कैलाश मानसरोवर यात्रा: एक पवित्र अनुभूति

कैलाश मानसरोवर यात्रा: एक पवित्र अनुभूति
+
-

निराकारमोंकारमूलं तुरीयं। गिरा ग्यान गोतीतमीशं गिरीशं॥
करालं महाकाल कालं कृपालं। गुणागार संसारपारं नतोऽहं॥

तुषाराद्रि संकाश गौरं गभीरं। मनोभूत कोटि प्रभा श्रीशरीरं॥
स्फुरन्मौलि कल्लोलिनी चारु गंगा। लसद्भालबालेन्दु कंठे भुजंगा॥

यस शिव स्तोत्रमार्फत कैलाश पर्वतमा विराजमान सदाशिव, भोले बाबा, भोलेनाथ, निरञ्जन निराकार शिवको महिमा र स्वरूप उजागर गरिएको छ। यही पवित्र स्तुति जप्दै यस पटक हामीलाई कैलाश मानसरोवर यात्रा गर्ने दुर्लभ अवसर जुर्‍यो।

२०८२  सालको बैशाख १० गतेदेखि १९ गतेसम्म सम्पन्न भएको यो पवित्र यात्राको पहल पारिवारिक मित्र बटुकृष्ण उप्रेती र उहाँकी पत्नी उत्तरा उप्रेतीले गर्नु भयो। यात्राको प्रारम्भदेखि अन्त्यसम्म मेरी पत्नी सरिता पौडेलले पूर्ण साथ र सहयोग गर्नुभयो। हामीसँगै ज्ञानराज पाण्डे र राधा पाण्डेजस्ता आत्मीय आफन्त तथा बटुजीका नातेदार डा. गणेशराज जोशी र उहाँकी पत्नी कमला जोशी पनि यात्रामा सहभागी हुनुभयो।

हाम्रो आठ जनाको समूहमा सत्तरी वर्ष पार गरिसकेका हाडीगाउँ निवासी रत्न साही र रत्ना साही दम्पति तथा चालीस वर्ष काटेका स्याङ्जाका सुरेन्द्र अर्याल र पोखराकी श्रेया भारतीजस्ता यात्रामा सहभागी थप हुनु भयो। १० दिन लामो उच्च हिमाली क्षेत्रमा बसाइँ बसन्त बरालको नमस्ते होलिडेको अगुवाइमा हामी सबैका लागि जीवनकै एक अविस्मरणीय क्षण बन्न पुग्यो।

साँच्चै भन्नुपर्दा, केही हप्ता अघि मात्र भारतको गङ्गा सागर, जगन्नाथ पुरी र झारखण्डस्थित ज्योतिर्लिङ्ग बैद्यनाथधामको तिर्थ यात्रा गरेर फर्किएको थियौं। त्यो यात्रा पछिको थकान मेट्दै गर्दा मानसरोवरको प्रसङ्ग हामीलाई कल्पनामा पनि थिएन। तर चैत्र महिनाको दोस्रो हप्ता एक बिहान बटुकृष्ण उप्रेतीजीको फोन आयो – “कैलाश मानसरोवर घुम्ने हो?” भन्ने सिधा प्रश्न। निर्णयमा दोधार गर्ने बानी भएको मैले किन हो किन, तत्कालै “हो” भनेर सहमति जनाएँ। त्यो सुनेर ढोकामा उभिएकी मेरी पत्नी सरिता पौडेल अचम्ममा परिन् – मलाई यति छिटो सहमति जनाएको सुनेर उनैलाई पनि विश्वास लागेन।

पछि मात्र थाहा भयो, बटु सरले पहिल्यै आफ्नी श्रीमतीसँग छलफल गरेर मलाइ सोध्नु भएको रहेछ। यात्राको नेतृत्व लिने बटु सरले सम्पूर्ण व्यवस्थापन, योजना र समन्वयमा हर सम्भव प्रयास गर्दै भ्रमणलाई सफल बनाउन अग्रसर हुनु भयो। यो यात्रा केवल भौगोलिक उचाइको अनुभव मात्र होइन, आत्मिक शान्ति र ईश्वरीय ऊर्जा अनुभूत गर्ने एक पवित्र यात्रा बन्यो।

कैलाश मानसरोवर यात्रा: बाल्यकालदेखि सपना जस्तै


सानो हुँदा श्रीस्वस्थानी व्रतकथा सुन्दा सुन्दा मानसपटलमा एउटा चित्र झल्कन्थ्यो—शिवजीले हिमालयराजकी पुत्री पार्वतीलाई कैलाशमा पुर्याएको प्रसंग, र मानसरोवरमा पार्वतीसँग गरिएको हंसक्रीडाको कथा। ती कथाहरूले बाल मनमा कैलाश मानसरोवरको तस्बिर सजीव बनाइदिएको थियो।

जसरी उमेर बढ्दै जान्थ्यो, त्यसरी नै बुझाइ पनि फराकिलो हुँदै गयो। एक समय थियो, जब मलाई लाग्थ्यो कैलाश भनेकै पशुपतिनाथ मन्दिर परिसरको “कैलाश” हो। तर पछि थाहा हुँदै गयो—सयौं नेपालीहरू कैलाश जाने थालेका छन्, अनि यसको चर्चा, परिचर्चा बढ्दै गयो। त्यसै बेलादेखि मनमा एक गहिरो हुटहुटी बस्यो: म पनि एक दिन कैलाश जानेछु।

