वर्णमालाबाट ञ किन हटाउन परेको हो? (१)

वर्णमालाबाट ञ किन हटाउन परेको हो? (१)
+
-

संस्कृत वाङ्मय ज्ञानविज्ञानका दृष्टिले निक्कै समृद्ध छ। यहाँ प्रतिपादित उच्चारणशास्त्र (फनेटिक्स्) पनि अत्यन्त विकसित र उच्चस्तरीय छ। वेदका छ अङ्गहरू शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिषमध्ये पहिलो र महत्त्वपूर्ण वेदाङ्ग शिक्षा वा शिक्षाशास्त्र हो। यस शास्त्रको तलस्पर्शी अध्ययन गरेपछि मात्र वर्ण वा ध्वनिका विषयमा आधिकारिक ज्ञान हुन सक्छ भन्दा अत्युक्ति नहोला।

वर्णहरूको सर्वप्रथम स्पष्ट र व्यविस्थत रूपमा निरूपण प्रातिशाख्यहरूका परम्परामा गरिएको छ। अङ्ग्रेजहरूले संस्कृत शिक्षाग्रन्थहरूको अध्ययन गरेपछि मात्र अङ्ग्रेजीको ध्वनिविज्ञानलाई विकसित गर्न सकेको कुरा डब्ल्यू.एस्.यालन्-ले लेखेको फनेटिक्स् इन् एन्शण्ट् इण्डिया (लण्डन, सन् १९५३) भन्ने पुस्तकको “दि इण्डियन् इन्फ्लुअन्स् अन् वेष्टर्न् फनेटिक्स्” भन्ने प्रकरणबाट पनि बुझिन्छ। नेपालीको त जननी भाषा नै संस्कृत हो।

नेपाली संस्कृतबाट अत्यधिक रूपमा अनुप्राणित भए पनि कालक्रममा यस भाषामा कस्ताकस्ता भिन्नता आए र वर्तमान कालमा नेपालीमा कुन-कुन वर्ण कुन-कुन रूपमा उच्चरित भइरहेका छन् भन्ने कुरामा भने विवेचनाको खाँचो देखिन्छ। तथापि संस्कृतको गहिरो ज्ञान नहुनाले अधिकांश आधुनिक भाषाशास्त्रीहरू यस विषयमा विवेक गर्न नसक्ने स्थितिमा रहेको बुझिन्छ।

यसै पृष्ठभूमिमा गत वर्ष “वर्णमालाबाट हटाइएका दीर्घ ई र ऊ नेपालीमा उच्चरित हुँदैनन्? (२०८०।७।२) भन्ने शीर्षकको लेख प्रकाशित गरिएको थियो। त्यस लेखबाट सूक्ष्म रूपमा विचार गर्दा नेपाली भाषामा स्वाभाविक रूपमा उच्चरित भैरहेका दीर्घ ई र ऊ वर्णहरूलाई पनि नेपालीमा उच्चारण हुँदैनन् भनेर अयथार्थ कुरा प्रचार गरेर तथा नेपालीका शिक्षकहरूलाई भ्रममा पारेर उच्चार्य वर्णमालाबाट दीर्घ ई र ऊ पाठ्यपुस्तकैबाट हटाउने काम सरकारी तहबाट नै गरिएका विषयमा तटस्थ र स्वतन्त्र व्यक्तिहरूको ध्यानाकर्षण गरिएको थियो।

अहिले यहाँ ‘नेपाली शब्दमा उच्चारण नहुने हुनाले लेख्य नेपाली शब्दमा समेत चाहिँदैनʼ भनेर उच्चार्य वर्णमालाबाट हटाइएको ‘ञʼ वर्णका विषयमा विवेचना गर्न लागिएको छ। हाम्रा पिताजी शिवराज आचार्य कौण्डन्न्यायनले (१९९७–२०७४) आजभन्दा ५३ वर्षअगि विभिन्न कोणबाट ञकारको विस्तृत विवेचना गरेर ‘नेपालीमा गोर्सिङ्ङे ञʼ भन्ने लेख प्रज्ञा प्रतिष्ठानको प्रज्ञा पत्रिकामा (२०२९ जेठ) छपाउनुभएको थियो। त्यो लेख ‘आधुनिक नेपालीमा ञकारश्रुति र गोर्सिङ्ङे ञ लिपिʼ भन्ने शीर्षकमा नेपाली वर्णोच्चारणशिक्षामा (साझा प्रकाशन २०३१, पृष्ठसङ्ख्या २९९ देखि ३२२ सम्म) पनि प्रकाशित छ।

