एक समय थियो, विधवाले सधवाको भेष गर्नु पनि पाप हो जसरी लिन्थ्यो समाज। कलिलो उमेरमै अन्मिएका छोरीहरूको सिन्दुर पुछिनु पाप नै हो जसरी सजाय भोगाउने मात्र होइन, अनेक आक्षेप लगाउँदै अशुभताको प्रतीक मानिन्थ्यो त्यस्ता नारीलाई। नारी आफैं पनि आफूलाई पापको भागेदार मान्थे र भोग्थे- समयले गरेको छलको सजाय।
पल्टाएर हेर्ने हो भने इतिहास जति पुरानो पन्नामा पुग्यो, नारीप्रति उति नै कठोर भएको पाइन्छ। ‘सती प्रथा’ जस्ता प्रथाहरूले नारीको स्वतन्त्रता मात्र होइन, जिउन पाउने अधिकारसमेत खोसेको कहालीलाग्दो विगत छ। जतिबेला पति वियोगमा पिल्सिएका नारी जिउँदै चितामा जल्नुपर्ने बाध्यता थियो। तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं. १९७७ मा सो प्रथाको अन्त्यको घोषणा गरे। तत्पश्चात् नारी एकल भइकन पनि बाँच्न पाउने भए।
समाज फेरिँदै गयो, समाजको आकार, रूप, रंग पनि फेरियो। तर जुन गतिमा फेरिनुपर्ने सामाजिक मानसिकता र व्यावहारिकता थियो, त्यसले भने कछुवाको गति लियो। तन नजले पनि पल-पल मन जलाएर यही समाजमा निरन्तर संघर्ष गरिरहेका छन्, आज पर्यन्त पनि नारीहरू।
समाजको परिधिभित्र बाँधिइकन पनि खुसीका अंकुर हाल्न साहस गर्ने नारीको पनि कमी छैन यो समाजमा। यस्तै उदाहरणीय नारी पात्र हुन्- गजलकार अम्बिका पोख्रेल कार्की।
…
उसो त लगनको महिना मंसिर। उमेर बढेका छोरीको लागि कुटुम्बको खासखुस चलिचहन्थ्यो। भर्खरै फलामे ढोका अर्थात् एसएलसी परीक्षा दिएकी चितवन माडीकी अम्बिका पोख्रेलको लागि पनि बिहेका कुरा आउँथे। यही मंसिरमा आफ्नो हुर्किँदै गरेको प्रेमको मुनालाई विवाहको रूप दिँदै थिए- अम्बिका र उनका प्रेमी ओम कार्की पनि। पारिवारिक सहमति र उपस्थितिमै ०५१ मंसिर २१ अम्बिका पोख्रेलको पछाडि कार्की पनि थपियो। १५ वर्षको उमेरमा उनी कसैको छोरीबाट पत्नी बनिन्, बुहारी बनिन्।
नेपाल प्रहरीमा कार्यरत उनका पति ओमको जागिर पनि चितवनमै थियो। परिवार हाँसीखुसी थियो। विवाह गरेको करिब चार वर्षपछि छोरी अर्पणा जम्मिइन्। परिवारमा झन खुसी थपियो। दैवको खेल भनौं या यस्तै केही। उनको खुसीले निरन्तरता पाउन सकेन। हुर्कँदै गरेको प्रेम र थपिँदै गरेको उनको पारिवारिक खुसीमा बैरी बनेर आइदियो- सशस्त्र द्वन्द्व।
…
२०५६ सालको वैशाख ११ गते वर्षदिन टेकेकी छोरी अर्पणालाई खेलाउँदै बसेकी अम्बिकाको कानमा गोलीका छर्राका आवाज गुन्जिन थाल्यो। उसो त द्वन्द्वका कारण यसै अत्तालिरहेकी उनका लागि श्रीमानको पोस्टिङ रहेकै स्थलमा गोलीको आवाज आउनुले कतिसम्म तर्सायो त्यसको अनुमान सशस्त्र द्वन्द्वमा परिवार गुमाएकाले बाहेक अरू कसले पो लगाउन सक्ला र? डरैडरमा बसेकी उनले त्यसरात कुनै अशुभ खबर सुनिनन्। मनमा अनेकन कुराहरू खेलेपनि अशुभ कुराको कल्पना नै नगरी निदाइन् उनी।
बिहान सबेरै आफन्तकोमा जाने तरखरमा लागेकी अम्बिकाको घरमा प्रहरीको भ्यान आएर रोकियो। मनमा चिसो पस्यो, अघिल्लो साँझ निदाउन सकेकी उनले बिहानमा भने सपनाजस्तै दृश्य देखिन्- प्रहरीको भ्यानमा अरूथोक केही नभएर उनका पति ओम कार्कीको शव थियो। त्यो दृश्यले अम्बिका गर्ल्याम्मै ढलिन्। यो सबदेखि बेखबर छोरी अर्पणा त्यतिबेला आँगनमा खेलिरहेकी थिइन्।
‘दशमा पढ्दापढ्दै प्रेम भयो। एसएलसी सकाएर विवाह गर्यौं। भर्खरै हुर्किँदै गरेको प्रेम दैवले यसरी चुँडेको खबर सुन्दा त मन भक्कानिन्छ। झन् मैले त भोगें। म सम्झना पनि गर्न सक्दिनँ त्यो पल’, स्मरण गर्दै उनी भन्छिन्।
होस सम्हाल्नै ३-४ दिन लगाएकी अम्बिकाले त्यो कलिलो उमेरमा अबोध छोरी र आफूलाई सम्हाल्न कति समय लगाइन् होला, यसको वास्तविकता उनीबाहेक अरु कसलाई पो थाहा होला!
