
२०७१ साल,
बसमा चर्को भोल्युममा गीत घन्किरह्यो। परेदेशीलाई घरदेशीले गर्ने बिलौनाका गीतले दसैं मुडबाट उत्रन दिँदैनथ्यो।
आँबुखैरेनीबाट हरन बजाउँदै हुँइकिएको बसले बाह्रकिलो पुगेसी ब्रेक हान्यो। खलासी भन्दै थिए, ‘ल है बाह्रकिलो यहीं हो छिटोछिटो झर्नुस्।’
भिनाजुको पछि लाग्दै म र कृष्ण दाई बसबाट ओर्लियौं। एकातिर गोरखा बजार जाने मूल सडक। त्यही सडकबाट ओरालो लागेर हाँगा पलाएको भच्चेक अजिरकोटतिर जाने चोकैमा झरेछौं।
चोकमा भीरैमा जग बसालेर ठडिएका घरटहरा थिए, सबैमा होटल रेष्टुरेन्ट।
भनेको बेलामा भच्चेक उक्लने बस नछुट्ने रहेछ। त्यसैले बाह्रकिलोमा गाउँतिर जानलाई सवारी पर्खेका मान्छेको कमी थिएन।
भच्चेक हिँडेका हामीलाई केहीबेर बसले पर्खाउने भयो। होटल भन्दा मुन्तिर दरौंदी नदी हतारमा मर्स्याङदीलाई भेट्न बगेको थियो। हामीलाई पनि त्यस्तै हतार नभएको होइन।
एकनासले बगेको दरौंदीलाई जस्तो सजिलो थिएन र मात्रै। कुममा कुम जोडेर गुजधम्म बसेका अग्ला डाँडा काट्दै भच्चेकको समिपमा पुग्न धुवाँ फ्याँक्दै धुलो पुत्याँउदै कुद्ने बसमा नचढी दिनभर पैदल हिँडेपनि पुग्न सकिन्न रे। त्यसैले पनि बस पर्खनुको विकल्प हामीसँग रहेन।
विकल्प हुँदो हो त कृष्ण दाइको एक पाइला नरोक्की भच्चेकको बाटोमा लम्कन्थ्यो। उनलाई प्रेमको डोरीले तानिरहेको थियो। दरौंदी मर्स्याङदीमा विलिन भएसरी प्रेमको सागरमा डुब्ने यात्रामा हिँडेका यात्री थिए।
खाजा खाने बहानामा बसको प्रतिक्षा सुविस्ताले गर्न तीन जना सालाभेनाले सडक छेउको होटलमा अड्डा जमायौं।
बसको भन्दा सुर्ता कृष्ण दाईको प्रेमको थियो। नदेखेरै नभेटेरै फोनबाट बसेको पिरतीको अंकुरलाई हुर्काउने विहेमा परिणत गर्न हिँडेका थियौं।
बाआमाले छोरी दिन्नन् कि भन्ने आशंकाको बादल उत्तिखेरै हाम्रो मनमा मडारिन्थ्यो। बस कुर्दाकुर्दै दुई भाइले योजना बनाउन भ्यायौं, ‘आफन्तीले राम्रै मुखले छोरी दिए भोलि विहानपख विदा हुने। नदिए भाले बास्नुअघि नै भगाएर टाँप कस्ने।’
प्रेम युद्धमा हिँडेका राजासँग अनुभव न हतियार बिनाको सिपाही खडा थिए म। तैपनि युद्ध जिताइछाड्ने अचम्मको हिम्मत जुटाइदिन्थे।
जसोतसो २ घण्टाको पखाईपछि गोरखा बजारबाट भच्चेक हिँडेको बस बाह्रकिलोमा आएर रोक्कियो। बस आउनासाथ हामी जर्याकजुरुक उठेर चढ्यौं। दसैंको तेस्रो दिन भएकाले बसको सिट पाउनलाई तछाँडमछाँड गर्नुपथ्र्यों।
