भाटभटेनी सफलताका तीन मन्त्र

भाटभटेनी सफलताका तीन मन्त्र
+
-

मलाई अझै सम्झना छ, २०५२ सालको माघमा दाइले मलाई पहिलो पटक नक्सालस्थित भाटभटेनी सुपरमार्केट लैजानुभएको थियो। उहाँले १५०० रुपैयाँको ज्याकेट किन्नुभएको थियो। त्यतिबेला मैले देखेको स्टोर र आजको सुपरमार्केटमा आकाश-जमिनको फरक छ। त्यो बेला मलाई लाग्थ्यो, यो विशेष महल हो र यो आम नेपालीका लागि भन्दा पनि विशेष वर्गलाई लक्षित गरी खोलिएको हो। ३० वर्षपछि भाटभटेनी अधिकांश सहरी नेपालीको पहुँचमा छ।

घरमा चामल सकिएपछि तुरुन्तै किन्न जानुपर्ने अवस्थामा घर नजिकैका धेरै विकल्पहरू—मार्ट, स्टोर, खाद्यान्न भण्डार, सुपथ मूल्य पसल, किराना—उपलब्ध हुँदाहुँदै पनि भाटभटेनी सुपरमार्केटले मोहनीझैँ लगाएको छ। सदस्यता लिएर पाइने छुट र वर्षमा एक पटक पाइने क्यासब्याक उपहारले गर्दा भाटभटेनी हरेक घरपरिवार र समाजको पछिल्लो समयको आकर्षण र वास्तविकता बनेको छ।

भाटभटेनीको परिचय केवल सुपरमार्केटका रूपमा मात्र अपुरो हुन्छ, यो हरेक उमेर वर्ग र पेसाकर्मी गृहिणीहरूको साथी बनिसकेको छ। सानो भेटघाट वा मिटिङका लागि पनि यो उपयुक्त स्थान हो, जहाँ पर्याप्त पार्किङको सुविधा छ र पेपे पिज्जा रेस्टुरेन्ट पनि सँगै छ। स्कुल, कलेजका विद्यार्थीहरूका लागि, नवदाम्पत्य जोडीका लागि, र पहाड, तराई, हिमालका विभिन्न जिल्लाबाट काठमाडौँ घुम्न आउने आमाबुबाहरूका लागि पनि यो एक भरपर्दो गन्तव्य हो। विदेश जान तम्तयार हुनेहरू वा विदेशबाट फर्केकाहरूका लागि पनि भाटभटेनी प्राथमिकतामा पर्ने ठाउँ बनेको छ।

भाटभटेनी घुमफिर, किनमेल, भेटघाट, मुड फ्रेस गर्ने थलो बनेको छ। मेरा आफन्त, साथीभाइ र छिमेकीहरूको अनुभवबाट मलाई व्यक्तिगत रूपमा पनि यस्तै लाग्छ। मैले ११ वर्षकी छोरीलाई पनि सोधेँ, ‘तिमीलाई भाटभटेनी यति धेरै किन मन पर्छ? तिम्रो ठूलो डिमान्ड र अपेक्षा केही छैन र?’

उनको जवाफ थियो, ‘महिनामा एक पटक बाबा-मामु वा हजुरबुबा-हजुरआमासँग ३०-४५ मिनेट विन्डो सपिङ गरेर पेपे पिज्जामा खाजा खान पाउँदा नै आनन्द लाग्छ।’

मेरी छोरीका अनुसार उनलाई भाटभटेनी मन पर्ने कारणहरू बुँदागत रूपमा यस प्रकार छन्:

कर्मचारीहरूको विनम्रता: कर्मचारीहरू अत्यन्तै सहयोगी र विनम्र छन्।

सम्पूर्ण सामग्रीको उपलब्धता: सियोदेखि नुनसम्मका सम्पूर्ण सामानहरू एकै छानामुनि पाइन्छ। धेरै काउन्टरहरू र हरेक सामान सजिलै उपलब्ध हुन्छ।

लकरको व्यवस्था: सामान राख्नका लागि लकरको सुविधा उपलब्ध छ।

पर्याप्त पार्किङ: गाडी पार्किङका लागि पर्याप्त ठाउँ छ।

एस्केलेटर/लिफ्टको सुविधा: वृद्धवृद्धा र अशक्त व्यक्तिहरूका लागि एस्केलेटर र लिफ्टको व्यवस्था छ।

सफा वातावरण र सुविधाजनक किनमेल: वातावरण सफा छ, सामान किन्दा मोलमोलाइको झन्झट छैन। स्वादिष्ट म:म: र आइसक्रिम पनि पाइन्छ।

