खेर जाने घाँसपातबाट सजावटका सामग्री, पुग्छ अमेरिकासम्म

खेर जाने घाँसपातबाट सजावटका सामग्री, पुग्छ अमेरिकासम्म
+
-

तपाईंलाई थाहा छ? फल दिएपछि खेर गइरहेको केराको थामको रेशाबाट आकर्षक ‘म्याट’ बनाउन सकिन्छ। गाउँघरमा पशुचौपायाको आहारा मकैको खोस्टोबाट उस्तै सुन्दर गुडियाहरू बन्छन्। ताल पोखरीलाई कुरुपै बनाउने अनि ढपक्कै ढाक्ने जलकुम्भीको जरा, डाँठबाट पनि सजावटका सामग्री बनाउन सकिन्छ।

खेर गइरहेका केराको थाम, मकैको खोस्टा, जलकुम्भीको जरा मात्रै नभएर काँस, मुज, गुँद, अल्लो, अलैंचीको डाँठबाट परम्परागतदेखि आधुनिक घरायसी सजावटको सामग्री बन्छन्। म्याट, गुडिया, पुतली, मुढा, ढकिया, फूलदानी, फूल, झोला जस्ता सामान बनाउँछ नेपाल नटक्राफ्ट सेन्टरले।

तिनै सामग्री बेचर वार्षिक एक करोड रुपैयाँसम्मको कारोबार हुन्छ। कुरो कमाइको मात्रै होइन, सीप सिकाएर आम्दानीको स्वाद चखाएको नटक्राफ्ट सेन्टरले सयौं महिलालाई आर्थिक आत्मनिर्भरतासँगै सशक्त बनाएको छ।

तिनै सशक्त महिलाले खेरा जाने घाँसपातलाई सीपले सजाएर तयार पारेको नटक्राफ्टका सामग्री जहाज चढेर अमेरिका, जर्मनीसम्म पुग्छन्। एउटै सामग्रीको १५० रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म मूल्य पर्छ।

अर्डर बेस्सरी हुँदा तीन सय बढी महिलाले काम गर्छन्। केही ललितपुरको पाटन औद्यगिक क्षेत्रमा रहेको नेपाल नटक्राफ्ट सेन्टरको उद्योगबाट काम गर्छन्। धेरै घरमै घरायसी कामधन्दाबाट फूर्सद निकालेर घाँसापातमा सीप मिसाएर बुन्छन्। यतिधेरै महिलालाई मेहनती बनाउने श्रेय जान्छ- नेपाल नटक्राफ्ट सेन्टरकी संस्थापक श्यामवदन श्रेष्ठलाई। नटक्राफ्ट सुरुवातको कथा सुन्न ठ्याक्कै ४० वर्षअघि फर्कनुपर्छ।

दशक लामो शिक्षण पेशालाई छाडेर श्यामवदनले दुई सय रुपैयाँको धाँगो किनिन्।त्यही धागोबाट सुरु भयो नटक्राफ्ट (गाँठो) कला। ललितपुरको कोबाहलस्थित घरकै डेराबाट सुरु गर्दा उनले एक जना बहिनीसँग मिलेर काम गरेको सुनाउछिन्।

‘नटक्राफ्ट किताबबाट सिकेको। किताबबाट सिकेर सामान बनाएर बेच्दा मान्छेहरूले किने। त्यसैलाई मैले व्यवसाय बनाएं,’ श्यामवदनले सुनाइन्। धागोलाई गाँठो कसेर बनाएका सामग्रीले बजार पायो। उनले अन्य महिलालाई पनि सीप सिकाउन थालिन्। २०४५ सालमा भारतले नाकाबन्दी गरेपछि श्यावदनलाई सकस भयो। उनीसँग जोडिएका ५० जना महिलाले काम पाउँदैनन् कि भन्ने चिन्ताले बेस्मारी गिजल्यो। र उनलाई लाग्यो, अब नेपालमै उपलब्ध सामग्री प्रयोग गर्नुपर्छ।

‘त्यतिखेर धागो इन्डियाबाट आउँथ्यो। नाकाबन्दी धेरै समयसम्म हुँदाखेरी त धागो नआउने भयो। बल्ल थाहा भयो मेरो काम दीगो भएन,’ श्यामवदन स्मरण गर्छिन्, ‘त्यतिबेलासम्म मसँग ५० जनाजति दिदीबहिनीहरु काम गर्न थालिसकेका थिए घरघरमै। त्यो कारणले गर्दाखेरी अब यहींको कच्चा पदार्थ प्रयोग गरेर यसलाई दीगो रूपमा लानुपर्छ भन्ने कुरा मनमा लाग्यो।’

भारतको १५ महिने नाकाबन्दीसँग श्यामवदनले हार मानिनन्। किनभने महिलालाई आर्थिक रूपले सशक्त बनाउने उनीसँग उत्कट इच्छा थियो। ‘आर्थिक रूपमा मान्छेहरू सशक्त भयो भने आफ्नो कन्फिडेन्ट बढ्ने। अरूलाई पनि मद्दत गर्न सक्ने हुँदै जाने। महिलाहरूलाई आर्थिक रूपले सशक्त गर्नुपर्छ भन्ने मनमा एकदम उत्कट इच्छा थियो,’ उनले सुनाइन्।

भारतीय नाकाबन्दीपछि त्यतिखेर काठमाडौंमा कच्चा पदार्थको रूपमा उपलब्ध मकैको खोस्टाेबाट पुतली बनाउन सुरु गरेको श्यामवदनले बताइन्। धागो ल्याउन नपाएपछि आफूसँग आबद्ध दिदीबहिनीलाई काम दिनकै लागि सिकेर खोस्टाेबाट पुतली बनाएकी उनले त्यसैबाट फुलहरु बनाउन थालेको सम्झना छ ।