त्यस लेखमा नेपाली भाषामा ञ वर्ण उच्चरित हुने गरेको निष्कर्ष दिइएको छ। तर उक्त लेखले गरेको गम्भीर विवेचना पढेर गुनेर बुझ्न नपाएकाले हो वा त्यसलाई बुझ्न नसक्नाले हो वा पूर्वाग्रहले हो नेपालीमा ञ उच्चरित हुँदैन, त्यसैले ञ चाहिँदैन भन्ने व्यक्तिहरू आजभोलि पनि धेरै नै देखिन्छन्। तिनले संस्कृतमा पनि पञ्च इत्यादिमा ञ् लेखिएको मात्र हो, वास्तवमा न्-भन्दा छुट्टै ञ् संस्कृतमा पनि उच्चरित हुँदैन भन्ने ठानेको बुझिन्छ। यो अल्पविद्याको परिणाम हो। यसमा सत्यता छैन। दन्त्य वर्ण न तथा तालव्य वर्ण ञ-का श्रुतिमा सूक्ष्म भेद छ भन्ने देखिन्छ। ञकारका विषयमा उक्त लेखमा भन्दा राम्ररी विवेचना अन्यत्र कतै कसैले गरेको देखिँदैन। विचारशील पाठकका निम्ति उक्त लेख जस्ताको तस्तै यहाँ प्रस्तुत गर्न खोजिएको छ (त्यहाँ लाइ र हरु ह्रस्व नै छापिएका छन्। लेख लामो भएकाले दुई भागमा प्रस्तुत गरिँदै छ)।

आधुनिक नेपालीमा ञकारश्रुति र गोर्सिङ्ङे ञ लिपि

नेपाली-भाषा-प्रकाशिनी समितिले गोर्सिङ्ङे ञ-को बहिष्कार गरेको छ भन्ने पनि कतिपय व्यक्तिहरुको भनाइ सुनिन्छ। तर यो भनाइ अर्धसत्य मात्र हो, पूर्ण सत्य हैन। नेपाली-भाषा-प्रकाशिनी समितिका “संक्षिप्त नेपाली कोष”(१) र “नेपाली सजिलो व्याकरण”(२) अनुसार गोर्सिङ्ङे ञ-लिपिको प्रयोग कत्ति पनि नगरीकन पनि तथाकथित शुद्ध नेपाली लेख्न सकिन्छ, किनभने नेपाली-भाषा-प्रकाशिनी समितिले पंचायत, वांछनीय, पतंजलि, झंझट इत्यादि लिखित रूपहरुलाइ पनि शुद्ध मानेको बुझिन्छ र यस पक्षमा गोर्सिङ्ङे ञ-लिपिको बहिष्कारै गरेजस्तो देखिन्छ। विज्ञ इत्यादिमा ञकार भएको मानिन्छ, तर लेखाइमा ञ-लिपि पनि देखिँदैन, बोलाइमा ञ-श्रुति पनि सुनिँदैन। किन्तु संस्कृतको याच्ञा-शब्दको नेपालीमा प्रयोग गरेमा भने नेपाली-भाषा-प्रकाशिनी समितिको नियमानुसार पनि ञ-लिपिको प्रयोग नगरी केही गरे पनि सुख छैन। तसर्थ यसै पक्षमा पनि गोर्सिङ्ङे ञ-लिपिको सर्वथा बहिष्कार भएको मान्न त सकिन्न।

नेपाली-भाषा-प्रकाशिनी समितिका नियमअनुसार पञ्चायत, वाञ्छनीय, पतञ्जलि, झञ्झट इत्यादि पनि लेख्न सकिने र नेपाली संक्षिप्त कोशमा पनि “अंग्रेज” इत्यादिजस्ता लेखाइ पाइए पनि मुख्यतया अङ्क, अञ्जाम, अण्डबण्ड इत्यादि जस्ता वर्गपञ्चमवर्णयुक्त (कवर्गको पञ्चम वर्ण ङ, चवर्गको पञ्चम वर्ण ञ इत्यादि वर्ण प्रयोग भएको) लेखाइ नै पाइने हुँदा नेपाली-भाषा-प्रकाशिनी समितिले आधुनिक नेपालीमा ञ-लिपिलाइ बहिष्कार गरेको छ र ञकारश्रुतिलाइ मान्यता दिएको छैन भन्न केही गरे पनि मिल्दैन।