यद्यपि सनातन धर्म र देवतीर्थबारे मेरो ज्ञान सीमित नै थियो, मैले कैलाशलाई गहिरिएर बुझेको थिइनँ। तर भोलेनाथको कृपा नै भन्नुपर्छ—कर्मकाण्डी दृष्टिकोण बोकेर, बैशाख १३ गते माता तिर्थ औंसीको अघिल्लो दिन हामी कैलाश मानसरोवर पुग्यौं। चिसो हावा, हुरी र हिमपातले कठ्यांग्रिएको शरीर पनि त्यो पवित्र स्थलको दर्शनले उज्यालो बन्यो।

औंसीको अँध्यारो रातमा मानसरोवरको पानीमा देखिएको लरबराउँदो जुनको प्रतिविम्ब—एक अलौकिक अनुभूति थियो। त्यस क्षण सरोवरको सतहमै मानौं ज्योतिर्लिङ्गको आभास देखिएको जस्तो लाग्थ्यो। बाल्यकालमा मनमा बसेका चित्रहरू मानसरोवरको छालमा जीवन्त भएर झल्किएको अनुभूति भयो।

औंसीको भोलिपल्ट, १४ गतेको बिहान, सुर्योदयको क्षण यति अद्भुत थियो कि त्यसलाई शब्दमा वर्णन गर्नु असम्भव छ। हाम्रो समूह सायद त्यो दिन सरोवर घुम्ने पहिलो सानो नेपाली टोली थियो, जसले शान्त वातावरणमा कुनै कठिनाइविना पूर्ण दर्शन र अनुभूति लिन सक्यो।

भोलेनाथको अनुपम कृपाले १० दिन लामो यो उच्च हिमाली यात्रा यस्तो लाग्यो, मानौं १० सेकेन्डमै सम्पन्न भयो। यात्राको सम्पूर्ण अवधिमा हाम्रो टोलीका सबै सदस्य सकुशल, बिना कुनै प्रतिकूलताका फर्कन सफल भयौं। यो केवल एक भ्रमण होइन, जीवनभर हृदयमा बाँचिरहने आध्यात्मिक पुनर्जन्मजस्तै अनुभव भयो।

बर्षकै पहिलो समूह: सौभाग्य सहजता


यस वर्षको कैलाश मानसरोवर यात्रामा हाम्रो समूह वर्षकै पहिलो टोलीको रूपमा सहभागी भयो। त्यसैले हाम्रो यात्रा भीडभाडरहित, शान्त र व्यवस्थित रह्यो। कुनै पनि स्थलमा लाइन, जाम वा होहल्लाको सामना गर्नु परेन, जुन आफैंमा एक अद्वितीय सौभाग्य हो।

नमस्ते होलिडेजका व्यवस्थापक बरालज्यूले यात्रा व्यवस्थापनमा दिएको प्रतिबद्धता केवल शब्दमै सीमित रहेन, व्यवहारमै पनि स्पष्ट देखियो। बसोबास, खानपान र यात्राका सबै पक्षहरूमा उत्कृष्ट संयोजन नभएको भए, कठ्याङ्ग्रिने हिउँ, उचाइ र कठिनाइले हामीलाई धेरै दुःख दिने थियो। बरालज्यूको अगुवाइमा, भीड र प्रतिस्पर्धाका बीच पनि उचित मूल्यमा उच्च स्तरको सेवा पाइयो।

यस सफल यात्रामा थप योगदान दिने सहायकहरूको भूमिकालाई स्मरण नगरी रहन सकिन्न। सगरमाथा आरोहण गरेका अनुभवी नेपाली ट्रेकिङ गाइड ग्याल्जेन शेर्पा, साथै सहयोगी प्रविण तामाङ जिम्बा, रत्नबहादुर तामाङ र चिनियाँ गाइड डोल्माको निरन्तर सहयोग र हेरचाहले हाम्रो यात्रा सहज र सुरक्षित बनायो।

यात्राको तयारीमा बजार व्यवस्थापनमा संलग्न कल्पना कोइरालाले झर्को नमानी दिएका यथार्थपरक सल्लाहहरूले सामान छनोटमा ठूलो सहायता पुर्‍यायो। बरालज्यूको उत्साहवर्द्धक व्यवहारले हामीमा थप उर्जा भरिदियो।

यात्रा सहज होस् भन्ने उद्देश्यले मानसिक र शारीरिक तयारीका लागि चिकित्सकको सल्लाह लिइयो। साथै, आवश्यक सामग्री—जस्तैकि उचाइका लागि उपयुक्त बुट, ज्याकेट, पन्जा, टोपी, भित्री वस्त्र, बर्सादी, थर्मस, सनस्क्रिन, टर्चलाइट, र पूजाका सामग्रीहरू—पूर्व तयारीमै खरिद गरियो। आफ्नै आठ जनाको समुह भएकाले आपसी विश्वास र सहकार्यमा पनि आत्मबल थपियो। यो सब भोलेबाबाको कृपाकै कारण सम्भव भएको अनुभव गर्यौँ।

उमेरमै गरौँ कैलाश मानसरोवर यात्रा


यद्यपि सबै तिर्थयात्रा जीवनको कुनै पनि कालखण्डमा गरिन सक्छ, कैलाश मानसरोवर यात्रा भने विशेष गरेर उमेरमै गर्नु उपयुक्त हुन्छ। उचाइ, मौसम, र शारीरिक सहनशीलता—यी सबै पक्षले यो यात्रा बुढ्यौलीमा केही कठिन बनाइदिन्छ।

यहाँ आइपुगेका धेरै बुढाबुढीहरू घरका सम्पूर्ण जिम्मेवारी सुम्पेर, एकप्रकारको वैराग्यको भावनासहित यात्रा गर्दै आएका देखिन्थे। विशेषतः भारतीय तीर्थयात्रीहरूले यात्रा अगावै आफ्नो सम्पत्ति, व्यवसाय र पारिवारिक जिम्मेवारी सन्तानलाई हस्तान्तरण गरेर यहाँ आइपुग्ने परिपाटी अपनाएका छन्।

