के नेपाली शब्दहरूमा ण उच्चरित हुँदैन?

के नेपाली शब्दहरूमा ण उच्चरित हुँदैन?
+
-

विषयप्रवेश
अकारादि स्वर वर्णहरूको र ककारादि व्यञ्जन वर्णहरूको सर्वप्रथम स्पष्ट र व्यवस्थित रूपमा निरूपण संस्कृतका प्राचीनतम शिक्षाग्रन्थ (उच्चारणशास्त्रका/ ध्वनिविज्ञानका ग्रन्थ) प्रातिशाख्यहरूमा गरिएको छ। त्यसपछि शिक्षा भनिने याज्ञवल्क्यशिक्षा इत्यादि ग्रन्थहरूमा पनि यस विषयको विशेष व्याख्या भएको देखिन्छ। पाणिनिका अष्टाध्यायीमा पनि वर्ण र उच्चारणसम्बद्ध विषय आएका छन्। अङ्ग्रेजहरूले पनि संस्कृतका शिक्षाग्रन्थहरूकै अध्ययन गरेपछि आधुनिक कालमा आएर मात्र आफ्ना भाषाको ध्वनिविज्ञानको विकास गर्न सकेको कुरा उनीहरूले नै बताएका छन्। नेपाली भाषा त संस्कृतबाटै विकसित भएकाले नेपाली संस्कृतबाट अत्यधिक रूपमा अनुप्राणित र प्रभावित हुनु स्वाभाविक नै हो। तथापि कालक्रमले यस भाषामा कस्ताकस्ता भिन्नता आए र वर्तमान कालमा नेपालीमा कुन-कुन वर्ण कुन-कुन रूपमा उच्चरित भइरहेका छन् भन्ने कुरा भने विवेचनीय देखिन्छ। तथापि संस्कृत भाषाको ज्ञान नहुनाले र उच्चारण भैरहेका ध्वनिहरूको पनि यथार्थ रूपमा पहिचान गर्न नसक्नाले अधिकांश आधुनिक भाषाशास्त्रीहरू यस विषयमा अलमलिने र विवेक गर्न नसक्ने स्थितिमा पुगेका देखिन्छन्। फलस्वरूप उनीहरूका ग्रन्थमा वर्णविवेचनामा धेरै भद्दा त्रुटि पनि पाइन्छन्।

यसै पृष्ठभूमिमा गत वर्ष वर्णमालाबाट हटाइएका दीर्घ ई र ऊ नेपालीमा उच्चरित हुँदैनन्? (२०८०।७।२) भन्ने शीर्षकको लेख प्रकाशित गरिएको थियो। त्यस लेखबाट नेपाली भाषामा स्वाभाविक रूपमा उच्चरित भैरहेका (प्लुतसमेतका) दीर्घ ई र ऊ वर्णहरूलाई पनि नेपालीमा उच्चरित हुँदैनन् भनेर अयथार्थ कुरा प्रचार गरिएकामा र नेपालीका शिक्षक तथा विद्यार्थीहरूलाई भ्रममा पारेर उच्चार्य वर्णमालाबाट दीर्घ ई र दीर्घ ऊ पाठ्यपुस्तकैबाट हटाउने काम सरकारी तहबाट नै गरिएकामा तटस्थ र स्वतन्त्र व्यक्तिहरूको ध्यान आकृष्ट गरिएको थियो।

साथै ‘नेपालीमा ञ उच्चरित हुँदैन, ञ लेखिए पनि वास्तवमा त्यहाँ उच्चरित हुने भनेको न हो, त्यसैले नेपालीमा ञ चाहिँदैनʼ भनेर उच्चार्य वर्णमालाबाट ञ हटाउने काम पनि सरकारी तहबाट नै गरिएको छ। यो काम ठिकै होला भनेर ठान्ने व्यक्तिहरू पनि हिजोआज धेरै नै देखिन्छन्। तिनले संस्कृतमा पनि पञ्च इत्यादिमा ञ् लेखिएको मात्र हो, वास्तवमा न्-भन्दा छुट्टै ञ् संस्कृतमा पनि उच्चरित हुँदैन भन्ने ठानेको बुझिन्छ। यो अध्ययनको न्यूनताको परिणाम हो। यसमा सत्यता छैन। दन्त्य वर्ण न-का श्रुतिमा तथा तालव्य वर्ण ञ-का श्रुतिमा सूक्ष्म तर स्पष्ट भेद छ भन्ने कुरा संस्कृतको शिक्षाशास्त्र र व्याकरणको तलस्पर्शी (निक्कै गहिरो) अध्ययन गरेका व्यक्तिलाई बुझ्न गारो छैन।