मान्छेहरुमा नेपाली-भाषा-प्रकाशिनी समितिले गोर्सिङ्ङे ञ-को बहिष्कार गरेको छ भन्ने धारणाले घर गर्नुमा आर्को कारण यो पनि छ– नेपालीका पुराना लेखाइमा गोर्सिङ्ङे ञ-लिपिको प्रचुर मात्रामा प्रयोग हुन्थ्यो, उदाहरणार्थ “चह्राँञा”(३), “दुनिञा”(४), “लडाञी”(५), “निञा”(६), “लाञाथ्या”(७), “भिजाञाँ”(८), “आञा”(९), “ल्याञाँ”(१०), “रूपैञा”(११), “लेखिदिञौ”(१२), “दमाञिको”(१३), “नञां”(१४), “वलीवनिञा”(१५), “ञहाबाट”(१६), “बिताञे”(१७), “रूपिञा”(१८), “परेवाझञि”(१९), “मैञा”(२०), “तपाञी”(२१), “मपाञी”(२२), “नञा”(२३), “तपाञी”(२४), “तपाञीले”(२५) इत्यादि प्रयोगहरु लिन सकिन्छन्। तर नेपाली-भाषा-प्रकाशिनी समितिले ती सबै लिखित प्रयोगहरु आधुनिक लेखाइमा अशुद्ध हुन् भन्ने सिद्धान्त गरेको छ। यसरी नेपाली-भाषा-प्रकाशिनी समितिले पञ्च, यज्ञ इत्यादि चवर्गीय अरू वर्ण संयुक्त भएका स्थानमा बाहेक अन्यन्त्र गोर्सिङ्ङे ञ-को (लिपिको र श्रुतिको) अस्तित्व स्वीकार गरेको छैन। यसरी आर्को चवर्गीय वर्णसित संयुक्त नभएको स्वतन्त्र वर्णका रूपमा ञकारको अस्तित्व नमानिएकाले नै ञकारको बहिष्कार गरिएको ठानिएको हुन पर्छ।

नेपाली-भाषा-प्रकाशिनी समिति यस्तो सिद्धान्तमा कसरी आइपुग्यो भन्ने विषयमा विचार गर्न हिन्दीमा ञकारको अस्तित्वका विषयमा विचार गर्नु जाति नै होला। हिन्दीमा पनि असंयुक्त ञकारको प्रयोग पाइन्नथ्यो र पाइँदैन, तथा पञ्च-शब्दका ञकारका जस्ता ञकारको प्रतिनिधित्व गर्न शिरबिन्दु नै लेख्ने चलन थियो, त्यति मात्रै हैन, ङ-ञ-ण-न-म-श्रुतिको सङ्केत गर्न लेखिएका शिरबिन्दुलाइ पनि अनुस्वारै मानिन्थ्यो, त्यसैले ठुलो व्यवस्था गरी त्यस समयमा लक्षाधिक रुपियाँ व्यय गरी ठुल्ठूला विद्वान्हरुबाट सम्पादित गराई काशी-नागरी-प्रचारिणी सभाले (१९०३ सन्देखि १९२९ सन्सम्म) बिस वर्ष लगाई प्रकाशित गरेको “हिंदी-शब्दसागर”मा पंक, पंच, पंडित, पंपा, मंगल, मंजरी, मंडल, मंत्र, वंग, वंचक, वंटक, वंदन, हंकार हंजि, हंडा, हंतकार, हंभा इत्यादि रूपहरुलाइ क्रमैले पइग, मइँ, वक, हइ इत्यादि रूपहरुभन्दा अगाडि राखिएको छ, अनि पङ्क, मञ्जरी, मण्डल, मन्त्र, पम्पा इत्यादि रूपहरुलाइ स्थानै दिइएको छैन।

यस्तै कुराबाट समेत प्रभावित भै मध्यचन्द्रिकाकारले “सबैमा अनुस्वारै गर्ने पनि व्यवहार छ”(२६) भनी ङ-ञ-ण-न-म-श्रुतिको प्रतिनिधित्व गर्न शिरबिन्दु लेख्ने चलनको समर्थन गरेको र नेपाली सजिलो व्याकरणका रचयिताले “ङ्, ञ्, ण्, न् वा म् को सट्टा यो चिह्न (डिकोमाथि एक थोप्लो) दिए पनि हुन्छ”(२७) भन्ने स्वीकृति दिएको बुझिन्छ।

तर पछिपछि संस्कृतका प्रभावले र शिक्षाशास्त्रका (उच्चारणशास्त्रका) अध्ययनका प्रभावले गर्दा वर्गपञ्चम-वर्णको (ङ-ञ-ण-न-म-को) प्रतिनिधित्व गर्न पनि शिरबिन्दु लेख्ने पुरानो चलन अनुचित मानिन थालेपछि मुख्यतया वर्गपञ्चमवर्णयुक्त रूपलाइ नै मान्यता दिन पर्ने मानिन थाल्यो। राल्फ् लिलि टर्नर्ले १९३१ सन्मा (वि.सं. १९८८ मा) प्रकाशित गराएको “अ कम्प्यारटिव् याण्ड् एटिमोलोजिकल् डिक्शन्रि अव् द नेपालि ल्याङ्ग्विज्”-मा नेपालीका पुराना लेखाइअनुसारका अंक, अंकुसे, अंगुर्, अंगुल्, अंसियार् इत्यादि रूपहरु पनि पाइन्छन् त पनि तिनमा अर्थ नदिई अङ्क, अङकुसे इत्यादिमा मात्र अर्थहरु दिएकाले टर्नर्ले पनि अङ्क, अङ्कुसे, अङ्गुर्, अङ्गुल्, अङ्सियार् इत्यादिलाइ नै मुख्य र वास्तविक रूप मानेको बुझिन्छ।

