हे यो माछीलाई जालैमा पार्नु छ
भरे छाक यसैले टार्नु छ ।
लमजुङको डाँडापाखामा हुर्किएका सागर खड्काले बाल कलाकारको रूपमा गाउँदा उनी लमजुङ जिल्लाभरि प्रसिद्ध भए। स्कुले जीवनमा लोकदोहोरी गीतमा भाका छोप्थे उनी। ६ वर्षको उमेरमा गाएको गीत अहिले पनि युट्युब र टिकटकमा देख्न सकिन्छ। लोकदोहोरी गीत सानैदेखि गाउँदै आए पनि उनले बीचमा लामो समय पढाइका कारण गीत-संगीतबाट टाढिए। १८ वर्षपछि अर्थात् २४ वर्षको उमेरमा नै आख्यानकारका रूपमा उदाए उनी। हो, फाइन प्रिन्ट प्रकाशन गृहले प्रकाशन गरेको ‘राइपाली भन्ज्याङ’ उपन्यासका कारण उनी चर्चामा छन् ।
पहिलो कृति ‘राइपाली भन्ज्याङ’ गत साता काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा विमोचन भएको थियो, जसमा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का, चर्चित लेखक बुद्धिसागर लगायतको उपस्थिति थियो। पहिलो कृति नै फाइनप्रिन्ट जस्तो प्रतिष्ठित प्रकाशन गृहबाट निकालेका सागरले राइपाली भन्ज्याङबाट यतिखेर साहित्यिक जमातमा बेजोड प्रतिक्रियाहरू बटुलिरहेका छन्।
स्नातक तहमा कृषि अध्ययन गरेको समयमा उनले किताब लेखे। आख्यान लेख्न कमै लेखकले दुस्साहस गर्छन्। तर उनले २० वर्षको उमेरदेखि आख्यान लेख्न थाले। आखिर केले प्रेरित गर्यो त सागरलाई? उनी भन्छन्, ‘ बुद्धिसागरकाे कर्णाली ब्लुज उपन्यास पढ्दै जाँदा मलाई पनि उपन्यास लेख्न सकिन्छजस्ताे लाग्याे अनि मैले लेख्न थालें। कर्णाली ब्लुज सरल भाषामा लेखिएकै कारण पनि म लेखक भएको हुँ।’
किताब खासै पढ्ने नगरे पनि सागर फिल्म बढी हेर्थे। बाल्यकालमा कुनै रोकटोक भएन। उनी स्वतन्त्र हुर्किए। र, उनको परिवारलाई पनि के विश्वास थियो भने- सागरले कुनै गलत काम गर्दैन। उसले जे गर्छ राम्रै गर्छ। त्यो विश्वास उनले परिवारमा दिलाएका कारण पनि लेखनमा हौसिए उनी। भन्छन्, ‘हामी ग्रामीण समुदायमा हुर्किएका हौं। बुवाको बाल्यकाल र हाम्रो बाल्यकालमा खासै फरक छैन। पछिल्लो दश वर्षयता टेक्नोलोजी न भित्रिएको हो। तिनै बाल्यकालहरूको संस्मरणले पनि लेख्न प्रेरित गर्यो।’

लेखक सागर खड्का र देश सञ्चारकर्मी राज सरगम।
उपन्यासको प्रमुख पात्र ‘बुद्धि’ र लेखक सागरले आफ्नो नाम ‘सागर’ जोडेर उनले उपन्यासको नाम ‘बुद्धिसागर’ राखेका थिए। केही नयाँपन हुन्छ र पाठक आकर्षित हुन्छन् भन्ने बुझाइका कारण त्यसो गरेको बताउँछन् उनी। यही नामको पाण्डुलिपि फाइनप्रिन्टको कार्यालयमा छोड्दा पनि उनलाई लागेको थियो- किताब पढ्लान् कि नपढ्लान्?