ञकारको स्वरूप र नेपालीमा त्यसको अस्तित्वका विषयमा २०८१।८।१ मितिमा र २०८१।८।१५ मितिमा वर्णमालाबाट ञ किन हटाउन परेको हो? (१) भन्ने र वर्णमालाबाट ञ हटाउन हुँदैन (२) भन्ने शीर्षकका दुई लेख यसै पत्रिकामा प्रकाशित गरिएका थिए। अहिले यस लेखमा णकारका विषयमा विवेचना गर्न खोजिएको छ।

टवर्गको पञ्चम वर्ण णकारको विवेचना
टवर्गको पञ्चम वर्ण णकारका विषयमा विचार गर्दा कहिलेकहिले कसकसले यस विषयमा केके लेखेका रहेछन् भनेर खोजबिन गर्नु पनि आवश्यक हुन्छ। संस्कृतकै परम्परालाई मानेर नेपाली मातृभाषाभाषीहरूको वर्तमान कालको उच्चारणको विवेचना नगरीकनै लेख्नेहरूले त नेपाली भाषामा पनि ञ ण इत्यादि वर्णहरूको अस्तित्वलाई निर्विवाद रूपमा स्वीकार गरेकै छन्। तर त्यस कुराले नेपाली भाषाभाषीका उच्चारणमा ञ ण इत्यादि वर्ण भए-नभएको विषय बुझ्न सहायता पुग्दैन। तसर्थ यहाँ तिनलाई छाडेर अरूहरूको मतको मात्र उल्लेख गर्न खोजिएको छ।

सन् १९३१ मा (वि.सं. १९८८मा) प्रकाशित “अ कम्प्यारटिव् याण्ड् एटिमोलोजिकल् डिक्शन्रि अव् द नेपालि ल्याङ्ग्विज्” भन्ने शब्दकोशमा राल्फ् लिलि टर्नरले णकार केवल संस्कृतबाट सापट लिएका शब्दमा मात्र पाइन्छ भनेको देखिन्छ (पुनर्मुद्रित संस्करण १९८०, पृ. २६९)। त्यहाँ अनुनासिक स्वरपछि आउने डकारका ठाममा परम्पराप्राप्त नेपाली शब्दमा समेत कहिलेकाहीँ णकार लेखिन्छ पनि भनिएको छ।

दयानन्द श्रीवास्तवले “नेपालि ल्याङ्ग्विज् इट्स् हिष्ट्रि याण्ड् डिवेलप्मण्ट्” भन्ने पुस्तकमा नेपाली वर्णमालामा णकारलाई समाविष्ट गरेको देखिँदैन (सन् १९६२, पृ. ३)।

चूडामणि बन्धुका “नेपाली भाषाको उत्पत्ति” भन्ने ग्रन्थमा पनि (२०२५, पृ.१०८) टर्नरकै हो कि दयानन्द श्रीवास्तवको हो कसको हो अनुसरण गरेर “ङ ञ ण न म यी अनुनासिक व्यंजनहरूमा ञ र ण को उच्चारण (कथ्य) नेपालीमा हुँदैन। लेख्दा यी वर्णहरूको प्रयोग हुन्छ। … ण को उच्चारण डँ का रूपमा कहीं कहीं गरिन्छ र तत्सम शब्दहरूका साथ उच्चारित हुन्छन्” भनिएको छ। यस ग्रन्थका पछिल्ला संस्करणहरूमा पनि यही कुरा लेखिएको छ (चतुर्थ संस्करण २०४७, पृ. ७९, ८०)।

बालकृष्ण पोखरेल र वल्लभमणि दाहालका “ध्वनिप्रक्रिया र केही ध्वनिसिद्धान्त” भन्ने ग्रन्थमा चाहिँ (२०२७, पृ.२५) तालुदन्तमूलीय व्यञ्जनहरूमा नेपाली भाषाको णकारको समावेश गरिएको छ। त्यहाँ संस्कृत व्यञ्जनहरूका तालिकामा (पृ.३२) मात्र हैन, नेपाली व्यञ्जनहरूका तालिकामा पनि (पृ.३१) णकार समाविष्ट गरिएको छ। यसरी यहाँ टर्नर, दयानन्द र चूडामणिका प्रतिपादनलाई मान्यता नदिएर नेपालीमा पनि ण व्यञ्जनको अस्तित्व आधुनिक भाषाशास्त्रीहरूले स्वीकार गरेको स्पष्ट रूपमा देख्न सकिन्छ।