यद्यपि, २०१३ वैक्रमाब्दमा प्रकाशित ज्ञानमण्डल लिमिटेड (बनारस) को बृहत् हिन्दी कोशको दोस्रा संस्करणमा पनि उपर्युक्त हिंदी-शब्दसागरकै वर्णानुपूर्वी र शब्दक्रम मानिएको छ, तथापि २००७ वैक्रमाब्दमा प्रकाशित नालन्दा विशाल शब्दसागरमा भने अंक, अङ्क इत्यादि दुवैथरी रूपहरु सँगसँगै मुद्रित पाइन्छन् र हिन्दीमा पनि वर्गपञ्चमवर्णको प्रतिनिधित्व गर्न शिरबिन्दु लेख्ने चलन अल्लि घट्दै जान थालेको बुझिन्छ।

द्वारकाप्रसादशर्मा चतुर्वेदीले सम्पादन गरेको १९५० सन्मा प्रकाशित हिन्दी-शब्दार्थ-पारिजातमा भने “अंक” इत्यादि रूपलाइ मान्यता दिइएको छैन, अङ्क इत्यादि रूप मात्र पाइन्छन्। १९९८ वैक्रमाब्दमा प्रकाशित नेपाली बगली कोषका परिभाषामा हाम्रा पण्डित चक्रपाणि चालिसे भने “अनुस्वारको पछाडि क च ट त प वर्गी अक्षर आउने शब्दहरूमा पछिल्ला वर्णको वर्गको पञ्चमाक्षर दिइएको छ। त्यस्ता शब्दलाई अवस्था हेरी अनुस्वारयुक्त नै प्रयोग गरे पनि हुन्छ। जस्तो इञ्जन (इंजन) अन्त (अंत) इत्यादि यी दुवै थरी रूप शुद्ध हुन्, ग्रन्थविस्तारभयले यहाँ एकैथरी रूप मात्र दिइएको छ” भन्दै थिए। अनि २००७ वैक्रमाब्दमा प्रकाशित संक्षिप्त नेपाली कोशका नियममा “संस्कृत, प्राकृत र पालीका नियमबमोजिम चवर्गसंग जोरिएका “न्” र “म्”लाई “ञ्” गर्ने र टवर्गसंग जोरिएकालाई “ण्” गर्ने भन्ने उपसमितिका विशेष विद्वान्ले दिएका रायबमोजिम अक्षरविन्यास लेखिएका छन्, जस्तो–लन्ठा, झन्झट आदि अशुद्ध र लण्ठा, झञ्झट आदि शुद्ध रूप हुन्, सजिलोको निंती लंठा, झंझट आदिमा अनुस्वार दिन पनि सकिन्छ” भनियो।

यस भनाइअनुसार “लंठा”, “झंझट” इत्यादि लेखाइ केवल सजिलाका निमित्त मात्र मानिएको र वस्तुतस्तु “लण्ठा”, “झञ्झट” इत्यादि लेखाइ नै शुद्ध हुन् भन्ने कुरा झल्कन्छ। तर २०१९ वैक्रमाब्दमा रायल नेपाल ऐकेडेमीले प्रकाशित गरेको नेपाली शब्द-कोशका प्रस्तावनामा भने “अनुस्वारध्वनिलाई हाम्रो भाषाको मूल स्रोत–संस्कृतको व्याकरणमा, निर्दिष्ट नियमहरूका अधीनमा रही, कि शिर-बिन्दु कि त वर्गको पञ्चम वर्णद्वारा व्यक्त गर्ने चलन छ।

यस कारण संस्कृत र त्यसबाट उत्पन्न भाषाका केही कोश-कारहरूले यस्ता स्थानमा अनुस्वार र पञ्चम वर्ण–दुवैको प्रयोग गरेका छन्। किन्तु, यो विधि स्वीकार गरेका खण्डमा स्थान अधिक छेकिने हुनाले, मुद्रण-व्यवस्थाले बाधा नपारेसम्म, यस कोशमा पञ्चम वर्णकै प्रयोग गरिएको छ। परन्तु, यो विधि स्वीकार गर्नासाथ संस्कृतभन्दा अतिरिक्त भाषाबाट आएका शब्दले समस्या खडा गर्दछन्। संस्कृतका तत्सम शब्दमा संस्कृतको नियम स्वीकार गर्दा अन्य भाषाबाट आएका शब्दलाई पनि तत्तत् भाषाकै नियम-पालनको सुविधा दिनु उचित हुन्थ्यो।

सम्भव हुन नसकेकोले कुनै औचित्य भेट्टाउन आफ्नो लिपिको विशेषतातिर ध्यान दिनुपर्यो। देवनागरी लिपिको सबभन्दा ठूलो विशेषता नै त्यसमा उच्चारणकै अनुसार शब्द लेख्न सकिने भएकोले त्यस्ता स्थलमा नेपाली भाषामा प्रचलित उच्चारणका अनुसार नै तिनका हिज्जे दिइएका छन्।

