
लुम्बिनी – बुद्ध जन्मस्थल रुपन्देहीको लुम्बिनीमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसको भ्रमणलाई लिएर लुम्बिनीमा तयारी पूरा भएको छ।
महासचिव गुटेरेसको स्वागतका लागि लुम्बिनी विकास कोषले सबै तयारी पूरा गरेको कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा (खेन्पो छिमे)ले जानकारी दिए।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको उपस्थितिमा लुम्बिनीमै सुरक्षासहितको बैठक बसेर चुनौतीरहितको सुरक्षा व्यवस्थापन गर्ने र लुम्बिनी भ्रमणलाई सम्झिनलायक बनाउने निर्णय गरेको उनले बताए।
महासचिवको भ्रमणले बुद्ध र लुम्बिनीको विश्वव्यापी प्रचारको अवसर हुने र आगामी दिनमा लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसंघको योगदानको खोजी गर्न सकिने उपाध्यक्ष लामाले बताए।
महासचिव गुटेरेसलाई लुम्बिनीमा लुम्बिनी विकास कोषका अध्यक्ष एवम् संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा सहित सरकारी उच्चस्तरीय अधिकारीहरुले स्वागत गर्नेछन्।
महासचिव गुटेरेस मंगलबार बिहान ८ः३५ मा पोखराबाट जहाजमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने र त्यहाँबाट हेलिकप्टरमा बिहान ८ः५० बजे लुम्बिनीमा आइपुग्नेछन्। गुटेरेसलाई हेलिप्याडबाट गाडीबाट चारनम्बर गेट हुँदै शान्तिदीपमा लगिनेछ।
कोषका अनुसार गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणी सहित लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारु लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीहरुले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवै तर्फ बसेर स्वागत गर्नेछन्।
गुटेरेसले मायादेवी मन्दिर, बुद्ध जन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षणपछि पिपलको रुखमुनि छोटोमा स्वागत गर्ने कार्यक्रम राखिएको छ। लुम्बिनीमा डेढ घन्टा बिताएपछि १०ः३० बजे काठमाडौं फर्कने गरी कार्यक्रम तालिका बनेको छ। महासचिवको भ्रमणलाई लिएर कोषले आवश्यक सम्पूर्ण तयारी पुरा गरेको योजना प्रमुख सरोज भट्टराईले बताए।
कोषका तर्फबाट गुटेरेसलाई मायाको चिनो र अतिथि पुस्तकमा हस्ताक्षरपछि मिडियासँग प्रधानमन्त्री पुष्पकमल दाहाल र महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले जानकारी दिए।