हाम्रा पिताजी शिवराज आचार्य कौण्डिन्न्यायनको (१९९७–२०७४) “नेपाली वर्णोच्चारणशिक्षा” भन्ने ग्रन्थमा (साझा प्रकाशन २०३१) संस्कृतका र नेपालीका धेरै वर्णहरूको यथार्थ रूपमा विवेचनात्मक ढङ्गले निरूपण गरिएको छ। यस ग्रन्थमा शिक्षाशास्त्रीय (ध्वनिविज्ञानका) नयाँ कुरा प्रशस्त आएका छन्। यहाँ टिप्पणीमा (पृ.१२१–१२२) डँमा व्यञ्जन नै अनुनासिक मानिएको हो भने त्यो व्यञ्जन ण नै हो, अनुनासिक डकार हैन भन्ने निष्कर्ष दिइएको छ। टङ्कप्रसाद न्यौपाने र गोविन्दराज भट्टराईका “नेपाली ध्वनिशास्त्र”मा पनि नेपालीमा णकारको अस्तित्व मानेर यही नै कुरा उक्त ग्रन्थको उल्लेख नगरीकन सकारिएको छ (प्र.सं. २०३९, द्वि.सं. २०६२, पृ. ११, ५८)।

नेपालीमा ञ उच्चरित हुँदैन, ञ लेखिए पनि वास्तवमा त्यहाँ उच्चरित हुने भनेको न हो, त्यसैले नेपालीमा ञ चाहिँदैनʼ भनेर उच्चार्य वर्णमालाबाट ञ हटाउने काम पनि सरकारी तहबाट नै गरिएको छ। यो काम ठिकै होला भनेर ठान्ने व्यक्तिहरू पनि हिजोआज धेरै नै देखिन्छन्। तिनले संस्कृतमा पनि पञ्च इत्यादिमा ञ् लेखिएको मात्र हो, वास्तवमा न्-भन्दा छुट्टै ञ् संस्कृतमा पनि उच्चरित हुँदैन भन्ने ठानेको बुझिन्छ। यो अध्ययनको न्यूनताको परिणाम हो।

माधवप्रसाद पोखरेलका “ध्वनिविज्ञान र नेपाली भाषाको ध्वनिपरिचय” (२०५७) भन्ने ग्रन्थमा कतै कोष्ठभित्र राखेर कतै कोष्ठभित्र नराखीकन साधारण रूपमा नै (पृ. १२७, १२८, १२९, १३१) णकार नेपाली व्यञ्जनमा समाविष्ट गरिएको छ, कतै भने (पृ.१३३) समाविष्ट गरिएको छैन। यस विषयमा उनको दोधारे कुरा रहेको देखिन्छ। पछिपछि चाहिँ उनी नेपालीमा ण उच्चरित हुँदैहुँदैन भन्नतिरै लागेको देखिन्छ (“हाम्रो वर्णमालामा नेपाली वर्ण चाहिँ कुन कुन हुन्?” मधुपर्क मासिक, २०६४ वैशाख, रातो पाटी अनलाइन पत्रिका, २०७६, पुस, ५ गते)। उक्त लेखमा नेपाली भाषामा ‘ऐ औ ञ ण श ष’ यी वर्ण पनि छैनन् भनिएको छ। त्यहाँ उनी लेख्छन् “तथाकथित नेपाली वर्णमालाका ञ, ण, श, ष नेपाली भाषाका वर्ण भनेर प्रमाणित गर्न सकिँदैन।” उनले सम्पादन गरेको “जगदम्बा नेपाली साहित्यको बृहद् इतिहास”को भाषासम्बद्घ पहिलो ठेलीमा (२०७४, पृ.२७८) संस्कृत शब्द षट्कोणलाई अशुद्घ रूपमा देखाएर (षटकोण लेखेर) त्यसको उच्चारण सटकोन हुन्छ भनेर लेखिएको छ। ञ-जस्तै ण पनि नेपालीले उच्चारण गर्दैनन् भन्ने भ्रमात्मक ज्ञान आफू पनि लिने र त्यसैको प्रचार सर्वसाधारणमा र विद्यार्थीमा पनि गर्ने काम यहाँ गरिएको देखिन्छ। नेपालीले सट्कोण् भन्न त सजिलै सक्छन् र धेरैजसोले भनिरहेकै पनि छन्। राम्ररी संस्कृत पढेकाले त नेपाली बोल्दा षट्कोण् नै पनि भन्न सक्छन्। तथापि दुराग्रह र अल्पज्ञानको संयुक्त परिणतिले उक्त प्रकारको निर्णयमा पुगिँदो रहेछ।