अतः पैन्ट, सुपरिन्टेन्डेन्ट, गन्जीफा, पन्जा, सिन्का आदि हिज्जे ग्रहण गरिएका छन्। संस्कृत तत्सम रूपभन्दा टाढा पर्ने तद्भव र नेपाली शब्दमा पनि यही नियम लागू गरी टन्टा, गुन्टा, रन्कनु, मान्छे, हुन्छ, सम्झनु, चिम्लनु, झम्टनु, गुम्स्याउनु, जुम्सो, लाम्चो, चम्चा, सम्चार, चिम्टा आदि हिज्जे लिइएका छन्”(२८) भनिएको छ।

यस भनाइबाट संस्कृतका “पञ्च” इत्यादि शब्दमा संस्कृतका (लेखाइका) नियमअनुसार नेपालीका लेखाइमा पनि गोर्सिङ्ङे ञ लेख्ने कुरा मानिए पनि “मान्छे”, “झन्झट” इत्यादिमा नेपाली उच्चारणअनुसार ञकार नमानी नकारै मानिएको भन्ने देखिएकाले नेपालीका उच्चारणमा चवर्गको पञ्चम वर्ण (गोर्सिङ्ङे ञ) को अस्तित्व नमानिएको, नेपाली उच्चारणको वास्ता नगरी संस्कृतका लेखाइअनुसार लेखिने शब्दहरुमा मात्र (नेपाली उच्चारणमा हैन) लेखाइमा मात्र ञकार रहन गएको भन्ने मानिएको देखिन्छ। चवर्गका वर्ण पर भएको ञकारको प्रतिनिधित्व गर्न शिरबिन्दु लेखे पनि हुन्छ भन्ने नेपाली-भाषा-प्रकाशिनी समितिका मान्यताले भन्दा नेपाली शब्दकोशका उपर्युक्त भनाइले बर्ता मौलिक रूपमा नेपालीमा ञकारको अभाव भएको कुरा देखाउन खोजेको छ। आधुनिक भाषाशास्त्रीहरुले पनि नेपालीमा ञकारको अभाव नै मानेको बुझिन्छ(२९)

आधुनिक नेपालीमा ञकारको अस्तित्व र लेखाइका विषयका उपर्युक्त मान्यताहरुका विषयमा तल केही कुरा लेखिन्छन्।

दुनिञा, लडाञी, रुपैञा, दमाञी, नञा, वनिञा, ञहाँ, मैञा, तपाञी, मपाञी इत्यादि रूप शुद्ध हैनन्, दुनियाँ, लडाइँ, रुपैयाँ, दमाईँ, नयाँ, वनियाँ, यहाँ, मैयाँ, तपाईँ मपार्इँ इत्यादि रूप नै आधुनिक नेपालीमा शुद्ध हुन् भनेर नेपाली-भाषा-प्रकाशिनी समितिले गोर्सिङ्ङे ञको जुन बहिष्कार गर्यो त्यो बहिष्कार उचितै हो भन्नुपर्छ, किनभने दुनिञा इत्यादि रूप आधुनिक नेपालीहरुका उच्चारणअनुसारका हैनन्, दुनियाँ इत्यादि रूप नै आधुनिक नेपालीहरुका उच्चारणका अनुकूल छन्।

पंच, पंछी, पंजा, झंझट इत्यादि पनि शुद्धै हुन् भनेर ञकारको बहिष्कार गर्ने नेपाली-भाषा-प्रकाशिनी समितिले जुन पक्ष देखायो त्यो भने अनुचित हो, किनभने शिरबिन्दु अनुस्वारश्रुतिको चिह्न हो(३०), नेपालीका “पंच, पंछी” इत्यादि पदका उच्चारणमा अनुस्वारश्रुति(३१) उपलब्ध छैन।

शिरबिन्दुलाइ ङ-ञ-ण-न-म-श्रुतिको(३२) र अनुनासिकताको(३३) समेत चिह्न मान्ने हो भने त उच्चारणअनुसारै लेख्ने हाम्रो युक्तियुक्त तथा सुदीर्घ परम्परालाइ जलाञ्जलि दिनुपर्ने (छाडिदिनुपर्ने) हुन्छ, तसर्थ यो पक्ष कथमपि राम्रो देखिँदैन। हैन, स्ववर्गीय व्यञ्जन पर भएका ङ-ञ-ण-न-म-श्रुतिको प्रतिनिधित्व गर्न शिरबिन्दु लेख्ने चलन त प्राकृतमा पनि पाइन्छ, रिचर्ड् पिशल्का मतअनुसार अनुनासिकताको सङ्केत गर्न पनि प्राकृतमा शिरबिन्दु लेखिन्थ्यो(३४), अनि शिरबिन्दुलाइ ङ-ञ-ण-न-म-श्रुतिको र अनुनासिकताको पनि चिह्न मान्ने कुरा कसरी हाम्रो परम्पराको प्रतिकूल मान्न सकिन्छ? यस प्रश्नको उत्तर पाँचौँ परिशिष्टमा दिइसकिएको छ(३५)। पिशल्को मत पनि सर्वमान्य छैन, तसर्थ यो कुरा युक्तिरहित र हाम्रो मौलिक परम्पराको प्रतिकूल नै हो। अतएव “पंच” “पंछी” इत्यादिलाइ पनि शुद्ध मानेर लेखाइमा ञकारको बहिष्कार गर्ने पक्ष युक्तिरहित र अमान्य छ।