आधा मिनेट मात्रै ढिला गरे टिका थाप्न हिँडेकाहरुको भीडले बसमा सिट पाउनु त पर खुट्टा टेकाउने ठाउँ पाउन मुस्किल हुन्थ्यो। त्यो अनुभव दुलेगौँडाबाट आबुखैरेनी, आँबुखैरेनीबाट बाह्रकिलोसम्मको यात्रामा गरिसकेका थियौं।
सिटमा बसेको धेरैबेरसम्मै भच्चेक एक्सप्रेसले गुडान भर्ने सुर गरेन। हामी उही पुरानौ गफमा मस्त थियौं।
गफ चल्दाचल्दै मेरो फोनको घण्टी बज्यो। फोन गर्नेको नम्बर सेभ थिएन। नचिनेको नम्बर भएपनि फोन उठाएँ। नम्बर नचिनेको भएपनि उताबाट बोल्ने स्वर परिचित थियो।
प्रेरणा राना दिदीलाई चिन्नलाई मुस्किल हुने कुरै थिएन, केटाकेटी बेलाबाटै सुनेको स्वर। झन् अचेल त उहाँको स्वर रेडियोमा जतिबेला गुञ्जन्छ, विज्ञापनदेखि समाचारसम्म।
दिदीले भन्नुभयो, ‘भाई तिमी रेडियोमा काम गर्न इच्छुक छौं रे। भोलि अफिस आउ न ल। यहाँ मान्छे चाहिएको छ।’ दिदीले फुर्काएर भन्नुभो, ‘तिम्ले काम गर्न पनि सक्छौं। त्यहीं भएर फोन गरेको।’
गोरखा जादैं छु दिदी। भोलि फर्कन्छु होला पर्सि आउँछु है भनेर फोन राखें।
फोन राखेपछि बुर्किसी मारेर उफ्रन मन भयो। जुरुक्क उठ्दा पनि टाउको ठोक्किएर टुटुल्को उठ्ने बसमा थिए।
चिच्याउँदै बेढंगले उफ्रिएर धुलाम्मे भुईंमा पल्टिदै बादलका टुक्राहरुसँग नजर जुधाउने मन नभएको पनि होइन। न खुशीले उफ्रन पाए न पहाड थर्कने गरेर चिच्याउन।
आएको त एक कल फोन न थियो। तैपनि मेरा रहरका प्वाँखहरु उड्न खोज्दै थिए।
खुशीले मुटु ढक्क फुल्यो, हर्षले आँखा रसायो। म घाइते चरो जस्तै फट्फटाए। आफैंभित्र हराए।
कति छिट्टै बन्द कोठाभित्र पसेर घरघरमा बजिरहेको रेडियो सेटमा गुञ्जिएको कल्पना गर्न भ्याएछु।
बस भच्चेक जान गुड्यो। पिचरोडमा सररर गुँडेको केही बेर नहुँदै कच्ची सडक आइसकेछ। बुङबुङती धुलो उडाउँदै बस दायाँवाँया कोल्टिदै गुडिरह्यो। मनको एउटा कुना छुटेर रकेटकै गतिमा रेडियोको स्टुडियोमा पस्दैथ्यो छिनछिनमा।
उकालो, भीरालो र साँघुरो सडकको यात्रा थियो। छेउतिर बस थोरै कोल्टिदा पनि डरले मुटु फुत्त बाहिर निस्कने। मनले अनेक चिताउन भ्याउने। ‘रेडियोमा एउटा कार्यक्रम नचलाइकन बित्छु कि क्या हो’, काँतर मनले त्यहाँसम्मको कल्पना गरेको थियो।
अबेर राति भच्चेक पुग्यौं। भोलिपल्ट विहान उज्यालोले नजित्दै कृष्ण दाईको जोडी बाँधेर घर फर्कने बाटो समायौं। साँझ घर आयौं। पल्लो घरमा विहेको माहोल, मलाई भने भोलिको रन्कोले दिमाग टनटनी भयो।