…

अम्बिका कार्कीको माइती र दुवै घरपट्टिका परिवारका सदस्यहरु र अन्य आफन्त।
२० वर्षको कलकलाउँदो उमेर। हुर्किँदै गरेकी काखे छोरी। भर्खर पुछिएको सिउँदोको सिन्दुर। द्वन्द्वका छिटफुट आवाज। त्यसपछिको समय अम्बिकाका लागि निकै भयानक र असहज भयो। परिवारको जिम्मेवारी थपियो, छोरीको खर्च बढ्यो। समाजको दृष्टिकोण बदलियो अनि बदलियो उनको दैनिकी पनि। पति गुमाएकी उनले अनेकन कागजात बोकेर धेरै ठाउँमा धाउनुपर्यो, कामकाज र अर्थोपार्जन हुने बाटो रोज्नुपर्यो।
सानी छोरी लिएर गाउँघरमा दैनिक कामकाजमा पुग्दा आफूले भोगेका लाञ्छना र अनेकन वचन सम्झिँदा अझै पनि मन भक्कानिन्छ अम्बिकाको। भन्छिन्, ‘म सती मात्र जानु परेन, समाजले पल-पल जलाइरहन्थ्यो।’ सती प्रथा हटे पनि यसका अवशेष अझै बाँकी रहेको र त्यसले अझै पनि समाजमा विचलन ल्याइरहेको अम्बिकाको ठहर छ।
‘सती प्रथा मात्र हटेको हो। समाजले त पल-पल जलाइरहन्छ नारीलाई। अनेक लाञ्छना लगाइरहन्छ’, विगत सम्झँदै उनी भन्छिन्, ‘ओमजी मेरै कारण बितेको भन्ने आफ्नै कानले सुनें। पर-पुरुषसँग बोल्दा पनि अनेक कुरा गर्ने। अनेकन आक्षेप सहनुपर्थ्यो मैले।’
धारा, पँधेरा, मेलापात जहाँतहीं अम्बिकाकै कुरा हुन्थ्यो। कसैले सहानुभूति देखाउँदै हेप्थे, कसैले अनेकन लाञ्छना लगाउँथे। काम विशेषले कोही पुरुषसँग बोल्दा पनि ठूलै पाप गरेजसरी मानिसहरू हेर्थे। वरिपरि रहेकाहरूको वचनले विक्षिप्त भए पनि अम्बिकाको मनमा एउटै कुरा हुन्थ्यो, ‘होइन, छोरीका लागि पनि म लड्नुपर्छ। मैले केही गर्नुपर्छ।’
अम्बिकाले विस्तारै आफूलाई सम्हाल्दै गइन्। समाजका कुराको बेवास्ता गर्दै आफ्नो दैनिकी र छोरीको लालनपालनमा लागिन्। छोरी पनि आमाको मेहनत र त्यागको कदर गर्दै अध्ययनलगायत अन्य कुरामा अब्बल हुँदै गइन्। पीडा भुलाउने माध्यम अम्बिकाका लागि साहित्य बन्यो। साहित्यका विभिन्न विधा विशेषत: गजल विधमा कलम चलाउने उनी चितवन मात्र नभएर राजधानीका स्टेजमा पनि छाउन थालिन्। यसैबीच उनले पति ओम कार्कीको नाममा साहित्यिक संस्था समेत चलाउन थालिन्। सुरुवात अलिक पहिले नै गरेको भए पनि २०७५ सालमा ‘ओम कार्की साहित्य प्रतिष्ठान’ नामक साहित्यिक संख्था विधिवत् रूपमा दर्ता गरी काम थालिन्। जसबाट साहित्य विधाका विभिन्न कार्यक्रमले निरन्तरता पाइरहेका छन्।
‘सती प्रथा मात्र हटेको हो। समाजले त पल-पल जलाइरहन्छ नारीलाई। अनेक लाञ्छना लगाइरहन्छ’, विगत सम्झँदै उनी भन्छिन्, ‘ओमजी मेरै कारण बितेको भन्ने आफ्नै कानले सुनें। पर-पुरुषसँग बोल्दा पनि अनेक कुरा गर्ने। अनेकन आक्षेप सहनुपर्थ्यो मैले।’
…
परिवार, काम, छोरीको अध्ययन र साहित्य यस्तैमा समय कटाएकी अम्बिकाको जीवनमा २०७९ सालको वैशाख भने अलिक पृथक परिवेषमा आयो। पृथक यसकारण कि त्यो वैशाखले उनलाई खुसी र पीडा दुवै दियो। वैशाख तेस्रो साता उनकी एकमात्र छोरी अर्पणाको विवाहको कुरा चल्यो। स्नातकोत्तर अध्ययन गरिरहेकी अर्पणाको लागि विवाहको कुरा चल्दा अम्बिकामा खुसी र पीडा दुवैका भावहरू एकसाथ आए। अनेकन परिस्थितिका बाबजुद हुर्काएकी छोरी सक्षम बनाएर कुटुम्बको जिम्मा लगाउन पाउँदा खुसी त थियो नै, एक्लो छोरीलाई अन्माएर पठाउँदा आफू झनै एक्लो हुने भय पनि थियो मनमा कता कता।
