एउटा लडाकु जोडीको लभस्टोरी

+
-

कुनै बेला बन्दुक बोकी कमरेड ‘सुशीला’ भएर हिँडेकी पुसकुमारी पोर्तेलको हातमा यति बेला भने झाडु थियो। त्यो झाडुले उनी आफ्नो घरको आँगन सफा गर्दै थिइन्। आँगनकै छेउमा रहेको अटो सफा गर्दै थिए, कुनै बेला कमरेड ‘निशान्त’ भएर हिँडेका नरेन्द्र चौधरी। जनयुद्धको उद्गम स्थान रोल्पा सुनसरी गाउँपालिका सिउरीकी पुसकुमारी र दाङका नरेन्द्रको जोडी ‘जनयुद्ध’ ताका नै जुरेको हो।

बन्दुक बोकेका हातले झाडु बोक्न थालेको धेरै वर्षपछि सुशीलाले त्यो बेलालाई सम्झिन् जुन बेला उनी कमरेड थिइन्। उनी आठ कक्षामा पढ्दै थिइन्। त्यो बेला रोल्पामा हरेक घरबाट माओवादीमा जानुपर्दथ्याे। दिदीहरूको बिहे भइसकेको थियो। अरू आफूभन्दा साना थिए। अलि ठूली उनी नै थिइन्। २०५९ सालमा उनी विद्यार्थी संगठनमा आबद्ध भएर जनयुद्धमा होमिइन्। त्यसपछि उनी २०६० सालमा कलाकार हुँदै २०६१ सालबाट लडाकुमा प्रवेश गरिन्। लडाकु भएपछि उनले हतियार चलाउन मात्र सिकिनन्, लडाइँमा पनि गइन्। उनले सम्झँदै भनिन्- ‘रुकुमको खारा, रोल्पाको कोटगाउँलगायतका लडाइँमा गएकी छु।’

घरअगाडि झाडु लगाउँदै पुसकुमारी पाेर्तेल। तस्बिर: बर्षा शाह/देश सञ्चार

यता  नरेन्द्रलाई कसैले जागिर खान भनेर माओवादीमा प्रवेश गराएका थिए। स्वभावले सोझा र सरल उनी रोल्पा पुगेपछि कमरेड निशान्त बने। पाँचौं डिभिजन ज्वार स्मृति बिग्रेडमा प्लाटुन कमाण्डर थिइन् कमरेड सुशीला। ८ कक्षा पढ्दै गर्दा त्यहाँ पुगेका नरेन्द्र सुरुमा सुशीला अर्थात् पुसकुमारी कमाण्डर रहेको प्लाटुनमै पुगेका थिए। सुशीलालाई देखेपछि नरेन्द्र एकोहोरो प्रेममा परेका थिए। उनको एकोहोरो प्रेम कमाण्डरसँग थियो।

केही महिनापछि निशान्त र सुशीलाको प्लाटुन छुट्टिने भयाे। अब भेट होला कि नहोला भन्ने निशान्तलाई भयो। उनले प्रेम प्रस्ताव राख्ने निधो गरे। उनले सुशीलालाई चिठी लेखे, उनको साथीले त्यो प्रेम प्रस्ताव सुशीलासम्म पुर्‍याइदिए।

‘डर त लागेको थियो। एक त त्यहाँ फरक माहोलमा हामी बसेका थियौं। त्यसरी केटाकेटी आफ्नो खुसीले भेट्ने बोल्ने अनुमति थिएन। केही भए कारबाही हुन्थ्यो। त्यसमा पनि ऊ कमाण्डर। तर पनि प्रेमप्रस्ताव त राखें,’ नरेन्द्रले सम्झँदै भने।

पुसकुमारी र नरेन्द्र आफ्नाे बिहेकाे फाेटाे देखाउँदै।

नरेन्द्रकाे प्रेम प्रस्ताव आए पनि सुशीलाले त्यसलाई सजिलै स्वीकार गरिनन्। उनले नरेन्द्रसँग भेट्ने समय आफूभन्दा सिनिअरसँग मागिन् र कुरा गरेर सम्झाउन खोजिन्। एकअर्कोसँग कुरा गर्ने धेरैमा ३० मिनेटको समय उनीहरूले पाउँथे। सुशीला नरेन्द्रलाई सम्झाउन खोज्थिन्। नरेन्द्र भने सम्झने मुडमा थिएनन्। एक महिनासम्म उनीहरूको यसरी नै सम्झाउने-नसम्झने चलिरह्यो। आखिर एउटा मानव न हो, कतिसम्म प्रेमबाट टाढा बस्न सक्नु? सुशीलाले नरेन्द्रको प्रेम स्वीकारिन्।