यात्रा भाटभटेनीको:  कथा मिनबहादुरको 

भाटभटेनीको इतिहास धेरै लामो छैन। सामान्य किसान परिवारमा खोटाङको दुर्गम पहाडी गाउँमा जन्मेका मिनबहादुर गुरुङ पढाइमा अब्बल थिए। उनी दैनिक दुई घण्टा हिँडेर स्कुल जान्थे र घरको काममा पनि सहयोग गर्थे। वि.सं. २०३१ मा ४ सय रुपैयाँ बोकेर उच्च शिक्षाका लागि काठमाडौँ छिरेका उनले नेपाल बैंकमा सहायक स्तरबाट आफ्नो करियर सुरु गरे। तर, उनले बैंकको जागिरलाई निरन्तरता दिएनन्।

श्रीमतीलाई धेरै प्रयास गर्दा पनि काम नपाएपछि मिनबहादुरले काठमाडौँको नक्सालस्थित भाटभटेनी मन्दिरको दक्षिण-पूर्वमा २०४१ जेठ ४ गते रु ३५,००० मा १०/११ फिटको सटर भाडामा लिएर खुद्रा पसल, कोल्ड स्टोर र किराना पसल सुरु गरे। मासिक भाडा रु ७०० थियो र पहिलो दिनको व्यापार रु १३०० भएको थियो। त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन। २०४५ मा आगलागीले क्षति व्यहोर्नुपरे पनि उनी झन् दृढ र परिपक्व भए। उनले ठूलो लगानी र ठूलो कार्यदलसहित आम उपभोग्य सम्पूर्ण सामग्री उपलब्ध गराउने उद्देश्यका साथ डिपार्टमेन्टल स्टोरको अवधारणामा अघि बढे।

सुपरमार्केट व्यवसायका अग्रणी मिनबहादुर गुरुङको यात्रा निरन्तर रूपमा देशभर व्यापार, नाम र प्रतिष्ठाको उदाहरण मात्र होइन, प्रेरणादायी पनि छ। नेपाल बैंकमा कार्यसहायक पदमा जागिर पाए पनि उनी बैंकको जागिरमा मात्रै सीमित भएनन्, उनले अर्थशास्त्रमा एमए पास गरे।

ग्राहकहरूले खुद्रा मूल्यमा आफ्नो आवश्यकता, चाहना र उपलब्धताको आधारमा उपभोग्य सामग्रीहरू एकै स्थान वा एउटै छानामुनिबाट किन्न सक्ने व्यवस्थासहितको डिपार्टमेन्ट स्टोर भाटभटेनी सुपरमार्केट २०५० साल भदौ १ गते विधिवत् उद्घाटन भयो। त्यसयता उनले पछाडि फर्केर हेर्नु परेको छैन, उनले नाम र दाम दुवै कमाएका छन्, सुप्रसिद्ध व्यापारीको रूपमा राष्ट्रिय ख्याति कमाएका छन्।

भाटभटेनीको विस्तार र भविष्यका योजनाहरू

हाल भाटभटेनी डिपार्टमेन्ट स्टोर देशका प्रमुख शहरहरूमा विस्तार भइरहेको छ र आफ्नै भवनमा सञ्चालनमा आइरहेको छ। देशभर यसका शाखाहरू यस प्रकार छन्:

काठमाडौँ उपत्यकाभित्र:

भाटभटेनी (काठमाडौँ), महाराजगन्ज (काठमाडौँ), टोखा (काठमाडौँ), कोटेश्वर (काठमाडौँ), चुचेपाटी (काठमाडौँ), अनामनगर (काठमाडौँ), बालाजु (काठमाडौँ), कलंकी (काठमाडौँ), त्रिपुरेश्वर (काठमाडौँ), कृष्णगल्ली (ललितपुर), सातोबाटो (ललितपुर), साँगागाउँ (ललितपुर), थिमी (भक्तपुर)।

काठमाडौँ उपत्यका बाहिर: पोखरा (कास्की), धरान (सुनसरी), इटहरी (सुनसरी), विराटनगर (मोरङ), जनकपुर (धनुषा), हेटौँडा (मकवानपुर), वीरगन्ज (पर्सा), धनगढी (कैलाली), नेपालगन्ज (बाँके), भरतपुर (चितवन), बुटवल (रुपन्देही), भैरहवा (रुपन्देही), बिर्तामोड (झापा), दमक (झापा)।