भोलिको व्यग्र प्रतिक्षामा थिए। मैले देखेको एउटै सपना रेडियोमा कार्यक्रम चलाउने त थियो। त्यो पूरा गर्न प्रेरणा दिदीलाई भेट्न कति हतारमा थिए।
अध्याँरो रात हटेर उज्यालो भयो। अनेकन तानाबाना बुन्दै रेडियोमा पुगेर दिदीलाई भेटें।
उहाँले ‘भ्वाइस टेस्ट’ गर्नुभयो। एउटा ‘डेमो’ कार्यक्रमको रेकर्ड गर भन्नुभयो। मैले त्यहाँ नियमित बझिरहने एउटा पूरानो कार्यक्रमको डेमो रेकर्ड गराए।
कार्यक्रमको फर्म्याट कण्ठस्थ थियो। कार्यक्रमको बीचमा कति बेला विज्ञापन बजाउने र कति गीत बज्छन् त्यो पनि फररररै।
मैले कार्यक्रमको रेकर्ड सकाए। डेमो भनेर रेकर्ड गराएको कार्यक्रम सुनेर प्रेरणा दिदीले मिक्सिङमा मिठास भर्दिनुभयो।
‘यो कार्यक्रम भोलि बज्छ है भाइ। पर्सिबाट लाइभ कार्यक्रम चलाउने गरेर आउनु’, दिदीले मिक्सिङ सकाएर सुनाउनुभयो।
त्यो पल मैले संसार जितेको थिए। म भोलिको पर्खाइमा घर फर्किए। त्यो रातभर मलाई निन्द्रा परेन। मन फुरुङ्ग थ्यो, उसैगरी वेचैनीको भारीले थिच्यो।
कहिले उज्यालो होला र रेडियो बज्न सुरु गर्ला ? मेरो आवाज बल्ला कि नबज्ला ? मनमा यस्तै तानाबाना घुमिरहे बिरामी भएको बेला चक्कर लागेजस्तै फनफनी।
आँखाले रातभर झिमिक्क गरेनन्। घडीको सुँई भने मस्त निदायो। त्यो रात सँुईले सेकेन्ड मिनेट र घण्टाको फन्को मार्न बिर्सिएछ।
उज्यालो भयो। घडीको सुँईले घुम्न ढिलाइ गरेको भ्रम हटेकै थिएन। विहानैबाट बजिरहेको ९७.२ मेगाहर्जको ध्वनीतंरगमा ८ बजेपछि एउटा मौलिक धुन बज्न थाल्यो लोकगीतको।
जुन धुन हरेक दिन त्यही समयमा बज्थ्यो। बजिरहेको धुन पृष्ठभूमिमा मधुर पार्दै एउटा केटो बोल्न सुरु गर्यो।
एसएसली दिने बेलासम्म त म रेडियोमा कार्यक्रम चलाउनको नक्कल गर्न सक्ने बनेको थिए। अरुको अगाडी त फेरि एक शब्द निस्कनथेन। एक्लै हुँदा पूरै कार्यक्रम खरररररर चलाइदिने। ११ कक्षामा पढ्नेबेला इन्डिया गएको थिएँ। २ महिना बस्दाको कमाइले मेमोरी हाल्न मिल्ने मोबाइल किनेर गाउँ फर्किए।
‘नमस्कार, नमस्कार अनि न्यानो लोक सांगीतिक अभिवादन टक्रयाउँन चाहान्छु।
रेडियो तनहुँ ९७.२ मेगाहर्जको प्रस्तुती कार्यक्रम ‘हाम्रो भाका’ को प्रतीक्षामा बस्नुहुने तमामतमाम आदरणीय लोकपारखी मित्रहरुलाई हार्दिक स्वागत गर्दछु। प्रविधिमा प्रेरणा रानाको साथमा म तपाईहरुको नयाँ लोक सारथी विनोद ढुंगाना। …’