माओवादीहरू शान्ति प्रक्रियामा आइसकेपश्चात् लडाकुहरूलाई अस्थायी क्याम्पमा राखिएकाे थियाे। त्यही क्रममा उनीहरूबीच प्रेम बस्याे  र २०६६ सालमा बिहे भयाे। दुवै जनाले रोल्पाकै बाल कल्याण माविबाट एसएलसी पनि दिए। ‘जनयुद्ध’मा भेटिएका यी जोडीको प्रेम त एक तरिकाले सफल भयो। तर जे सोचेर आफूहरूलाई प्रशिक्षण दिइएको थियो, बन्दुक बोकाइएको थियो, त्यो भने पूर्ण रूपले सफल नभएको सुशीलाको गुनासो छ।

जनयुद्धताकाकाे तस्बिर देखाउँदै पुसकुमारी।

‘आवश्यकअनुसार सबै खाले हतियार चलाउन आउँथ्यो। हामीलाई तालिम दिइएको थियो। त्यो बेला नन्दबहादुर पुन, मोहन वैद्यले हामीलाई कोचिङ पनि दिनु हुन्थ्यो। हामीलाई त सबै परिर्वतन हुन्छ भनिन्थ्यो। बास, गास, शिक्षा, स्वास्थ्यको ग्यारेण्टी हुन्छ भनिन्थ्यो’ ,  उनले नेताहरूका आश्वासन सम्झिँदै भनिन्, ‘त्यहीअनुसार हामी त परिर्वतनका लागि मर्न पनि तयार भएर हिँडेका थियौं तर हामीलाई भनेजस्तो त केही भएन। कहिले भोकै हिँडियो, कहिले काँचो मकै खाइयो, कहिले भोकले चामल चपायौं। परिर्वतका लागि कि मार्ने कि मर्ने भनेर हिँडेका थियौं।’

आफूलाई दिइएका आश्वासन कुनै पनि पूरा नहुँदा दु:खी छिन् सुशीला साथै नरेन्द्र पनि।

‘सेना संयोजन हुने बेला पनि हामी धेरै जना खुसी थिएनौं। सेना संयोजनले निराश बनाएको थियो। जनयुद्ध भनेर हिँडेका हाम्रा नेताहरू आफ्ना स्वार्थमा लागे अनि कसरी हुनु भनेजस्तो परिवर्तन? जनयुद्धका सेनाका मनमा शान्ति छैन। घाइते साथीहरूको पीडा उत्तिकै छ। मलाई जनयुद्धका घाइते साथीहरूको याद आउँछ, दुख लाग्छ,’ सुशीलाले सम्झिन्। ‘म पनि घाइते भएको भए मेरो अवस्था पनि कस्तो हुने थियो होला भन्ने पनि लाग्छ। पूर्वलडाकु सेनाको भाव त्यति बेला र हालको नेतृत्वले बुझ्नुपर्छ,’ उनले थपिन्।

जनयुद्धमा प्रेमपछि विवाह गर्न सफल भएका यी जोडीको एक छोरा छ। सेना संयोजनपछि नरेन्द्र वैदेशिक रोजगारीका लागि विदेश पनि गएका थिए। तर जुन स्वास्थ्यको ग्यारेण्टी हुन्छ भनिएको थियो, त्यही स्वास्थ्यमा समस्या आएपछि उनी छोटो समयमा स्वदेश फर्किए। उपचारमा लामो समय लाग्नुका साथै ठूलो रकम खर्च पनि भयो।

स्वास्थ्यमा केही सुधार भएपछि अहिले खेतीकिसानीका साथै नरेन्द्रले अटो चलाएर आफ्नो परिवारलाई गास, बास, शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था गरिरहेका छन्। ‘बिरामी हुँदा, अटो किन्दाको ऋण अझै छ। आखिर परिर्वतन भनेको त्यस्तै त रैछ, आफूले दु:ख नगरे त खान नि नपाइने रैछ। त्यति बेलाका हाम्रा मुख्य कमाण्डर तथा हालका प्रधानमन्त्री ‘प्रचण्ड’ज्यूलाई आग्रह गर्ने चाहन्छु, हिजो तपाईंको साथ दिएर लड्न होमिएका र लडाइँमा घाइते भएकाको दुख बुझ्नू। अधिकार दिनू। लेखेर मात्र होइन् व्यवहारमा लागू हुने गरी कानुन बनाउनू र पालना गराउनू,’ नरेन्द्रले भने।

उनका कुरा कमरेड प्रचण्डले सुन्लान् र?

भिडियो हेर्नूहोस्:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष