त्रिवि प्रांगणमा कोरियाली सपना, एनओसीमा रोक लगाउँदा विद्यार्थी तनावमा

त्रिवि प्रांगणमा कोरियाली सपना, एनओसीमा रोक लगाउँदा विद्यार्थी तनावमा
+
-

हातमा पुस्तक अनि छेउमा पानीको बोतल र झोला, यतिबेला यस्तै युवाको भीडले भरिएको हुन्छ त्रिभुवन विश्वविद्यालय(त्रिवि) प्रांगण। गर्मी सुरु भएसँगै दिनमा साविकभन्दा कम देखिए पनि बिहान-साँझ भने विद्यार्थीको बाक्लो उपस्थितिले ढाकिन्छ विश्वविद्यालय परिसर। मुलुकको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिविको चउरमा भरिएका यी विद्यार्थी देख्दा जो-केहीलाई पनि उनीहरू त्रिविका विद्यार्थी हुन् भन्ने लाग्नु स्वाभाविकै हो। तर, वास्तविकता भने अलि पृथक् छ।

चउरभरि छरिएर रहेका यी विद्यार्थीको नजिक पुग्यो भने अधिकांशको हातमा हाङ्‌गोल (कोरियन भाषाको लिपि) पाइन्छ। उसो त त्रिविका विद्यार्थी नभएका होइनन्। तर, संख्या एकदमै न्यून। बरु जापानी भाषा, जर्मन भाषा, लोकसेवा, शिक्षक सेवा आदिको तयारी गरिरहेका विद्यार्थी भेटिन्छन्।

वर्षौंसम्म पढेर आफूले पढ्दा लागेको खर्चसमेत उठाउन नसक्ने अवस्था आएपछि आफूहरूले कोरिया जाने सपना बुनेको बैतडीका प्रभात साउद सुनाउँछन्।  ‘स्नातकसम्म पढें। प्राइभेट कलेज पढेका कारण खर्च पनि ज्यादा थियो। यतिका समय काठमाडौँ बसेर पनि केही नभएपछि कोरियाको तयारीमा जुटें,’ उनी भन्छन्।

साउदले यसअघि पनि भाषा परीक्षा दिएका थिए। तर, भाषा पास गर्न सकेनन्। यसपटक जसरी पनि पास भएर कोरिया पुग्ने ढिटमा छन् उनी। ‘पहिले अलि सजिलो थियो पछिल्लो समय कोरिया जाने विद्यार्थीको चाप ज्यादा भएका कारण प्रतिष्पर्धा पनि ज्यादा छ,’ उनी भन्छन्।

कोरियन भाषाको तयारी गर्दै दैलेखकी १८ वर्षीया रोश्नी देवकोटा।

उनीजस्तै कोरिया जाने सपना बोकेर त्रिवि मैदानमा भेटिएकी छन्, दैलेखकी १८ वर्षीया रोश्नी देवकोटा पनि। भर्खर प्लस टु सक्काएकी उनले गाउँका दाइहरू कोरिया गएर राम्रो पैसा कमाएको थाहा पाएपछि आफू पनि जानुपर्छ लागेर दैलेखको जम्बुकाँधबाट कीर्तिपुरमा आएकी उनी सात महिनादेखि भाषाको तयारी गरिरहेकी छन्। पढ्न शान्त वातावरण अनि खुला ठाउँ भएकाले आफू यहाँ आएर नियमित भाषा तयारी गर्ने गरेको उनी बताउँछिन्।

उनी मात्र होइन, उनका आफ्नै दुई दाइ  राजेश्वर र हेमन्त पनि कोरिया जाने दौडमा छन्। उनै दुई दाजु र केही साथीसँग बिहान-साँझ त्रिविकै चउरमा आएर तयारी गर्ने गरेको उनी बताउँछिन्। ‘सबै कुरा पैसा त हो। यहाँ जे गरे पनि भनेजस्तो कमाइ नै हुँदैन। उता (कोरिया) गएकाहरूले राम्रो कमाइराख्नुभा’छ। त्यसैले हामीले पनि त्यसको तयारी थाल्यौँ,’ कोरिया जाने सपनाको मीठो भाव आँखामा झल्काउँदै उनी सुनाउँछिन्।

महेन्द्रनगरका किरन धामी पनि कोरिया जानका लागि कम्मर कसेर लागेका छन् यतिबेला। १८ वर्षको उमेर ओमन पुगेर ५ वर्ष चार महिला बिताएका उनले त्यहाँ सोचेजस्तो कमाउन सकेनन्। सानै उमेरमा पनि बाध्यता र जिम्मेवारीको भारीले थिचिएका उनी केही कमाएर घर फर्किएसँगै कोरिया जाने धाउन्नमा लागे। तर, आफूले तयारी गरेको लामो समय भइसक्दा पनि इपिएसको परीक्षा नखुल्दा आफ्नो सपना यसै तुहिने हो कि भन्ने भयमा छन् उनी। ‘पाँच महिनामा बढी भयो नखुलाएको। भाडा र अन्य खर्चले गाह्रो भइसक्यो। नहुने हो कि डर पनि लाग्छ,’ उनी भन्छन्।

कोरियन भाषाको तयारी गर्दै महेन्द्रनगरका २६ वर्षीय किरन धामी ।

पछिल्लो समय नेपाली युवाको प्रमुख रोजगारीको गन्तव्य बनेको छ दक्षिण कोरिया। कम लगानी र राम्रो आम्दानीले गर्दा युवाहरू त्यहाँतर्फ लोभिएका हुन्। तर, समयमै परीक्षा नहुने र पास भएका पनि समयमै  जान नपाउँदा आफूहरूलाई मार परेको गुनासो रोश्नी र करन जस्तै कोरिया गएर राम्रो आम्दानी गरी आफ्नो र परिवारको जीवनस्तर उकास्ने सपना सजाएका धेरै नेपाली युवाको छ।

‘२०२५ भित्रै खुलाएर परीक्षाा गराए। अनि समयमै जान पाए हुन्थ्यो,’ कोरियन भाषाको तयारी गर्नका लागि त्रिवि परिसरमा भेटिएका युवाहरूको साँझा आवाज हो, यो।

एनओसीमा रोक लगाउँदा तनावमा विद्यार्थी

कोरिया यतिबेला इपिएसमार्फत रोजगारीका लागि जाने विद्यार्थीका लागि मात्र नभई अध्ययनका लागि जानेहरूका लागि पनि रोजाइको केन्द्र बनेको छ। पढाइसँगै राम्रो तलबमा काम पाउने आशमा विद्यार्थीहरू यतिबेला अन्य मुलुक छाडेर कोरिया जाने तयारीमै जुटेका छन्। तर, सरकारले विद्यार्थी भिसामा जानका लागि विद्यार्थीहरुको वैदेशिक अध्ययन अनुमति सर्टिफिकेट (एनओसी) वितरणमा रोक लगाएपछि उनीहरू तनावमा छन् यतिबेला।

‘अन्य मुलुक भन्दा खर्च पनि कम लाग्छ। अनि उता गएर पनि काम गर्दै पढ्न सकिन्छ भनेर जाने तयारी गरेको एक वर्ष भयो। अब अन्तिम समयमा आएर एनओसी रोकियो। अब के गर्ने सोच्नै सकेकी छैन,’ कोरिया जानका लागि आइल्स र भाषा दुवैको तयारी गरी बसेकी प्युठानकी प्रतिभा खत्री भन्छिन्।

उनीजस्तै विद्यार्थी भिसामा कोरिया जाने सपना बुनेका दाङका सन्तोष गिरीको हालत पनि उस्तै छ। एक वर्ष अघिदेखि कोरिया जाने तयारी गरेका उनी थप तयारीका लागि काठमाडौँ आए। तर, काठमाडौँ आएको केही समयमै अर्थात् वैशाख ३० गते शिक्षा मन्त्रालयले एनओसी वितरणमा रोक लगाएको सूचना आयो। ‘काठमाडौँ आएलगत्तै यो सूचना पाएँ। कति खर्च भइसक्यो खोइ के गर्ने हो अब?,’ भविश्यबारे अलमल पर्दै उनी भन्छन्।

त्रिविमा बाहिरका विद्यार्थी आएर पढ्नेबारे जानकार छन् त्रिविका पदाधिकारीहरू पनि। त्रिवि विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्रा.डा. अक्कलदेव मिश्रले राजनीतिक र अनैतिक क्रियाकलापका लागि आफूहरूले रोक लगाउने तर पढ्ने कुरामा सीमा नहुने बताउँछन्। मुलुकमा बेरोजगारी बढिरहेको बेला राम्रो कमाउने आशमा अन्य मुलुक जानु या जान खोज्नु स्वाभाविक भएको बताउँदै यहीँ क्रम रहे भोलि नेपालमा युवा शक्ति नहुने समस्याको संकेत देखिएकाले राज्यले यसलाई गम्भीर रुपमा लिनुपर्ने उनको जोड छ।

‘विश्वविद्यालयमा संसारभरिका हुन्छन्। कतिपयले पढाइसँगै लोकसेवा गरिरहेका हुनछन्। खालि समयमा विद्यार्थी भाषा पनि पढ्छन्। राजनीतिक र अनैतिक कार्यक्रम गर्न हामीले दिँदैनौँ। तर भाषा सिकेर कोही कमाउन चाहान्छ भने हाम्रो सीमामा पर्ने कुरा भएन। मुलुकनै बेरोजगारीको चपेटामा छ। राम्रो कमाइले लोभ्याउनु स्वभाविक हो,’ उनले थपे, ‘स्वाभाविक हुँदा-हुँदै पनि यहीँ क्रम जारी रहे भोलि नेपालमा युवा शक्ति नहुने समस्याको संकेत देखिन्छ। राज्यले यसलाई गम्भीर रुपमा लिनुपर्ने हो।’

ग्रुपमा साथीहरूसँग पढ्दै विद्यार्थीहरू।

एनओसी नदिने नै भएपनि यसअघि नै यसबारे जानकारी गराएको भए आफ्नो समय र पैसा बच्थ्यो भन्ने गुनासो विद्यार्थीको छ। तर, उता गएर विद्यार्थीले रोजगारीमा बढी प्राथमिकता दिएका कारण अध्ययनमा निरन्तरता नहुने र डिप्रेसनमा जाने समस्या देखिएका कारण हालका लागि एनओसी बन्द गरिएको दाबी मन्त्रालयको छ। ‘पढ्ने समय कम भएका विश्वविद्यालयमा भर्ना हुने, पैसा कमाउने प्राथमिकताका कारण अध्ययनको निरन्तरतामा समस्या आउने, काम पाउने नसक्नेहरुमा मानसिक समस्या तथा डिप्रेसनमा पर्ने, कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयमा समेत विद्यार्थी पउने गरेको समस्स्या देखिएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

शिक्षा मन्त्रालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ६ हजार ८ सय ८९ जनाले दक्षिण कोरियाका लागि एनओसी लिएका थिए। तर यसपालि भने जानलाई रोक लगाइयो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?