सकीनसकी माधुर्य ल्याउन खोज्दै गुञ्जिएको स्वर कस्तो कस्तो ? आफ्नो स्वर आफैंलाई पत्यार लागेन। मस्त निन्द्रामा सपना देखेजस्तै भयो। आफैंलाई चिमोटेँ र पनि निन्द्रामै छु जस्तो लाग्यो।
म आफैंले पत्याउन मुस्किल हुँदाहुदै पनि छरछिमेकलाई रेडियोमा बोलिरहेको विनोद ढुंगानाको स्वर सुनाए।
सुन्नेहरुलाई रेडियोको ध्वनितरंगमा नयाँ केटा तंरगित भएको लाग्यो होला। मेरो भने एउटा सपना तंरगीत हुँदै फैलिरहेको थियो धर्ती आसमान हुँदै।
त्यो पल मेरो सपनाले यति उचाइमा उडान भरेको थियो कहाँ पुगेर अवतरण गर्ने टुंगो नभइकन। न दुर्घटनाको पिर न अवतरणको। गन्तव्य नै नपुँगी बादलमै हराए हराउँला सपनाको उडान भर्ने चट्टानी अडान थियो।
केटकेटी छँदैदेखि रेडियो सुन्न भनेपछि हुरुक्कै हुने म। टेलिभिजन भन्ने थाहासम्म थिएन। फुच्चे रेडियोमा थरीथरीका गीत बज्ने, उस्तै थरीथरीका मान्छे बोल्ने। त्यतिबेला अधिकांशको रेडियोमा जादुमयी स्वरमा सुनिन्थ्यो ‘यो रेडियो नेपाल हो…।’
‘कतिधेरै मान्छे हुन् यति सानो रेडियोमा। यति मिठो बोल्ने मान्छे कस्ता होलान् है’, रेडियो फुटालेर हेर्ने रहर उर्लिन्थ्यो। उच्छृंखल जागेका रहर धेरै वर्षपछि घरमा बिग्रिएको रेडियो फुटालेर पूरा गरें। त्यसमा त एक जना मान्छे पनि देखिएनन्। खेलाउन मिल्ने चुम्बक मात्रै भेटियो।
७/८ कक्षामा पढ्ने बेलामा रेडियोमा बोल्ने मान्छे बन्ने रहर उम्रियो। बतासे उम्रिएको रहर मलजल नहुँदा पनि किन फक्रिरहेको होला ? आजभोलि सम्झन्छु।
सरले कहिलेकसो तिमी के बन्छौं ? कक्षामा सोध्नुहुन्थ्यो। डाक्टर, पाइलट, नर्स बन्ने जवाफ दिने साथीको भीडमा एक्लो वृहस्पति जस्तै मैले सुनाउथे, ‘सर म त आरजे बन्ने हो।’
फुलफर्मसमेत नआउने आरजे बन्ने कत्रो भूत सवार भएको। आरजे बन्न कति पढ्नुपर्छ, कत्रो बन्नुपर्छ ? थाहा थिएन।
यत्ति थाहा थियो, ‘म ठूलो भएर रेडियोमा बोल्ने हो।’ रेडियोमा बोल्ने मान्छे ठूला हुन्। म ठूलो मान्छे बन्ने हो।
एफएम स्टेशनहरु खुल्ने क्रम बढिरहेको थियो। कान्तिपूर, अन्नपूर्ण, हिमचुली, माछापुच्छ्रे हुँदै बिग एफएमसम्म गुञ्जिन थालेका थिए। खैरेनीटार बजारबाट रेडियो तनहुँ घन्कन्थ्यो।
बिग एफएममा बज्ने केही कार्यक्रमबारे गफ छाट्न सक्ने हैसियत बनाउने गरी सुन्थे।
कक्षा ८ मा पढ्दा भर्खर फेसबुकबारे थाहा भयो। म र मेरा केही साथीले फेसबुक चलाउन सिक्यौं।