कैलाश मानसरोवर हिन्दु, जैन, र बौद्ध धर्मावलम्बीहरूका लागि एक समान पवित्र स्थल हो। यसले आत्मशुद्धि, कर्ममोचन र मोक्षको प्रतीकको रूपमा महत्त्व राख्दछ।

यात्रा विवरण

पहिलो दिन: वैशाख १० गतेकाठमाडौंदेखि टिमुरे बजारसम्म


यात्राको पहिलो दिन बिहान ७ बजे, हामी सबैजनाले श्री पशुपतिनाथ मन्दिर परिसरमा उपस्थित भएर पवित्र यात्राको प्रारम्भ गर्यौँ। आफ्ना झोलासामानहरू तोकिएको बसमा राखिसकेपछि, गुरुबाट स्वस्तिवाचन श्रवण गर्यौँ। सबैले आ–आफ्ना इष्टदेवता, कुलदेवता, र सम्पूर्ण देवी–देवताहरूको स्मरण गर्दै प्रार्थना गरेपछि गुरुबाट प्रसाद ग्रहण गरी यात्रा विधिवत रूपमा आरम्भ भयो।

पहिलो दिन हामीले करिब १६५ किलोमिटरको दूरी तय गर्दै १९०० मिटर उचाइसम्मको यात्रा गर्नु थियो। बिहानको खाना त्रिशूली बजारमा खाइसकेपछि, हाम्रो यात्रा बेत्रावती, त्रिशूली नदीको किनार, कालिकास्थान, धुन्चे हुँदै स्याफ्रुबेँसी पार गरेर अपराह्न ४ बजे टिमुरे बजारमा पुगेर सम्पन्न भयो।

होटेलमा सामान राखेपछि केहीबेर बजार घुमघाम गर्यौँ, र सीमासम्म पनि एकछिन हिँडेर पुग्यौँ। टिमुरे बजार र वरपरका स्थानहरूमा चीनबाट आयात गरिएका विद्युतीय गाडीहरू देख्दा आधुनिक सीमावर्ती व्यापारको अनुभव प्राप्त भयो। साथै, त्यहाँबाट नजिकै देखिने १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना पनि हाम्रो लागि आकर्षणको केन्द्र बन्यो।

घुमघामपछि होटल फर्केर, शरीर तताउने हेतुले केहीबेर नाचगान गर्यौँ। यात्रा क्रमशः अझ उच्च हिमाली क्षेत्रमा जान लागेकोले उचाइजन्य रोग (Altitude Sickness) नहोस् भन्ने उद्देश्यले रातको खानासँगै आवश्यक औषधिहरूको सेवन सुरु गर्यौँ।

दोस्रो दिन: वैशाख ११ गतेटिमुरेबाट चीन सीमा हुँदै केरुङ


दोस्रो दिनको यात्रा मध्याह्न १२ बजे प्रारम्भ भयो। सबैले खाना लिइसकेका थिए, झोलासामानहरू कोठाबाहिर तयार थिए। ट्राभल एजेन्सीका स्टाफहरूले सम्पूर्ण व्यवस्थापन सम्हालिरहेका थिए र उनीहरू पनि हामीसँगै यात्रा गरिरहेका थिए। त्यसैले उनीहरूले तोकेको समयपालना गर्दै, खाना र अन्य सल्लाहहरू अनुशासित रूपमा मान्दै हामी अघि बढ्यौँ।

सीमा पार गर्ने प्रक्रिया चिनियाँ समयअनुसार दिउँसो २ देखि ५ बजेसम्म मात्र खुला रहने भएकाले ट्राभल एजेन्सीमा पनि आवश्यक तयारीका साथ सीमापार गराउने चटारो थियो। टिमुरे बजारबाट नेपालको अध्यागमन कार्यालय र प्रहरी चेकजाँच पार गर्दै करिब २.५ किलोमिटर पैदल यात्रा गरेपछि, हामी चिनियाँ समय अनुसार दिउँसो २ बजे सीमाद्वारमा पुगेका थियौँ।

त्यहाँबाट हामी अब चीनको भूमिमा प्रवेश गर्न तयार थियौँ—नयाँ वातावरण, नयाँ संस्कृति र तीर्थयात्राको अर्को चरण सुरू गर्नका लागि।

तिब्बत प्रवेश: अनुशासन व्यावसायिकता


तिब्बत प्रवेश गर्न अनिवार्य रूपमा चिनियाँ गाइडको व्यवस्था हुनु पर्ने रहेछ। हाम्रोतर्फको अराजक र अव्यवस्थित अभ्यासहरूसँग तुलना गर्दा, चीनतर्फको अध्यागमन प्रक्रिया अत्यन्त नै व्यवस्थित, अनुशासित र आधुनिक देखिन्थ्यो।

झोला, सुटकेस खोलेर निरीक्षण गर्ने प्रक्रियाले केही थकान भए तापनि, त्यहाँ कार्यरत कर्मचारीहरूको व्यावसायिक शैली, व्यवहार, र संयमित प्रकृतिले हामीलाई सकारात्मक प्रभाव पारे। चेकजाँचका क्रममा प्रयोग भएका आधुनिक उपकरणहरू, स्वच्छ भवनहरू, र सुव्यवस्थित पार्किङस्थलहरूले चीनले आफ्नो सुरक्षानितिमा देखाएको गम्भीरता र दक्षता झल्काउँथ्यो।