हैन, श्रुतिअनुसारै लेख्ने हो भने त “पन्च”, “पन्छि”, “पन्जा” इत्यादि लेखाइ पो शुद्ध देखिन्छ भन्ने विचार उठ्न सक्छ, यस्तै विचारले गर्दा होला आधुनिक भाषाशास्त्रीहरुले नेपालीमा ञकारको अभाव छ भन्ने मानेका छन्(३६) र रायल नेपाल एकेडेमीका नेपाली शब्द-कोशमा “पन्च”, “पन्छी”, “पन्जा” इत्यादि रूपहरु मुद्रित गराइएका छन्, नेपाली-भाषा-प्रकाशिनी समितिका कोशअनुसार भने यी रूप सोझै अशुद्ध र पञ्च, पञ्छी, पञ्जा इत्यादि अथवा पंच, पंछी, पंजा इत्यादि रूप शुद्ध मानिन्छन्।

ञकारको बहिष्कार गर्ने यस पक्षको निराकरण गर्न गारो छ। तसर्थ यस पक्षको भनाइ राम्ररी बुझेर मात्र त्यसमा टिप्पणी गर्नु जाति हुनेछ। यस पक्षको भनाइको सार यो हो– पञ्च-शब्दको ञकारको श्रुतिमा र दन्त-शब्दको नकारको श्रुतिमा फरक भेट्टाउन साधारणतया भाषाशास्त्रीलाइ पनि गारै पर्छ, एउटै श्रुतिका लागि कतै गोर्सिङ्ङे ञ-को कतै निहुरीमुण्टी न-को प्रयोग गर्ने लेखाइ युक्तिरहित हुन जान्छ, स्वर पर भएको ञकार भने वास्तवमा आधुनिक नेपालीमा पाइँदैपाइँदैन, तसर्थ आधुनिक नेपालीमा ञकारश्रुतिको र गोर्सिङ्ङे ञ-लिपिको अस्तित्व अस्वीकार्य छन्।

ध्वनिप्रक्रिया / ध्वनिशास्त्र (फोनोलोजि) लाइ आँखाको भर पर्ने भनेको देखाएर पनि(३७) त्यसको खण्डन नगरीकनै लिखित आधुनिक नेपालीमा गोर्सिङ्ङे ञ-को प्रयोग हुँदाहुँदै पनि ध्वनिप्रक्रियामा नेपाली व्यञ्जनहरुको सारणी दिँदा बालकृष्ण पोखरेल र वल्लभमणि दाहालले ञकारको उल्लेख नगरेको पाइन्छ(३८)। उहाँहरुले ञकारको उल्लेख नगर्नमा हेतु नदिनुभएको भए पनि वाहाँहरुको भनाइ पनि स्यात् (सम्भवतः) उपर्युक्त नै हो।

रिसालका दाजु-भाइहरुले पनि “ञलाई पनि (वर्णमालाबाट) हटाउनु बेश होला। किनभने आजभोलि ञ को त चलन नै छैन”(३९) भनेको पाइन्छ। यस भनाइको अर्थ क्या हो प्रष्ट बुझ्न सकिन्न, लेख्ने चलन छैन भन्ने भनाइ हो कि उच्चारण गर्ने चलन छैन भन्ने? लेख्ने चलन त प्रशस्तै छ, जुन पुस्तकमा “ञ-को त चलनै छैन” भन्ने कुरा मुद्रित छ त्यहीँ पनि ञकारहरु मुद्रित छन्(४०), उच्चारण गर्ने चलन छ कि छैन भन्ने निर्णय दिन त ञकारको उच्चारणको पनि प्रष्ट रूपमा विवेचना गर्नु आवश्यक हुन्छ, त्यसै एक थोक भनिदिएर मात्र हुँदैन, परम्परागत मान्यतामा परिवर्तन गर्न गारै पर्छ, त्यसमा परिवर्तनको आवश्यकता देखाउनेले परिवर्तनका पक्षमा प्रष्ट र युक्तियुक्त विचार प्रस्तुत गर्न आवश्यक हुन्छ, युक्ति केही नदेखाईकन आर्काका भनाइलाइ त्यसै दोहोर्‍याएर मात्र काम बन्दैन। तसर्थ नेपालीका उच्चारणमा “पञ्च” “पञ्छी” इत्यादि पदमा पनि ञकारको अस्तित्व छैन, त्याहाँको अनुनासिक व्यञ्जन तवर्गको पञ्चम वर्ण (न) नै हो, च-वर्गको पञ्चम वर्ण (ञ) हैन, तसर्थ आधुनिक नेपालीका उच्चारणमा ञकार-श्रुतिको अस्तित्व नै छैन भन्ने मतको परीक्षा गर्न अब यहाँ ञकारको इतिहासको र स्वरूपको विषयमा विचार गरिन्छ।
(बाँकी अंश अर्को लेखमा)