फेसबुकमा मित्र विदेश गएका एकाध गाउँले दाईहरु बाहेक सबै कलाकार र आरजे मात्रै थिए।
पढ्दा, खाँदा, घाँसदाउरा गर्दा जतिबेला पनि रेडियोको लत थियो मलाई। मोबाइलमै रेडियो सुन्न मिल्ने भएपछि त झन् के कुरा। परीक्षाको बेलामा समेत रेडियोमा बज्ने समाचार, गीत, कार्यक्रम, विज्ञापन घन्काउँदै किताबमा रट्टिन्थे।
एसएसली दिने बेलासम्म त म रेडियोमा कार्यक्रम चलाउनको नक्कल गर्न सक्ने बनेको थिए। अरुको अगाडी त फेरि एक शब्द निस्कनथेन। एक्लै हुँदा पूरै कार्यक्रम खरररररर चलाइदिने।
११ कक्षामा पढ्नेबेला इन्डिया गएको थिए। २ महिना बस्दाको कमाइले मेमोरी हाल्न मिल्ने मोबाइल किनेर गाउँ फर्किए।
घरमा आमाको मोबाइल छदैं थियो मामाले ल्याइदिएको क्यामेरावाला। २ वटा मोबाइल भएपछि एक्लै हुँदाको समय एउटामा गीत बजाउने अर्कोमा कार्यक्रम रेकर्ड गरेर बिताइदिन्थे।
घाँस काट्न गएको बेला भारी नपगुन्जेल बर्बराउँदै कार्यक्रम चलाउथें।
रेडियोमा बोल्ने हुटहुटीले दिल र दिमागमा डेरा जमाएको थियो। मामाघरमा पाएको दक्षिणाले क्याम्पस पढ्न जाने दाइसँग पत्रिका मगाएर विज्ञापनसमेत बाँकी राख्थिन पढेर। कोठाको भित्तामा टाँसेको पत्रिकाका पत्यक अक्षरसँग चिनजान थियो। तर, पत्रिका हेरेर यसैगरी लेख्छु एक दिन दिमागमा कहिल्यै आएन।
१२ कक्षाको पढाइ आधाआधी सकेर पोखरा हिँडे। द मिडियाज कलेक्सनले ‘के तपाईं रेडियोमा बोल्न चाहनुहुन्छ’, पत्रिकामा छपाएको विज्ञापनले डोर्यायो।
कार्यक्रम प्रस्तोताको तालिम लिन गएको रेडियोमा काम पाउन सजिलो हुने सुनेर प्राविधिकको काम सिकें।
सराङकोट एफएम लगायत केही रेडियोको ढोका ढक्कढकाउँदै धाए। रेडियोमा बोल्ने सामन्य काम थिएन, कसैले पत्याइहाल्ने कुरा पनि रहेन।
सपना देखेर थोकेको थिइन। मोबाइलमै कहिले लोकगीतको कार्यक्रम चलाउँथे त कहिले समचार पढ्थे पत्रिकामा हेरेर।
सपना दिदीको साथीले रेडियो तनहुँमा समकालिन साथीलाई मेरो बारेमा भनसुन गर्नुभो। भेट्न बोलाएको खबर पाएपछि म दौडेर पुगें, सुरक्षागार्डले छिर्नै दिएनन्।
आशाको किरणमा बाक्लो तुवाँलो मडारियो त्यतिबेला। र पनि आशाको त्यान्द्रो चुँडिएको थिएन। त्यसैको वर्ष दिन नपुग्दै रेडियोमा बोल्ने सपना बल्लबल्ल पूरा भयो।
रेडियोमा बोलेर धोको पूरा नहुँदै सुरु गरेको केही महिनामै नेष्डो नेपाल (लघुवित्त) मा जागिर खान आवदेन दिए। अन्तर्वार्तामा नेष्डोले रेडियो खोल्न लागेको सुनेपछि मलाई त ढुंगा खोज्दा देउता मिल्यो।