सम्पूर्ण अध्यागमन प्रक्रिया पूरा गरेपछि, हामी करिब २४ किलोमिटर यात्रा गर्दै केरुङ नदीको किनारै किनारबाट अघि बढ्यौँ। २,८०० मिटरको उचाइमा रहेको एउटा भञ्ज्याङ पार गरेपछि, अन्ततः हामी केरुङ सहरमा प्रवेश गर्यौँ।

यात्राको यस खण्डमा वातावरण, सडक र भू-परिवेशमा आएको स्पष्ट भिन्नता महसुस गर्न सकिन्थ्यो। गत असोजको बाढीले केरुङ क्षेत्रका सडकहरूलाई क्षति पु-याएको रहेछ, तर चीन सरकारले बर्खाअघि नै पुनर्निर्माणमा तीव्रता दिएको प्रस्ट देखिन्थ्यो। जे होस्, नेपालतर्फको जिर्ण र अव्यवस्थित सडकसँग तुलना गर्दा, चीनतर्फका सडकहरू कुनै उच्च मापदण्डमा निर्माण भएका अनुभूति हुन्थे।

तेस्रो दिन: केरुङदेखि सागा१७० किलोमिटर, ४३०० मिटर उचाइ


तेस्रो दिनको यात्रा करिब छ घण्टाको रह्यो। यस दिन हामीले पुरानो केरुङ गाउँ, रमणीय झरनाहरू, हिमालहरूको शृंखला, खुमदाम-ला पास (५२०० मि.), नुन ताल, यलप शाङ गाउँ जस्ता अनगिन्ती रमणीय दृश्यहरूको अवलोकन गर्दै यात्रा गर्यौँ।

हाम्रो बसले ब्रह्मपुत्र नदी पार गर्दै अन्ततः ४३०० मिटर उचाइमा अवस्थित सागा शहरमा बास बस्यो। ब्रह्मपुत्रको किनारमा रहेको यो सहर साँच्चै सुन्दर थियो—शान्त, विशाल, र उच्च हिमाली क्षेत्रका लागि सुविधासम्पन्न। होटेल पनि आरामदायी थियो।

यस पटक, नयाँ भूमिगत सुरुङको निर्माण भएकाले हामीलाई ५२०० मिटरको खुमदाम-ला पास चढ्न परेन। यसले हाम्रो यात्रा सजिलो मात्र हैन, छोटो पनि बनायो—समय र ऊर्जा दुबै बचत भयो।

चौथो दिन: सागादेखि मानसरोवर – ५१० किलोमिटर, ४६०० मिटर उचाइ


चौथो दिन, बिहानको खाजा खाएपछि, चिनियाँ समयअनुसार ८:३० बजे, हामी पवित्र मानसरोवर तालतर्फ प्रस्थान गर्यौँ। करिब नौ घण्टा लामो यो यात्रा तिब्बतका विभिन्न गाउँहरू—पुरानो डोङ्पा, नयाँ डोङ्पा, पर्याङ हुँदै अग्लो मयुम-ला (५२०० मि.) पार गर्दै ४६०० मिटरको उचाइमा रहेको मानसरोवर तालमा पुगेर सम्पन्न भयो।

तालको पूर्वी भागमा रहेको प्रवेशद्वारमा टिकट लिएर, हामीले मानसरोवरलाई दायाँबाट परिक्रमा गर्दै, गुरुला मन्दता हिमालको काख हुँदै तालको पश्चिम किनारमा रहेको चिउ गोम्पामा पुगेर राति बास बस्यौँ।

यस दिनको यात्रा शारीरिक रूपमा निकै चुनौतीपूर्ण रह्यो। ४५०० मिटरको उचाइमा सामान्य हिँडाइ र सामान्य सामान बोकेको अवस्थामा पनि सास फेर्न गाह्रो हुने, थकान छिटो लाग्ने स्थिति थियो। तथापि, बसले तालको नजिकैसम्म पुर्‍याएकोले थोरै राहत मिल्यो।

पाँचौं दिन: मानसरोवरदेखि दार्चेनआध्यात्मिक उचाइको अनुभूति


पाँचौं दिन माता तिर्थ औंसी परेको विशेष दिन थियो। हामी सबै सबेरै उठ्यौं, शीतल जलमा स्नान गर्यौं र पितृ तर्पण, लक्ष्यदीप प्रज्वलन र अन्य धार्मिक अनुष्ठानहरू सम्पन्न गर्यौं। अघिल्लो रात परेको भारी हिमपातले वरपरका डाँडाहरू सेताम्य बनेका थिए, तर बिहान मौसम खुल्ला र शान्त थियो। टाढाबाट कैलाश पर्वतको दर्शन हुने सौभाग्य प्राप्त भयो।

बिहान ६ बजेसम्म स्नान, पूजा र तयारीहरू सम्पन्न गरी हाम्रो समूह पूजाको लागि पूर्ण रूपमा तयार भइसकेको थियो। कोही मानसरोवर र कैलाश पर्वतका दिव्य दृश्यहरू क्यामेरामा कैद गर्न व्यस्त थिए भने कोही सेल्फीमा मग्न देखिन्थे।

बिहानी सूर्यका पहिलो किरणहरू जब मानसरोवरको निर्मल जलमा छरिए, सम्पूर्ण वातावरणमा एक किसिमको दिव्य ऊर्जा र आध्यात्मिक शान्ति अनुभूत भयो। त्यही क्षण हामी सबैले मानसरोवरको किनारमा बसी श्रद्धा र समर्पणका साथ पूजाअर्चना, पितृ तर्पण, लक्ष्यदीप प्रज्वलन जस्ता धार्मिक अनुष्ठानहरू सम्पन्न गर्यौं।

