
जनकपुरधाम-मिथिलाञ्चाल क्षेत्रमा दशैँको अवसरमा शक्तिपीठहरुमा विवाहित नारीहरूले सौभाग्यवती एवं सन्तानको कामना गर्दै देवी दुर्गा भवानीको खोइँछ भरेका छन्।
यसका लागि बिहानै देखि राजा जनकको कुलदेवीको रूपमा चिनिने राजदेवी मन्दिरसहित जनकपुरधामको विभिन्न स्थानमा बनाइएको देवी दुर्गाको प्रतिमा अगाडि विवाहिता महिलाले सप्तमी तिथिदेखि नै खोँइछ भरिरहेका छन्।
मिथिलाञ्चल क्षेत्रमा छोरी माइत आएपछि फर्कने क्रममा खोँइछ भर्ने परम्परा रहेको छ।
नवरात्र सुरू भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले शक्तिपीठमा दुबो, धान, बेसारको गिँड , सिन्दूर, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत खोइँछ भर्ने विधि गरेका छन्।
खोंइछ दिनुलाई समृद्धि, परिपूर्णता र भावनात्मक शुभाशीषको प्रतीक मानिन्छ। खोंइछमा प्रमुख रूपले प्रदान गरिने धानलाई अन्नपूर्णा देवीको प्रतीक मानिन्छ जसको अभिप्राय अन्नको अभाव कहिल्यै नहुने, दुबोलाई भगवान शिव र विष्णुको प्रतीक मानिन्छ जसको अर्थ ईश्वरको अनुकम्पा सधैं रहिरहने र बेसारलाई बिष्णुको र सिन्दूरलाई सौभाग्यको प्रतीक मानिन्छ।
खोँइछ भर्नका लागि हजारौँको संख्यामा महिलाहरू राजदेवी मन्दिरसहित रामानन्द चौक, मुरली चौक, पिडरीयामाइस्थान लगायतका स्थानमा खोँइछ भरेका छन्।