
काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणाले चीनसँग गरिएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) सम्बन्धी सम्झौता विस्तृत छलफल नगरी कार्यान्वयनमा लैजान नसकिने बताएकी छन्।
बुधबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले सो परियोजना कार्यान्वयन योजनाबारे विस्तृत छलफल हुनै बाँकी रहेको बताइन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सो परियोजना अघि बढाउनका लागि व्यापक छलफलमा ल्याउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि मन्त्री राणाले व्यक्त गरिन्।
उनले सो परियोजना कुन मोडालिटीमा अघि बढाउने भन्नेबारेमा सरकारभित्र छलफल भएपछि संसद, संसदीय समिति र सम्बन्धित पक्षहरुसँग पनि विस्तुत छलफल गरेर अघि बढाइने बताइन्।
एमसीसी संसदमा समेत व्यापक छलफल भएको उल्लेख गर्दै मन्त्री राणाले सरकारले विभिन्न देशसँग गरेको सम्झौता कार्यान्वयन गर्दा सबैसँग छलफल गरेर अघि बढाउन जरुरी रहेको उनको भनाइ थियो।
मन्त्री राणाले सो परियोजनाबारे डराउनुपर्ने कुनै विषय नभएको बताइन्। सम्बन्धित सबै पक्षसँग छलफल गरेर अघि बढाउने उनको भनाइ थियो।