अहिलेसम्म। अहिले अतिवादी विचार र प्रवृत्तिहरू कहीँ धार्मिक त कतै जातीय, कतै माध्यमबाट यो परिवर्तनलाई उल्ट्याउन, माओवादी आन्दोलन कमजोर पार्न सकिन्छ कि? भन्ने कसरतमा छन्। त्यसमा हामी संवेदनशील छौं।’
उनले नयाँ क्रान्ति सुरु नगर्ने हो भने देश ठूलो दुर्घटनामा जाने बताए। उनले अहिले परिवर्तन उल्टिने खतरा आफूले देखिरहेको बताए।
प्रधानमन्त्री दाहालले भने, ‘एउटा नयाँ क्रान्ति थालनी नगर्ने हो भने देश दुर्घटनामा पर्ने खतरा छ। यो परिवर्तन उल्टिने खतरा छ। हाम्रो शक्ति मजबुत भएन भने अलिकति कमजोर देखिने बित्तिकै प्रतिक्रियावादीले के के गर्छन् भन्ने तपांई हामीले भोगिसकेका छौं।’
उनले भारत-नेपाल सीमा विवाद सुल्झाउने कुरालाई देशभित्रका राजनीतिक दलहरूले पचाउन नसकेको पनि बताए।