सागरलाई किताब छापिएला भन्ने लाग्दानलाग्दै फाइन प्रिन्टले किताब छाप्यो। त्यो नै उनको टर्निङ पोइन्ट बन्यो। उपन्यासको पात्र बुद्धि उनकै बाल्यकाल हो जस्तो लाग्छ। मुखिया पात्र पनि उनको हजुरबुवाबाट प्रेरित पात्रजस्तो लाग्छ। तर उनी काल्पनिक कथा मान्छन् राइपाली भन्ज्याङलाई। चालिस र पचासको दशकमा बाँचेको समाज र त्यो बेलाको मानिसको जीवनशैली हो यो।
सागर गायक पनि भएकाले उपन्यासमा केही गीत प्रयोग गरेका छन्। केही चर्चित गायकहरूको गीत छन् भने केही उनी आफैंले जोडेर लेखेर राखेका छन्। उनी भन्छन्, ‘गीतहरूले कथालाई अगाडि बढाउन सहयोग गरेका छन्। लम्जुङको सेरोफेरोमा गीतले पनि ठूलो भूमिका खेलेको छ।’
बुद्धि भन्ने पात्र आफैंमा गायक छ । उनी बुद्धि बन्न बुवाको औराबाट प्रेरित लाग्छ उनलाई। उनी भन्छन्, ‘बुद्धि भन्ने पात्र मेरो बुवाका छाया पात्र हो भन्दा फरक नपर्ला। बुवाबाट प्रेरित पात्र हो बुद्धि।’
गीत गाउन र लेखनमध्ये उनलाई गीत गाउन सजिलो हुन्छ भन्छन् उनी।

लेखक सागर खड्का।
लाहुरे संस्कृति झल्किने देखिन्छ राइपाली भन्ज्याङको कभरमा। र, उनको परेवाडाँडा लाहुरेहरू जाने हुन्छन्। उनी भन्छन्, ‘मेरा पुर्खाहरू लाहुरे थिए। अहिलेचाहिं मेरा बुवा शिक्षक हुनुहुन्छ। खासमा लाहुरे संस्कृतिमा म हुर्किएको हुँ। अहिले पनि लाहुरेका आफन्तहरू चुरोट, लिपिष्टिक, मदिरा र कपडा पर्खिने संस्कृति छ।’
राइपाली भन्ज्याङभन्दा अगाडि सागरले प्रेम कथा लेखेका थिए। साथै राइपाली भन्ज्याङ पनि लेख्दै थिए। उनलाई तान्यो राइपाली भन्ज्याङले अनि बिर्सिए प्रेमकथालाई।
प्रौढ पात्रहरू प्रति गहिरो लगाव छ सागरलाई। उनलाई मुखिया पात्र प्रिय छ। कथाले जे माग्यो त्यही लेखेको हुँ भन्ने लाग्छ उनलाई।
लेखन, गीत-संगीत र विद्यार्थी संगठनमा बसेर काम सँगसँगै अगाडि बढाउने कोसिसरत छन् उनी। उनी भन्छन्, ‘जे सकिन्छ त्यही गर्ने हो। एउटा गीत पनि आउँदै छ र म रटानमा लेख्ने गर्छु।’
गीत-संगीतमा छिटो चिनिन्छ भन्ने अहिलेका युवापुस्तामा सागर गीत गायनलाई भन्दा लेखनमा रमाउन थाले। उनी भन्छन्, ‘सन्तुष्टि छु म लेखनमा। लेख्नु पनि पर्छ र गीत पनि गाउने कोसिस रहने छन्।’
कृषि पढेको मान्छे लेखनमा किन लाग्यो होला भनेर आमाले असन्तुष्टि देखाइरहे पनि उनले कापीमा किताब लेख्दै गए। उनी भन्छन्, ‘बुवाले केही भन्नु भएन। तर आमाले कृषि पढिरहेको मान्छे किन किताब लेख्नतिर लागेको भनिरहनुहुन्थ्यो।’
आमाको मन नहुँदा हुँदा पनि उनले किताब लेखे र प्रकाशन पनि गरे। अहिले उनी चर्चामा आए। उनी भन्छन्, ‘चार वर्षमा किताब लेखिसकेको थिएँ। यो समयमा धेरै पटक पढें र धेरैपटक मेटें। अहिले आमा पनि खुसी हुनुहुन्छ।’
भन्ज्याङहरू बिरानो हुँदै गए। विकासे सडक विस्तारसँगै भन्ज्याङहरू हराउँदै गएको बताउने सागर भन्छन्, ‘हराउँदै गएको बिरानो हुँदै गएको भन्ज्याङहरूमध्ये एक हो- राइपाली भन्ज्याङ।’