२०७२ बैशाखमा पोखरामा नयाँ रेडियो थपियो, सामुदायीक रेडियो समृद्ध नेपाल ९२.६ मेगाहर्ज। मेलै ठड्याउन आँटेको रहरको घरमा अर्को इट्टा बनेको थियो रेडियो।
समृद्धलाई डेढ वर्ष सिकाइको पाठशाला बनाए। धेरै सिकें, एक्सपोज हुने मौका नमिलेपछि थकथकी थियो।
समृद्ध छाडेकै साँझ तनहुँमा भर्खर पुगेको शुक्लागण्डकी एफएम ९७.६ मेगाहर्जमा हाजिर भए। २०७३ मंसिर १ गतेबाट काम थालें।
आफ्नै ठाउँको रेडियोमा धित मर्ने गरेर बोल्न पाएं। आफूलाई तिखारे, गाउँबस्तीमा चिनाए।
त्यहीं काम गर्दागर्दै अर्को यात्रा सुरु भयो। पत्रिकामा समाचार लेख्ने, त्यो पनि गिनेचुनेको।
२०७५ भदौ ३१ गते नागरिक दैनिकमा पहिलो वाइलाइन छापियो। समाचारको शीर्षक थियो ‘बाख्राले उकासियो दैनिकी’।
नागरिक दैनिकले मेरो पनि दैनिकी फेरिदियो। विहान बेलुका रेडियोमा बोल्ने, दिउँसो खबर खोज्न गाउँवस्ती डुल्ने।
विश्वव्यापी कोरोना सुरु हुनुपूर्व तलब दिनै नसक्ने गरेर नागरिकको आर्थिक अवस्था खस्कियो। आशैआशमा केही महिना काम गरें। कोरोनाको बेला धेरैका कथाव्यथा लेखे। पैदलै हिँडेर भारत हिँड्नेदेखि कोरोनाले थलिएकाहरुका कथाव्यथा फ्रन्टपेजमा देख्दा झन्डै बर्षदिनको पारिश्रमिक नपाएको आफुलाई चटक्क बिर्सिन्थे।
कोरोना सुरु भएको केही महिनापछि समाचार छाप्न छाड्यो पत्रिकाले। पछि आन्दोलन गरेर डेढ लाख रुपैयाँ बल्लतल्ल पाएँ।
नागरिकले समाचार छाप्न छाडेपछि पोखरा र बाग्लुङबाट एकसाथ प्रकाशित हुने ढोरपाटन दैनिकसँग सहकार्य गरें।
शुक्लागण्डकी एफएममा सुरु गरेको ठ्याक्कै चार वर्षमा सहकार्य टुंग्याए (२०७७ कात्तिक ३०)।
रहरले सुरु गरेको कर्मबाट थाकेको थिएँ त्यतिबेला। स्टुडियोमा १७ घण्टाको खटाइले उकुसमुकुस थिएँ। नयाँ केही गर्नुपर्छ भन्ने लागेको थियो। विदेश जानुपर्छ भन्ने आफन्तको कुरा सुन्दै सुनिन। इष्टमित्रले अर्ति दिन्थे, ‘पत्रकार भएर मात्रै जिन्दगी चल्दैन। बाँच्नलाई पैसा पनि चाहिन्छ, पैसा।’
साथीसँग मिलेर कोरोनाकै बेला खबरपुञ्ज डटकमको सुरुवात भयो। तनहुँमा पाठकले रुचाएको मिडिया थियो र छ। सहकर्मी साथीहरुसँथ सोचें जस्तो सहकार्य नभएपछि विस्तारै निष्क्रिय भए।
खबरपुञ्ज सुरु गरेपछि पालिकाखबर डटकम र न्युज कारखानामा आबद्ध थिए। दूवैका साहु श्रम मार्ने नियतका रहेछन् काम गरेको दाम नै दिएनन्। म त्यहाँ काम गरेको बिर्सन चाहान्छु, नपाएको श्रमको मुल्यले झलझली याद दिलाउँछ।