पूजा सम्पन्न भएपछि बिहानको खाना खाई हामी करिब ४० किलोमिटर उत्तर रहेको दार्चेन सहरतर्फ प्रस्थान गर्यौं। ४,७०० मिटरको उचाइमा अवस्थित दार्चेनलाई कैलाश पर्वतको आधार शिविरका रूपमा चिनिन्छ।

मानसरोवर तालको परिक्रमा: शास्त्रीय महिमा आध्यात्मिक स्पर्श


‘मानसरोवर’ शब्द संस्कृतका “मानस” (बुद्धि) र “सरोवर” (ताल) शब्द मिलेर बनेको हो। धार्मिक विश्वास अनुसार, यो पवित्र ताल श्री ब्रह्माले स्वयं सृष्टि गर्नु भएको हो र यहाँ श्री विष्णु भगवान्‌को वासस्थान रहेको उल्लेख गरिएको छ। सप्तऋषि र देवीदेवताहरू ब्रह्ममुहूर्तमा यहाँ स्नान गर्न आउँछन् भन्ने विश्वासले, प्रातःकालीन स्नानलाई अत्यन्त फलदायी मानिन्छ।

हिन्दू धर्मशास्त्रहरू अनुसार, यहाँको एकपटकको स्नानले सात जन्मसम्मका पापहरू नाश हुन्छन्, र यस जलको एकचोटि सेवनले शिवत्व प्राप्त गर्न सकिन्छ भन्ने विश्वास गहिरो रूपमा स्थापित छ।

राक्षस तालको अवलोकन: अन्धकार द्वन्द्वको प्रतीक


मानसरोवर तालको परिक्रमा गर्ने क्रममा, हामी पश्चिमतर्फको अलिकति अग्लो भूभागमा पुग्यौं, जहाँबाट ठीक विपरीत दिशामा रहेको राक्षस तालको अवलोकन गर्यौं। अर्धचन्द्राकार आकारको यो ताल नुनिलो पानीको भण्डार हो र हिन्दू धर्ममा अन्धकार, तामसिकता र रावणको तपस्याको प्रतीकका रूपमा लिइन्छ।

मानसरोवर र राक्षस ताललाई गंगा चु नामक सानो नदीले जोडेको छ। किंवदन्ती अनुसार, सप्तऋषिहरूले मानसरोवरको पवित्र जलबाट राक्षस तालको तामसिक प्रभावलाई शुद्ध पार्न गंगा चु नदीको सृष्टि गरेका थिए।

राक्षस ताल: तपस्याको स्थल तामसिक प्रतीक


धार्मिक शास्त्रहरूमा उल्लेख भएअनुसार, लंका नरेश रावणले कैलाश पर्वतमा विराजमान भगवान् शिवको तपस्या गर्नकै लागि राक्षस तालको सृष्टि गरेका थिए। यस तालमा रहेका विचित्र प्रकृतिका टापुहरूमा बसेर उनले प्रत्येक दिन भगवान् शिवको पूजा–आराधना गर्दै आफ्ना एक–एकवटा शिर अर्पण गर्ने गर्दथे। यसै क्रममा दशौँ दिन अन्तिम शिर चढाउँदा शिव प्रसन्न भई विशेष वरदान दिएका थिए—यही कथा हिन्दू धार्मिक ग्रन्थहरूमा उल्लिखित छ।

राक्षस तालको उचाइ ४,५७५ मिटर छ र यसले करिब २५० वर्गकिलोमिटर क्षेत्रफल समेटेको छ। ताल वरिपरि कुनै जीवजन्तु वा वनस्पति देखिँदैन, र धार्मिक दृष्टिकोणले यस ताललाई तामसिक र अशुभ मानिन्छ। मान्यताअनुसार, यस तालमा स्नान गर्दा वा प्रवेश गर्दा पापमा पुनः डुबिने भनिन्छ।

मानसरोवर।

यद्यपि मानसरोवर र राक्षस तालबीचको दूरी केवल करिब २०० मिटर मात्र भए पनि, तिनको प्रकृति, धार्मिक महत्त्व र ऊर्जा पूर्ण रूपमा विपरीत छन्। एक शुद्ध र सात्त्विक, अर्को तामसिक र नकारात्मक—यी दुई तालहरू सँगै भएर पनि धार्मिक द्वैतको अद्भुत प्रतीक बनेका छन्।

राक्षस तालको छेउबाट गुज्रने हाइवेले मानसरोवरलाई ताक्लाकोटसँग जोड्दछ, जसले यातायात र पहुँचलाई सहज बनाएको छ।

छैटौँ दिन: दार्चेनदेखि यमद्वारसम्मकैलाश परिक्रमा आरम्भ


छैटौँ दिन, बिहानको चिया र खाजा पश्चात हाम्रो कैलाश पर्वत परिक्रमाको विधिवत् आरम्भ भयो। दार्चेनदेखि यमद्वारसम्मको करिब ९ किलोमिटरको दूरी बसमार्गले करिब २० मिनेटमै पार गरियो।

यमद्वार, जसलाई स्वर्गको द्वार पनि भनिन्छ, हाम्रो यात्रा तथा आध्यात्मिक भावनाको अर्को महत्वपूर्ण केन्द्र रह्यो। यहाँ सबैले आफ्नो स्वर्गीय आफन्तजनको तस्वीर टाँसेर, तिनको आत्मशान्तिका लागि पूजा गरे। मान्यताअनुसार, यमद्वारमा आफन्तको तस्वीर राखी तिनको नाममा तीनपटक परिक्रमा गरेमा, पितृलाई स्वर्गको द्वार खुल्ने विश्वास रहिआएको छ।