प्रज्ञा प्रतिष्ठानबाटै पहिला प्रकाशित “बृहद् नेपाली-व्याकरण”मा (रोहिणीप्रसाद भट्टराई, २०३३, पृ. १९) नेपाली वर्णमालामा ण देखाइएको थियो भने पछि प्रकाशित “प्रज्ञा नेपाली सन्दर्भ व्याकरण”मा (मोहनराज शर्मा, २०७१, पृ. ५०–५७) चाहिँ विना विशेष विवेचना ण हटाइएको छ।

“वैदिक धर्म मूल रूपमा” भन्ने ग्रन्थमा पनि अरूहरूको प्रतिपादनको खण्डन गरेर यस विषयको निष्कर्ष हाम्रा पिताजीले यसप्रकार दिनुभएको छ– “नेपालिमा अण्डा, अण्डि, खण्ड, खोरण्डो, गाण्टो, गुण्टा, गुण्डा, घण्ट, चिण्डो, जण्डो, झण्डा, टण्टा, ठण्डा, डण्डा, बण्डाचुण्डा, भकुण्डो, भण्डाफोर, भेण्टा, मुण्टा, लण्ठा, हण्डा इत्यादि रूपमा मात्र हैन कँणेल, काँणो, खाँणो, टाँण्, ठाँणो, डँणाल्नो, फाँण्नु, बाँण्नु, भाँण्नु, गुँण् इत्यादि रूपमा पनि आधुनिक नेपालि भाषाका उच्चारणमा नकारभन्दा र डँभन्दा पनि भिन्न नै णकार पाइन्छ। मुख्य नेपालिभाषाभाषिहरू रामायन् पनि हैन रामायड्ँ पनि हैन रामायण् नै उच्चारण गर्चन्। डँको र णको उच्चारणमा र श्रवणमा स्पष्ट भेद छ” (वैदिक धर्म मूल रूपमा, शिवराज आचार्य कौण्डिन्न्यायन, स्वाध्यायशाला, २०८०, पृ. ६४)।
अन्य शब्दकोशमा नभए पनि हर्षनाथ भट्टराईको “राष्ट्रीय नेपाली शब्दकोश”मा (२०६३) पढ्दा पुस्तक राख्ने उपकरणको वाचक भनेर णकारबाट सुरु हुने “णतो” शब्द पनि दिइएको छ। आधुनिक नेपाली भाषाका लेखाइमा र बोलाइमा आइसकेपछि अणु, अणुबम, उत्तरायण, कण, कृष्ण, गण, गणेश, दण्डपाणि, नारायण, पारायण, पण, प्रण, फणा, बाण, मणि, रणसङ्ग्राम, रामायण, वाणी, हरिण इत्यादि पनि नेपाली भाषाकै शब्द मानिन पर्ने हुँदा आधुनिक नेपाली भाषामा टवर्गको पञ्चम वर्ण णकार छैन भन्नु यथार्थ कुरा हैन; णवर्ण राम्ररी नचिन्नु हो भन्ने कुरा स्पष्ट हुन्छ। नेपाली भाषाका उच्चारणमा नभन्दा र डँभन्दा पनि भिन्न नै ण हुँदाहुँदै संस्कृतबाट आएका तत्सम शब्दमा मात्र ण पाइन्छ, ठेट नेपालीमा ण पाइँदैन, णको उच्चारण हुँदैन, त्यसैले उच्चार्य वर्णमालामा ण आवश्यक छैन इत्यादि कुरा पाठ्यपुस्तकमा समेत उल्लेख गरिनु अत्यन्त अशुद्ध, अनुचित र आपत्तिजनक कार्यसमेत हो। अङ्ग्रेजीमा इञ्च्, बेञ्च् इत्यादिमा पनि “ञ” ध्वनि र फण्ट्, फण्ड् इत्यादिमा पनि “ण” ध्वनि नमानिएर अङ्ग्रेजीमा “न” ध्वनि मात्रै छ भन्ने मानिएको देखेर त्यसैको अन्धानुकरण गर्दाको परिणाम पनि यो हुन सक्छ। अतः संस्कृतमा मात्र हैन प्राकृतमा, भारतीय विभिन्न भाषामा (आर्यभाषाहरूमा) र नेपाली भाषामा समेत स्पष्ट रूपमै ण उच्चरित हुने देखिएकाले णको अस्तित्व स्वीकार्नु नै वस्तुस्थितिको अनुकूल कुरा हो भन्ने स्पष्ट हुन्छ।