यसका साथै, काठमाडौँको बालुवाटारमा भाटभटेनीको गोदाम (Warehouse) पनि रहेको छ।

२०३१ सालमा खोटाङबाट खाली हात काठमाडौँ छिरेका मिनबहादुर गुरुङले अहिले ६००० भन्दा बढी व्यक्तिहरूलाई रोजगारी दिएका छन्। उनी भन्छन्, “यो मानव चोला सित्तिमित्ति पाएको होइन, यो चोलामा आफू बाँचुन्जेल असल काम गरिरहनुपर्छ।” यस्तो भावना उनमा सधैँ आइरहन्छ।

सफलताका लागि भाटभटेनीमा ‘तीन स’ को मन्त्र प्रख्यात छ: सफा, सहज र सस्तो (Clean, Convenient, and Cheap)। सफा ठाउँ, गुणस्तरीय सामान र आम उपभोक्ताले सहजै र सस्तो मूल्यमा खरिद गर्न सकून् भन्ने उनको मूल मन्त्र हो।

उनी भन्छन्, “मेरो सपना भनेकै आगामी दश वर्षभित्रमा ७५ वटै जिल्लाहरूमा भाटभटेनी फैलाउने हो। स्वास्थ्यसम्बन्धी केही सेवाहरू उपलब्ध गराउन सकूँ। कम्तीमा पचास हजार नागरिकहरूलाई प्रत्यक्ष रोजगारी दिन सकूँ। देशलाई सबैभन्दा धेरै कर तिर्ने करदाता बन्न सकूँ।”

आफ्नो योजना अनुसार चल्ने व्यक्ति भएकाले मिनबहादुर गुरुङ भविष्यको लक्ष्य प्राप्तिका लागि नयाँ-नयाँ योजनासहित अगाडि बढिरहेका छन्। उनी भन्छन्, “इमानदारी, कडा परिश्रम र निरन्तरताका साथ योजना अनुसारको कार्ययोजना (एक्शन प्लान) अनुसार प्राथमिकता र आवश्यकता अनुसार काम गर्दै जाने हो भने अवश्य लक्ष्यमा पुगिन्छ भन्ने विश्वास ममा छ।”

सफलताका सात सूत्र

मिनबहादुर गुरुङको सफलताका पछाडि केही महत्त्वपूर्ण सिद्धान्तहरू छन्:

इमानदारी, मेहनत र कडा परिश्रम: चौबीस घण्टामा आवश्यकता अनुसार बाह्रदेखि अठार घण्टासम्म खट्न सक्ने उद्यमशील व्यक्तिले छिट्टै सफलता हात पार्न सक्छन्। मिनबहादुरलाई आफ्नो कामबाट कमै थकान लाग्छ।

आर्थिक अनुशासन: व्यवसायमा आर्थिक अनुशासन कायम राख्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ।

काममा निरन्तरता: धैर्यपूर्वक अविचलित कर्ममा लाग्नु सफलताको अर्को सूत्र हो।

सरल जीवनशैली: लवाइ, खुवाइ, बोलचाल, भाषा शैली, बसाइ, उठाइ र रहनसहनमा सरलता तथा सादगी झल्किन्छ।

सिक्ने उत्सुकता र अभ्यास: निरन्तर सिक्ने र सिकेको कुरालाई व्यवहारमा उतार्ने उत्सुकता।

समय व्यवस्थापन र स्रोतसाधनको अधिकतम उपयोग: समयको उचित सदुपयोग र उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग।

जीवनप्रति सकारात्मक दृष्टिकोण र सहयोगी व्यवहार: जीवनप्रति सकारात्मक धारणा राख्ने र अरूलाई सहयोग गर्ने व्यवहार।

मिनबहादुर गुरुङ सार्थक जीवन जिउनुपर्छ भन्ने मान्यता राख्छन्। उनले भने, “मानिसले जन्म लिएपछि मानवको हित हुने काममा निरन्तर लागिरहनुपर्छ, असल कर्म र सेवाभाव राख्नुपर्छ।” उनले स्वास्थ्य र शिक्षाको क्षेत्रमा ठूलो धनराशी खर्च गरेका छन्। शिक्षण अस्पताल महाराजगन्जमा आकस्मिक सेवा सञ्चालनका लागि भवनसहित सेवा सुविधा प्रदान गरेका छन्। विभिन्न दुर्गम जिल्लाबाट उच्चतम अंक ल्याई चिकित्सा क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरूलाई आफ्नै खर्चमा डाक्टर पढाइरहेका छन्। अहिलेसम्म मिन गुरुङले ६५ जनालाई डाक्टर पढाइसकेको बताउँछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?