त्यस बिहान, चिसो हुरी र तुषारोले वातावरण कठ्याङ्ग्रिएको थियो, त्यसैले त्यहाँ धेरै बेर बस्न सकिने अवस्था थिएन। तापनि, सबैले पूर्वतर्फबाट देखिने कैलाश पर्वतको पश्चिम मोहडाको दर्शन गरी फोटो खिच्ने अवसर भने लिए।

शारीरिक रूपमा अगाडि जान नसक्ने यात्रीहरूले धार्मिक विश्वासअनुसार यमद्वारको तीनपटक फन्को लगाएर नै कैलाश परिक्रमा बराबरको पुण्य प्राप्त गर्ने आस्था प्रकट गरे। पैदल यात्रा नगर्ने यात्रीहरूले दार्चेनमै दुई रात बिताए।

दर्शनपछि, पैदल यात्रा गर्ने यात्रुहरू देराफुक (Dira Phuk) तर्फ प्रस्थान गरे। यमद्वारदेखि ४,९५० मिटर उचाइमा रहेको देराफुकसम्मको १३ किलोमिटर यात्रा पैदल तय गरियो। यही बाटोबाट कैलाश पर्वतको परिक्रमा सुरु भएको मानिन्छ—जुन धेरैका लागि जीवनको सबैभन्दा आध्यात्मिक र कठिन यात्रा हो।

दार्फुक यात्रा: प्रकृति, शिव दर्शन र आध्यात्मिक अनुभूति


कैलाश परिक्रमा यात्राको यो खण्ड अत्यन्तै मनमोहक, तर कठिन थियो। हामी कैलाश पर्वतको फेदी हुँदै, हिममा परिणत भएका नदीहरूको किनार–किनार सर्दै थियौं, जहाँ जोडको चिसो हावाले शरीर जस्तै मन पनि झस्काउँदै थियो।

विराट हिमाली भूपरिवेशमा कतै शिवजीको आकृति, कतै काल भैरवको र कतै गणेश तथा अन्य देवताका रूपहरू प्राकृतिक रूपमै प्रकट भइरहेजस्तो लाग्थ्यो। हावाको वेगसँग जम्काभेट गर्दै, एक उचाइमा पुग्दा सप्त ऋषिको आकृतिको दर्शन भयो, जुन एक अद्भुत आध्यात्मिक संकेतजस्तो महसुस भयो।

अन्ततः हामी ४,८५० मिटर उचाइमा रहेको दार्फुक पुग्यौं। त्यहाँबाट झन्डै २०० मिटर माथिसम्म चढेर, कैलाश पर्वतको उत्तरी मोहडाको—अर्थात् सबैभन्दा श्रेष्ठ रूपको दर्शन गरियो। खुला आकाश, छ्याङ मौसम, र उज्यालो दिन—त्यो बेला, बासुकी नागको स्वरूपमा शिवजीको साक्षात् दर्शन भएको अनुभूति भयो।

यस आध्यात्मिक चरम क्षणमा, टोलीका तीन सदस्यहरू—पाण्डे दम्पती र सुरेन्द्र अर्याल, गाइड ग्याल्जेन शेर्पा र चिनियाँ गाइड डोल्मालाई, भोलिपल्टको कठिनतम परिक्रमा सफल होस् भन्दै अग्रिम शुभकामना दिइयो।

त्यसपछि मसहित अन्य साथीहरू—रत्न शाही, उत्तरा उप्रेती, श्रेया भारती—थोरै सासप्रश्वासको समस्या देखिएपछि, चिया स्टलमा विश्राम गरिरहेका डा. जोशी दम्पतीलाई लिएर फेरि दार्फुक फर्कियौं।

फर्किने बाटोमा, बिरालाभन्दा ठूल्ठूला मुसासँग रमाउँदै, हिमनदीको किनारैकिनार हिँड्यौं—एकप्रकारले शिवको चरण स्पर्श गर्दै यात्रा गरिएजस्तो अनुभूति भयो।

बाटोभरि हामीले स्थानीय तिब्बतीहरूलाई, सुत्दै नाप्दै परिक्रमा (कोरा) गरिरहेको देख्यौं। तिब्बती परम्पराअनुसार, ४० वर्ष पार गरेपछि जीवनभरका पाप कर्मको प्रायश्चित गर्न कोरा गर्ने चलन छ। चार महिना देखि एक वर्षसम्म घरबाट निस्केर, पूरै परिक्रमा सुत्दै गर्दै यात्रा गर्ने उनीहरूको आस्था देख्दा हामी स्तब्ध भयौं।

दार्चेन र तीर्थपुरी: पौराणिक इतिहास र धार्मिक उपचारको विश्वास


कैलाश परिक्रमा गर्ने प्रत्येक तीर्थयात्री र भक्तजनले आवश्यक तयारी र बन्दोबस्तीका लागि दार्चेनमा नै केही समय बस्नुपर्ने हुन्छ। हाम्रो समूहले पनि त्यहीअनुसार होटेलमा सामान राखेर, दार्चेनदेखि ६० किमी पश्चिमतर्फ रहेको “तीर्थपुरी” जाने निर्णय गर्‍यो।

तीर्थपुरी भ्रमणका लागि प्रत्येक यात्रुले ५०० युआन अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था थियो। ४,३१० मिटर उचाइमा रहेको यो स्थान धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ।

धार्मिक किंवदन्ती अनुसार, राक्षस भस्मासुरले भगवान् शिवबाट वरदान पाएपछि, उन्मत्त भएर जुनसुकै व्यक्तिलाई भस्म पार्न खोज्दा, भगवान् विष्णुले मोहिनी रूप धारण गरेर यिनै स्थानमा चतुराईपूर्वक भस्मासुरलाई भस्म पारेको उल्लेख पाइन्छ।