टिप्पणीहरू
“सजिलोको निंती लंठा, झंझट आदिमा अनुस्वार दिन पनि सकिन्छ।” –संक्षिप्त नेपाली कोश, ने.भा.प्र.स. (२००७), नियम।
२. (क) “ङ्, ञ्, ण्, न् वा म् को सट्टा यो चिह्न (डिकोमाथि एक थोप्लो) दिए पनि हुन्छ।” –नेपाली सजिलो व्याकरण, ने.भा.प्र.स. (२०१९), पृ.४।
(ख) ने.भा.प्र.स. को उक्त व्याकरणको पनि आधारभूत ग्रन्थ मध्यचन्द्रिकामा यस विषयमा यस्तो कुरा पाइन्छ- “भाषामा संस्कृतबाट आएका शब्दमा प्रायः यही बमोजिम (संस्कृतका नियम अनुसार ङ, ञ, ण, न, म नै र अनुस्वारै), अरू भाषाको शब्दमा यही बमोजिम वा सबैमा अनुस्वारै गर्ने पनि व्यवहार छ।” –मध्यचन्द्रिका (दशम संस्करण, २०२६) पृ.६।
३. श्रीमनकामनाका ढोकामाथि श्री ५ पृथ्वीनारायणको ताम्रपत्र (संवत् १८२०), इतिहासप्रकाश, अङ्क १ (२०१२।१।१), पृ.४८, स्तम्भ १, “ताम्रपत्र”पछि छैटो पङ्क्ति।
४. श्री ५ पृथ्वीनारायणशाहको दिव्योपदेश, तेस्रो “उप्रान्त”पछि, सयपत्री (द्वि.सं. २०२६), पृ.२० (द्रष्टव्य– प्र.सं. २०१३, पृ. २१)।
५ . उहीँ, पृ.२१, चौथो “उप्रान्त” पछि २ पल्ट, पृ.२२ (द्र.– प्र.सं., पृ. २३, २४)।
६ . उहीँ, पृ.२२, पाँचौँ “उप्रान्त” पछि २ पल्ट, पृ.२३ (द्र.– प्र.सं. २०१३, पृ. २५)।
७ . उहीँ, छैटो “उप्रान्त” पछि २ पल्ट, पृ.२४ (द्र.– प्र.सं. २०१३, पृ. २६)।
८ . उहीँ (द्र.– प्र.सं. २०१३, पृ. २६)।
९ . उहीँ (द्र.– प्र.सं. २०१३, पृ. २६)।
१०. उहीँ (द्र.– प्र.सं. २०१३, पृ. २६)।
११. श्रीअभिमान सिंहको र श्रीपारथ भँडारिको पत्र, (संवत् १८३०), इतिहासप्रकाश, अङ्क १ (२०१२।१।१), पृ. १३, स्तम्भ १ (३ पटक), (ञाहाँ, ञाहाको– “(५)श्री दुर्गासहायः”पछि स्तम्भ १, छैटो र सातौँ पङ्क्ति)।
१२. इतिहासप्रकाश, अङ्क १ (२०१२।१।१), पृ. ४९, स्तम्भ २, “श्री दुर्गासहायः”पछि चौथो पङ्क्ति।
१३. किरातस्थिति (संवत् १८९४), इतिहासप्रकाश, अङ्क १ (२०१२।१।१), पृ. ७७, स्तम्भ २, तेस्रो पङ्क्ति।
१४. उहीँ, पहिलो पङ्क्ति।
१५. श्री ५ महाराजाधिराज सिंहप्रतापसाहका समयको सैनिक इतिहास (संवत् १९१४), सयपत्री (द्वि.सं. २०२६), पृ.५१ (द्र.– प्र.सं. २०१३, पृ. ५६)।
१६. कवि भानुभक्त को जीवनचरित्र, मोतीराम भट्ट, काशी, संवत् १९४८, पृ. ११ (द्र.– सयपत्री, प्र.सं. २०१३, पृ. ६२; द्वि.सं. २०२६, पृ.५६)।
१७. उहीँ, पृ.१२ (द्र.– सयपत्री, प्र.सं. २०१३, पृ. ६३; द्वि.सं. २०२६, पृ.५६)।
१८. उहीँ (द्र.– सयपत्री, प्र.सं. २०१३, पृ. ६३; द्वि.सं. २०२६, पृ.५७)।
१९. कुलचन्द्र गौतम, परेबाबाट पायेको शिक्षा, सयपत्री (द्वि.सं. २०२६), पृ. ७२ (द्र.– प्र.सं. २०१३, पृ. ७८)।
२०. चन्द्रिका, प्रथम-द्वितीय-प्रकाश, पृ. १२१ (द्र.– चन्द्रिका, साझा प्रकाशन, पृ.८४)।