उपसंहार
नेपाली बोलिचालीमा ण उच्चारणमा छैन भनेर सानै कक्षादेखि सिकाउने काम गरी नेपाली विषयमा स्नातकोत्तर वा विद्यावारिधि तह उत्तीर्ण गरेका समेत नयाँ पुस्ताका सबै नै शिक्षित व्यक्तिलाई अविवेकी र मूढ बनाउन खोजिएको छ। यो काम हाम्रा परम्पराबाट र ज्ञानबाट नवीन पुस्तालाई परपर लैजाने षड्यन्त्रकै एउटा कडीका रूपमा भएको प्रज्ञापराध हो भन्न सकिन्छ। तसर्थ नेपालीका स्वतन्त्र र विवेकी शिक्षक-प्राध्यापकहरूले विद्यार्थीलाई यथार्थ कुरा पनि बताइदिने गर्नुपर्छ, अशुद्ध र मिथ्या कुरा मात्र पढाएर बस्न हुँदैन।

संस्कृत पढेका कतिपय व्यक्तिले समेत विनाविवेक नेपालीमा मात्र हैन, संस्कृतमा समेत घण्टा, कण्ठ, दण्ड, ढुण्ढिराज इत्यादिमा ण् लेखिएको मात्र हो, वास्तवमा न्-भन्दा छुट्टै ण् संस्कृतमा पनि उच्चरित हुँदैन भन्ने ठानेको हो कि जस्तो बुझिन्छ। उनीहरू घमण्ड शब्द नेपाली भएकाले त्यहाँ ण् उच्चरित हुँदैन, त्यसैले घमन्डमा न् लेख्नुपर्छ, तर घमण्ड शब्दकै सुरूको घ हटाएपछि बाँकी रहने मण्ड शब्दचाहिँ संस्कृतशब्द भएकाले त्यहाँ ण् लेख्नुपर्छ भन्ने कुराको समर्थन गर्न पनि हिच्किचाउँदैनन्। यी दुई शब्दमा आउने मण्डको उच्चारण नेपालीहरूको जिब्रोले त फरक गर्दैन। मन् यति उच्चारण गरेर एक छिन रोकिएर ड-को उच्चारण गरे मात्र यहाँ न् उच्चरित हुन सक्छ, अन्यथा स्वतः ण् नै उच्चरित हुन पुग्छ, विशेष प्रयास गरिरहनुपर्दैन। तथापि उक्त प्रकारको अविवेकपूर्ण व्याख्या गरिएको देखिन्छ। यस्तो कमजोरी संस्कृत व्याकरणको औपचारिक शिक्षा पाए पनि संस्कृत व्याकरणकै पनि र शिक्षाशास्त्रको (उच्चारणशास्त्रको) समूल अध्ययनको अभाव भएका व्यक्तिमा पाइन्छ। उक्त व्याख्यामा यथार्थता कत्ति पनि छैन। दन्त्य वर्ण न तथा मूर्धन्य वर्ण ण-का श्रुतिमा भेद स्पष्ट नै छ भन्ने कुरा संस्कृतको व्याकरण र शिक्षाशास्त्रको अध्ययनबाट तथा आफ्नै विवेकपूर्ण निरीक्षणबाट पनि ठहर्याउन सकिन्छ।

त्यसैले संस्कृत तथा नेपाली भाषा-व्याकरणका विशिष्ट विद्वान् हाम्रा पिताजी शिवराज आचार्यले लेख्नुभएको “नेपाली वर्णोच्चारणशिक्षा” (२०३१) ध्वनिविज्ञान र भाषाविज्ञानमा गम्भीर रुचि हुने नेपालीका शिक्षक तथा प्राध्यापकहरूले पढ्न आवश्यक देखिन्छ। यसबाट संस्कृतका वर्णहरू र नेपालीका वर्णहरू कसरी उच्चरित हुन्छन् र भइरहेका छन् भन्ने कुरा उनीहरूले विवेचनासहित सप्रमाण जान्न सक्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?