तीर्थपुरीका कालो डाँडाहरू, कमेरो र खरानीजस्ता माटोले बनेका थुम्काहरू, त्यो कथा सँग मेल खाँदै पौराणिकताको सजीव अनुभूति गराउँछन्।

तिब्बती विश्वास अनुसार, तीर्थपुरीको माटोलाई शरीरमा दल्दा छालासम्बन्धी रोग निको हुने, र त्यसलाई खाने हो भने शरीर स्वस्थ रहने जनविश्वास पाइन्छ।

तातोपानी स्नान र तीर्थपुरीबाट फर्किने अनुभव


तीर्थपुरीमा एक विशिष्ट आकर्षण रहेको छ—कैलाश पर्वतको प्रतीकात्मक प्रतिकृति, जसको तीनपटक परिक्रमा गरेमा वास्तविक कैलाश परिक्रमा सरहको फल प्राप्त हुने जनविश्वास रहेको छ। साथै, यहाँ रहेको तातोपानीको मूल प्रसिद्ध छ; यो पानीले हातखुट्टा धुँदा विभिन्न रोग निको हुने विश्वासले तीर्थयात्रीहरूको ठूलो भीड लाग्ने गर्छ।

हाम्रो समूहले पनि सो पवित्र तातोपानीको स्नान गर्‍यो, अनि त्यहीबाट दार्चेनतर्फ फर्कियो, किनभने भोलिपल्टको कठिन पदयात्राका लागि तयारी गर्नु थियो। अब हामी सबैको मुख्य लालसा भनेको कैलाश पर्वतलाई अझ नजिकबाट दर्शन गर्ने थियो।

सातौँ दिन: देराफुकबाट डोल्माला पास हुँदै गौरीकुण्ड


सातौँ दिन यात्रा सबैभन्दा कठिन मानिन्छ। बिहान सबेरै समूहका तीन सदस्य—ज्ञानराज पाण्डे, राधा पाण्डे र सुरेन्द्र अर्याल—ले ५,६०० मिटर उचाइको डोल्मा-ला पास पार गरे। दिनभरि हिमाली भूभागको कठोर यात्रा पूरा गरी त्यही साँझ दार्चेनस्थित होटलमा फर्किए, जुन अत्यन्तै उल्लेखनीय उपलब्धि थियो।

अधिकांश यात्रुहरूका लागि यो परिक्रमा दुई दिनमा गरिने हुँदा, अन्य समूहहरू २२ किलोमिटरको पहिलो दिनको यात्रा पछि ४,८५० मिटर उचाइको जुतुलफुक पुगेर बास बस्दथे, अनि भोलिपल्ट बाँकी ९ किलोमिटर यात्रा पूरा गरेर दार्चेन फर्किने योजना हुन्थ्यो।

हाम्रा तीन सदस्यको एकै दिनमा पूर्ण परिक्रमा सम्पन्न भएपछि, हामी सबैले उनीहरूको उत्साहपूर्वक स्वागत गर्‍यौँ र सामूहिक रात्रीभोज गरियो। यो दिनको साहसिक यात्रा वास्तवमै प्रेरणादायी रह्यो।

आठौँ दिन: दार्चेन–सागा–केरुङ (४८० + १७० किमी, १३ घण्टा)


सबैको सल्लाहमा, सागामा नरोकी सीधै केरुङ्गसम्म जान निर्णय गरियो। बिहान ७ बजे होटेलबाट निस्किएर लामो यात्रा सुरु गर्यौँ।

फर्किंदै गर्दा, मानसरोवरको पूर्वी द्वार नजिकैबाट कैलाश पर्वतको पूर्वी मोहडा र मानसरोवरको अन्तिम झलक लिइयो—त्यो दृश्यले हाम्रा मनमा एकपटक फेरि श्रद्धा, सौन्दर्य र वियोगको मिश्रित भावनाहरू ल्यायो।

तिब्बती पठारको लामो यात्रा सुरु भयो। बाटोभरि फाट्टफुट्ट देखिने जंगली घोडा, च्याङ्ग्रा, भेडाका बथान अनि उत्तर र दक्षिणतिर फैलिएका हिमशृंखला हाम्रो साथ थिए।

बिचैमा लन्चका लागि पुलाउ, चाउचाउ, राजमा, केरा र स्याउ खाइयो। सागा नजिकैबाट मानसरोवर पार गर्दै हामी केरुङ्गतर्फ प्रस्थान गर्यौं। करिब १३ घण्टाको यात्रा पछि साँझतिर केरुङ् आइपुग्यौं।

नवौँ दिन: केरुङ भ्रमण र ऐतिहासिक गुम्बा यात्रा


यस दिन हामीले केरुङ बजार वरपरको भ्रमण गर्यौं। विशेषगरी, ऐतिहासिक “गे पुक गुम्बा” पुग्यौँ—जहाँ सम्राट स्रंगचेन गम्पो, नेपालकी राजकुमारी भृकुटी, र गुरु पद्मसम्भवको मुर्ति रहेको छ।

किंवदन्ती अनुसार, सम्राट स्रंगचेन गम्पोले भृकुटीसँग विवाह गरेपछि नेपालका डोला र सिपाहीहरू यही स्थानमा तिब्बतीहरूलाई संस्कार र शिक्षामा मार्गदर्शन गर्न ल्याएका थिए। गुम्बामा ध्यानपछि हामी होटेल फर्कियौँ र लञ्च गर्यौँ।

त्यो दिन मजदुर दिवस परेकोले चिनियाँ पक्षमा सार्वजनिक बिदा रहेको थियो, र सहर शान्त देखिन्थ्यो।