भयो पनि त्यस्तै। २१ वैशाख २०७९ मा छोरीलाई बिदाइ गरेपछि अम्बिका एक्लो भइन्। श्रीमान् बिना एक्लिएको उनको जीवनमा झनै बढ्यो एक्लोपन। कहिले साहित्यिक कार्यक्रम, कहिले छोरी र आफन्तसँगको सम्वादबाट आफूलाई भुलाउन हर सम्भव कोसिस गर्थिन् उनी। तर, त्यसो भएन, उनी झनै असहज महसुस गर्न थालिन्।
अम्बिकाको एक्लो र असहजपनले उनका माइतीपक्ष र आफन्तलाई समेत पिरोल्न थाल्यो। फलत: उनको दोस्रो विवाहको कुरा चल्यो। यो कुरा पचाउन सुरुवातमा अम्बिकालाई निकै कठिन पर्यो। कार्की, पोख्रेल र उनकी छोरीको परिवारबाट पनि सम्झाइबुझाइ गर्दा अम्बिका विवाहका लागि तयार भइन्।
उसो त अम्बिकाका जेठाजुले उनी २१-२२ वर्षकी हुँदा नै अम्बिका राजी भए आफूले कन्यादान गरिदिने प्रस्ताव राखेका थिए। प्रस्ताव आफन्त र माइतीपक्षका तर्फबाट नआएका पनि होइनन्। तर, परिस्थिति जस्तो आएपनि आफ्नो कर्तव्यबाट पछि नहट्ने जिद्दी कसेकी अम्बिकालाई कुनै पनि प्रस्ताव ठिक लागेनन्।
तर, अब छोरीको सबै कर्तव्य पूरा गरेको र आफू पनि एक्लो भएको यो बेला पुन:विवाहका लागि उपर्युक्त हो लाग्यो अम्बिकालाई। परिणामस्वरूप माइती पक्षले प्रस्ताव लिएर आएका बुटवल तिलोत्तमाका कुञ्जरमणि ज्ञवालीसँग विवाह गर्न राजी भइन् उनी।
ज्ञवाली पनि अम्बिका जस्तै एकल पुरुष हुन्। उनले करिब तीन वर्ष पहिले कोरोना महामारीमा पत्नी गुमाएका थिए। उनकी माइली छोरीले अम्बिकाका लागि विवाहको प्रस्ताव राखेकी थिइन्। फलत: दुवै परिवारको सहमतिमा अम्बिका पोख्रेल कार्कीको थरमा अब ज्ञवाली पनि जोडियो। उनी ज्ञवाली परिवारको पनि भइन्।
…
२० वर्षको यौवनमै सिन्दुर पुछिएर अनेकन आरोह-अवरोह, हाँसो- रोदन सबै पार गर्दै जीवनको यो घडीमा आइपुग्दा अम्बिकालाई लाग्छ- नारी सक्षम हुनुपर्छ, आफ्नो कर्तव्य पूरा गर्नुपर्छ र अधिकारका लागि लड्नु पनि पर्छ। ‘विवाह गर्ने उमेरमा विधवाको ट्याग भिरें। अनेकन असजताका चिरेर छोरीलाई हुर्काएँ। आज छोरीले अन्माएको घरमा छु। औपचारिक शिक्षामात्र नभएर यस्तो खालको सामाजिक चेत, ज्ञान र संस्कार छोरीलाई दिन सकें। निकै गर्व लाग्छ। ज्वाइँसाप पनि उस्तै बुझ्ने हुनुहुन्छ। एकदमै साथ दिनुभो परिवारले नै’, उनी भन्छिन्।
अम्बिका चाहन्छिन्, नारीहरू हरेक परिस्थितिसँग जुझ्न सक्षम बनून्। अधिकारको लागि लडून् तर, त्यसको दुरुपयोग नगरून्। समाज पनि दुखेको घाउमा नुन छर्कन होइन्, मलहम लगाउन लागिपरोस्। नारी-पुरुष एक भएर समभावका साथ बाँच्न सकून्। समाज सभ्य बनोस्, सचेत बनोस्, समतामूलक बनोस्।

भर्खरै
लोकप्रिय






































































































































































