२१. उहीँ, पृ. १५२ (द्र.– चन्द्रिका, साझा प्रकाशन, २०४२, पृ. १०५, ११५, ११६)।
२२. उहीँ (द्र.– चन्द्रिका, २०४२, पृ. १०४)।
२३. उहीँ, पृ. २०२ (द्र.– चन्द्रिका, २०४२, पृ. १३६)।
२४. चन्द्रिका, तेस्रो प्रकाश, पृ.२०२ (द्र.– चन्द्रिका, २०४२, पृ. २९१)।
२५. उहीँ।
२६. मध्यचन्द्रिका (दशम संस्करण, २०२६), पृ.६।
२७. नेपाली सजिलो व्याकरण (पाँचौं पटक, २०१९), पृ. ४।
२८. नेपाली शब्द-कोश, रायल नेपाल ऐकेडेमी (२०१९), प्रस्तावना, पृ.११।
२९. ध्वनिप्रक्रिया र केही ध्वनिसिद्धान्त, बालकृष्ण पोखरेल र वल्लभमणि दाहाल, नेपाली व्यञ्जनहरूको तालिका (पुस्तक-संसार, विराटनगर, २०२७), पृ.३१।
३०. नेपाली-भाषा-प्रकाशिनी समितिद्वारा पत्याइएका विद्वान्हरु त झन् शिरबिन्दुलाइ नै अनुस्वार ठान्छन्; संक्षिप्त नेपाली कोश (ने.भा.प्र.स., २००७) का नियमहरु गैरिएर पढ्नुहोस्; नेपाली सजिलो व्याकरण (ने.भा.प्र.स., २०१९) को चौथो पृष्ठ हेर्नोस्; नेपाली बगली कोष (ने.भा.प्र.स., १९९८) को परिभाषा विचारपूर्वक पढ्नुहोस्; मध्यचन्द्रिका (दशम संस्करण, २०२६) को छैटो पृष्ठ हेर्नोस्।
३१. अनुस्वार-श्रुतिको यथार्थ परिचयका निमित्त यसै ग्रन्थको पाँचौँ परिशिष्ट पढ्नोस्।
३२. नेपाली सजिलो व्याकरणमा शिरबिन्दुलाई ङ-ञ-ण-न-म-श्रुतिको पनि चिह्न मानिएको छ, उक्त पुस्तकको (पाँचौँ संस्करणको) चौथो पृष्ठ पढ्नोस्।
३३. “हाम्रो यो व्याकरणमा छापाका अनुरोधले अनुनासिक लेख्ता प्रायः शिरबिन्दु नै दिएको छ” भनी चन्द्रिकाकारले शिरबिन्दुलाइ अनुनासिकताको पनि चिह्न मानेका छन्; चन्द्रिका (प्रथम-द्वितीय-प्रकाश) को पाँचौ पृष्ठ पढ्नुहोस् (द्र.- चन्द्रिका, साझा प्रकाशन, २०४२, पृ. ४, टि. १)।
३४. रिचर्ड् पिशल्ले बनाएको कम्प्यारटिव् ग्र्यामर् अव् द प्राकृत् ल्याङ्ग्विजिज्को १७० सङ्ख्याको प्रघट्टक (१९५७, पृ. १३०) हेर्नुहोस्।
३५. “अनुस्वार-श्रुति र नेपालीमा त्यसको स्थिति तथा लेखाइ” भन्ने लेख नेपाली वर्णोच्चचारणशिक्षामा प्रकाशित छ (पृ.२६७–२८६)।
३६. ध्वनिप्रक्रिया र केही ध्वनिसिद्धान्त (पुस्तक-संसार, २०२७), पृ.३१।
३७. उहीँ, भूमिका, पृ.५। (यहाँ ध्वनिप्रक्रिया वा ध्वनिशास्त्रलाइ आँखाको भरपर्ने भन्नु ठिक हैन, कदाचित् पूर्वपक्षका रूपमा यस्तो कुरा भनिएको हो भने त्यसको खण्डन गरिएको हुनुपर्थ्यो, त्यसो नगरेपछि त लिखित रूपमा ञ-को आधुनिक नेपालीमा प्रयोग पाइँदापाइँदै ञ छैन भन्नु नमिल्दो कुरा हो।)
३८. उहीँ, पृ.३१।
३९. नेपाली भाषा र व्याकरण (विष्णुगोपाल रिसाल र शिवगोपाल रिसाल, साझा प्रकाशन, २०२७), पृ.१७।
४०. उहीँ, पृ.३९-४०।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?