दसौँ दिन: केरुङबाट रसुवागढी – स्याफ्रुबेंसी – काठमाडौँ


दसौँ दिन हाम्रो कैलाश मानसरोवर यात्राको समापन यात्रा थियो। गत वर्षको बाढीले पूर्ण रूपमा क्षति पुर्‍याएको सडक खण्डमा हाल चिनियाँ पक्षले तीव्र पुनर्निर्माणको काम गरिरहेको रहेछ। बिहानको केही समय प्रतीक्षामा बसेपछि, १२ बजे बाटो यातायातका लागि खुला भएपछि हामी केरुङबाट नेपाल फर्कन लाग्यौँ।

करिब २ घण्टापछि हाम्रो बस चिनियाँ नाकामा पुगेर रोकियो। अध्यागमन प्रक्रिया सम्पन्न गरी हामी नेपाली समय अनुसार १ बजे टिमुरे प्रवेश गर्यौँ। २ बजे टिमुरेबाट बसयात्रा सुरु भयो, जसमा स्याफ्रुबेंसी, त्रिशूली, बेत्रावती हुँदै करिब ९ बजे राति काठमाडौँ आइपुग्यौँ। यसरी, हाम्रो १० दिने पवित्र र अविस्मरणीय कैलाश मानसरोवर यात्रा विधिवत् सम्पन्न भयो।

केरुङ सहरको स्मरणीय अनुभव


केरुङ सहरमा होटलमा सामान राखेपछि हामीले थोरै विश्राम गर्यौँ अनि बजार अवलोकनमा निस्क्यौँ। बजारको प्रवेशद्वारमै रहेको “नेपालकी छोरी भृकुटी मन्दिर”, अनि छेउकै खुला स्क्वायर—यी स्थानहरू नेपाल-तिब्बत मैत्रीको ज्वलन्त प्रतीक झैँ लाग्थे।

केरुङ बजारमा नेपालीद्वारा सञ्चालित पसलहरू भेटिए, जहाँ नेपाली रुपैयाँमै कारोबार सम्भव रहेछ। सहरका फराकिला, चिल्ला सडक, व्यवस्थित साइनपोस्ट, र सडकको सफाइले यो सहरलाई युरोपका साना सहरहरूसँग तुलना गर्न सकिने बनाउँथ्यो।

अन्तिम भावनात्मक समापन


कैलाश मानसरोवर यात्रा केवल एक भौगोलिक भ्रमण मात्र होइन—यो आत्मा र विश्वासको तीर्थयात्रा हो। यो यात्राले शिवभाव, सहिष्णुता, संयम र प्रकृतिसँगको समन्वयको सन्देश दिन्छ।

यस यात्राको प्रत्येक पाइला–प्रत्येक दृश्य–प्रत्येक अनुभूति हामीभित्र एक नवीन ऊर्जा, आस्था र सन्तुलन लिएर फर्किएको महसुस भयो।

भोलेनाथको कृपा, समूहको सद्भाव, र गुरु तथा गाइडहरूको मार्गदर्शन बिना यो यात्रा सफल हुन्थेन।
अब हामीसँग छ—स्मृतिमा बस्ने तस्बिरहरू, अनुभूतिमा बस्ने क्षणहरू, र आत्मामा बस्ने कैलाश।

पाण्डे दम्पतिको उत्साह


यो भ्रमणमा कैलाश परिक्रमा गर्ने पाण्डे दम्पतिको उत्साह अविस्मरणीय थियो। ज्ञानराज पाण्डे र राधा पाण्डेको यात्रा प्रति समर्पण र जोश साँचिकै प्रेरणादायक थियो। यात्रा सुरुदेखि अन्त्यसम्म उनीहरूको उत्साह झनै स्पष्ट थियो। स्याङ्जाका युवा सुरेन्द्र अर्याललाई समेत उछिनेर, यो जोडीले परिक्रमा समयभन्दा धेरै अघि पूरा गर्‍यो।

हास्दै, नाच्दै, र यात्राको प्रत्येक पलको आनन्द लिँदै, उनीहरूले एक अद्भुत यात्रा गरेको महसुस गरायो। विशेषगरी, राधा पाण्डेले आफ्नो भक्ति र पवित्र श्रद्धाले हामी सबैलाई प्रभावित पारे। उनि बेलाबेला श्रृया भारतीको भगवानसँगको संवाद र विश्वास भन्दा पनि, चुपचाप मिरा भक्तिको जस्तो भक्ति र समर्पणका साथ यात्रा गर्दै अघि बढिन्। उनको भक्ति र धैर्यको उदाहरण यो यात्रा बन्यो।

अक्सिजनको जोहो


यो यात्रा गर्दा सबैभन्दा महत्वपूर्ण कुरो थियो अक्सिजनको जोहो। प्रारम्भदेखि नै, हामीले उच्च पहाडी इलाकामा यात्रा गर्नु परेको थियो, जहाँ अक्सिजनको मात्रामा परिवर्तन हुँदै जान्छ। यसै कारण, हरेक कदममा अक्सिजनको कमीको सम्भावना हुँदासम्म, प्रयाप्त अक्सिजनको तयारी अनिवार्य थियो।

अक्सिजनको जोहो सुनिश्चित नगरी यात्रा अघि बढाउनु अत्यन्त जोखिमपूर्ण हुनसक्थ्यो। त्यसैले, यो सुनिश्चित गर्नु कि हाम्रासँग सबैको लागि पर्याप्त अक्सिजन छ भन्ने कुरा यात्राको सहजता र सुरक्षा सुनिश्चित गर्ने महत्त्वपूर्ण पक्ष थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?