‘अनि बिस्तारै रिसर्च गर्दै, डेभलप गर्दै जाँदाखेरी हाम्रो आफ्नो संस्कृतिमा भएका प्राकृतिक स्रोतहरूबाट बन्ने सामग्री हराएर गएको पाइयो,’ उनले भनिन्, ‘यो त ठीक भएन किनभने उमेर गइसकेको मेरो बज्यैले बनाउनुहुन्थ्यो। मेरो आमाले बनाउनुहुन्थ्यो भन्न पनि मान्छेहरूले सकेनन्।’

श्यामवदनका अनुसार अलिकति पढेलेखेपछि सानातिना काम छायो भने पापै लाग्ला जस्तो व्यवहार नेपालीमा थियो। त्यसैले सांस्कृतिक महत्त्व बोकेका सामग्रीहरूृ बनाउने निधो उनले गरिन्। सुरुवातमा काठमाडौंमा पाइने परालबाट सुकुल बनाउन थालेको उनले बताइन्।

‘मकैको खोस्टाको फूल, पुतली बनाउन थाल्दाथाल्दै टुलहरू बनाएका छौं। हामीले केके सामान अहिलेको मोर्डन लाइफस्टाइलमा सुहाउने बनाउन सकिन्छ? भनेर लाग्यौं,’ श्यामवदन थप्छिन्, ‘तर, स्किल नलेज हाम्रो पुरानै परम्पराको होस भनेर यतैतिर लाग्यौं।’

हस्तकलाका सामान बनाउन नेपालमै भएका कच्चा पदार्थ कसरी प्रयोग गर्ने भनेर जुटेकी श्यामवदनले ४० भन्दा धेरै कच्चापदार्थको अध्ययन गरेको बताउँछिन्। ‘स्ट्रेन्थ कस्तो छ? यसलाई कसरी सफा गर्ने? के सामान बनाउन सकिन्छ?,’ उनले खेरा गइरहेका कच्चापदार्थको यिनै पेरीफेरीमा अध्ययन गरिन्।

नेपाल नटक्राफ्ट सेन्टरकी संस्थापक श्यामवदन श्रेष्ठ। तस्बिर; विनाेद ढुंगाना/देश सञ्चार

त्यसका लागि जिल्ला जिल्ला पुगेर अनुसन्धान गरेको श्यामवदनले बताइन्। उनले दाङ, कपिलवस्तु, बाँके, धनकुटा र सुनसरी लगायतका जिल्लामा पुगेर महिलाको हातमा सीपसँगै मनमा ऊर्जा भरिदिएकी छन्।

नटक्राफ्ट सेन्टरले बनाएका इन्टेरियर डिजाइनका सामान अमेरिकासम्म पुग्छ। तर, कोरोनापछि उतिसारो माग छैन। राज्यले उचित नीति नलिँदा नेपालमा उद्योगधन्दा सञ्चालन गर्नलाई ठूलै साहस चाहिने श्यामवदनको अनुभवले बोल्छ। उनी भन्छिन्, ‘बजार राम्रो छ। विदेशमा सप्लाइ हुनका निम्ति राज्यले वातावरण बनाइदिनपर्‍याे। सबै सिस्टममा चल्नुपर्ने अवस्था हुन्छ।’

कोरोनापछि व्यापार र आम्दानी खुम्चिएपनि श्यामवदनकाे सन्तृष्टिको छालहरू भने फैलिइरहेको छ। ‘सन्तृष्टिको कुरामा हामीले थाल्दा व्यवसायमा लाग्ने दिदीबहिनीहरू नै थिएनन्। त्यो अवस्थामा थालेको हो,’ उनी भन्छिन्, ‘अरूलाई इम्पावर गर्न पाउनु भनेको आफू सन्तृष्ट हुने मात्रै होइन खुसी हुने हो। खुसी भनेको पैसाले किन्न सक्दैन। सायद हामीले पैसा धेरै कमाउन नसकेको होला केही फरक परेन। तर, धेरै दिदीबहिनीहरूलाई आर्थिक सशक्तिकरणसँगसँगै आत्मविश्वासका साथ काम गर्न लगाएका छौं।’

नेपाल नटक्राफ्ट सेन्टरकी संस्थापक श्यामवदन श्रेष्ठ आफूले बनाएकाे सामग्री देखाउँदै। तस्बिर; विनाेद ढुंगाना/देश सञ्चार

कच्चा पदार्थ नेपालमा प्रशस्त भएकाले नटक्राफ्टका सामाग्री उत्पादनको प्रचुर सम्भावना श्यामवदनले देखेकी छन्। तर, अनुसन्धान र प्रविधिको अभाव रहेको उनको ठम्याइ छ।

‘नेपालमा प्रचुर मात्रामा कच्चा पदार्थ छन्। काम गर्ने दिदीबहिनी दाजुभाइहरू छन्। सामानहरू मज्जाले उत्पादन गर्न सकिन्छ। हामी अनुसन्धानतिर कम छौं। टेक्नोलोजी त्यतिधेरै डेभलप भाको छैन। यो दुई चिजको डेभलप भयो भने नेपालमा यसमा मात्रै लाखौं मान्छेले काम गर्न सक्छन्,’ वार्तालापको अन्त्यतिर श्यामवदनले देखेको सम्भावनाका ढोका देखाइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?