
काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले जातीय पहिचानको आधारमा सबै प्रदेशको नामाकरण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री दाहालको सो अभिव्यक्ति संविधान विपरित र मुलुकमा जातीय हिंसा भड्काउने गरी आएको भन्दै आपत्ति जनाएका हुन्।
प्रधानमन्त्री दाहालको सो भनाइ आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताउँदै उनले सो अभिव्यक्तिप्रति निन्दा र भर्त्सनासमेत गरे।
प्रमुख सचेतक गिरीले आपसमा मिलेर बसेका नेपाली समुदायलाई भडकाउने, आपसी विद्वेष फैल्याउने, मुलुकलाई अराजकतातर्फ लैजाने काममा प्रधानमन्त्री दाहाल आफैँ संलग्न गरेको आरोपसमेत लगाए।
उनले भने, ‘पछिल्लो समय सम्माननीय प्रधानमन्त्रीज्यूले जुन प्रकारले अभिव्यक्तिहरू दिनुभएको छ। यो अभिव्यक्ति असंवैधानिक त छँदैछ। सँगसँगै मुलुकमा मिलेर बसेका दाजुभाइबीच आपसमा विद्वेष फैल्याउने र मुलुकमा हिंसा भड्काउने, देशमा अराजकताको स्थिति सृजना गर्ने र मुलुकमा त्रादसीपूर्ण स्थिति सृजना गर्ने काममा स्वयम् प्रधानमन्त्रीले मलजल गर्ने काम गरिरहनुभएको छ। देशको प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा बसेको व्यक्ति यसरी आपसी दाजुभाइहरूको बीचमा विद्वेष र घृणा फैल्याउने काम यो कुनैपनि हालतमा स्वीकार्य छैन सभामुख महोदय।’
प्रमुख सचेतक गिरीले सरकारले सुशासन कायम गर्ने भनेपनि त्यस अनुसारको काम गर्न नसकेको जिकिरसमेत गरे।