यो पेशा पनि अचम्मको रहेछ। खोइ किन हो, कोही कसै आफुमाथि भइरहेको शोषणबारे लेख्न बोल्न डराउँछन्।
मसँग पनि त्यस्तै रोचक किस्सा छ। तनहुँबाट नागरिक दैनिकमा काम गर्ने बेला जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा करारका कर्मचारीले तलब नपाएको समाचार लेखें। त्यही बेला मैले महिनौंदेखि समाचार लेखेको पैसा नपाएको अवस्था थियो। अरुको बारे त लेखे आफ्नै बारे लेख्न सकिनँ।
१९ महिनादेखि पोखरामा बसेर काम गरिरहेको छु। रेडियो, पत्रिका हुँदै अनलाइनमा काम गरेपछि एकपटक टिभीको अनुभव किन नसंगाल्ने जोशले टेलिभिजनमा पाइला मोडिएको छ।
पहिले रेडियोमा बोल्ने हुटहुटी थियो। अहिले सञ्चारकर्ममा छट्पटी धेरै छन्।
झन्डै एक दशक सञ्चारकर्म गरिरहँदा धेरै गुमाएको जस्तो लागेपनि प्राप्ती दोब्बर नै छ। नामसँगै दाम र इनाम नभएको कहाँ हो र।
तर, अचेल उठ्नै नसक्ने गरी थला परिरहेको मिडिया हाउसको दयनीय अवस्थाले वेचैनी बढाइरहेको छ। समकालीनदेखि अग्रजसँगको चियागफमा हुने मिडिया हाउसको अवस्थाबारेका चर्चाले छट्पटीको ग्राफलाई अग्लाउन सघाउँछ।
केही दाइहरु भन्नुहुन्छ, ‘तिम्रो उमेर छ बेलामै सोच्नु भाइ। यो कामले केही हुनेवाला छैन पछुतोबाहेक।’ झनै छटपटी बढ्छ। के गर्ने ? कसो गर्ने भनेर ?
हिजो जुन इज्जत थियो पत्रकारिताको आज त्यो रहेन। सामाजिक सञ्जाल र सञ्चार माध्यम एउटै टोकरीमा घुलिएका छन्। पत्रकार महोदय अचेल पत्रुकारमा गनिन्छन्।
उसो त, पत्रकारिताको आडमा अनेक धन्दा चलाउनेको कमी नभएर पनि हो। नेतागिरीले नयाँ पत्रकार टिक्नै मुस्किल छ। त्यसैले त सम्भावना भएका धेरै अग्रज र अनुजहरु अत्तालिएर देश छाडिरहेका छन्।
उ बेला देखेको सपनाको महलमा माकुराको जालैजालो लागेको जस्तै हुन्छ।
छट्पटीकै बीचमा कहिलोकसो विकल्प देख्छु, ‘हरियो पासपोर्ट’।
दशक अगाडिको ती दिनमा फर्कन्छु,‘एउटा रहरको सम्राज्य खडा थियो। जसलाई भत्काउने हजार प्रयत्न असफल थिए।’
क्षणभरमै निराशाबीच आशाको किरण फैलिन्छ। दिल र दिमाग दोधार हुन्छ। अनुहारको रङ फुङ्ङ उड्छ।
एउटा मनले शंका उब्जाउँछ, ‘एक दिन पासपोर्टले जित्छ, रहरले हार्छ। काठमाडौंबाट छुटेको जहाजले मरुभूमि पक्कै पुर्याउँछ !’
मसँग अर्को मन पनि छ, आशावादी। उसले भन्छ, ‘रहरकै कर्मलाई निरन्तरता दे। एक दिन निराशाका बादल फाटेर आशाको किरण झुल्कन्छ।’