
मुम्बई – पूर्व राजा ज्ञानेन्द्र शाहले मुम्बईमा श्री शिवशक्ति शाहुलेश्वरानंद फाउन्डेशनद्धारा आयोजित लक्षचण्डीमा सामेल भएका छन् ।
लक्षचण्डीमा सहभागी हुन पूर्व राजा ज्ञानेन्द्र शाह पत्नी कोमलसहित मुम्बई पुगेका छन् । पूर्व राजा शाह यज्ञको पाँचौँ दिन आइतबार सहभागिता जनाएका हुन् । उनलाई राहुलेश्वरानंदसहितले यज्ञमा स्वागत गरेका थिए ।
शारदीय नवरात्रका अवसरमा असोज २४ गतेदेखि आयोजित उक्त यज्ञ कात्तिक १ मा समापन हुनेछ । श्री शिवशक्ति राहुलेश्वरानंद फाउन्डेशन तथा त्यसका प्रमुखको निमन्त्रणमा पूर्व राजा, पूर्व रानी, पूर्व युवराज्ञी हिमानी र उनका छोरा हृदयेन्द्र उक्त यज्ञमा सहभागी हुन मुम्बई पुगेको हुन् ।
हिमालयस्थित अनेकौँ ऋषिगण, खासगरी स्वामी त्रिजटा, महावतार बाबा र निखिलेश्वरानंदद्धारा दीक्षित राहुलेश्वरानंद नेपालको आध्यात्मिक उत्थानमा सक्रिय रही आएका छन् र नेपालमा तपस्या नगरी सिध्दी प्राप्त नहुने मान्यता राख्छन् ।
शारदीय लक्षचण्डीमा नेपालको पूर्व राजपरिवारसँगै करिब एक लाख भारतीय श्रद्धालुले भाग लिने बताइएको छ । त्यस्तै शिवसेना नेपालबाट एक हजार भन्दा बढी स्वामी राहुलेश्वरानंदका शिष्यहरु पनि यज्ञमा सहभागी हुन लागेको त्यसका प्रमुख अनिल बाबाले देश सञ्चारलाई बताए ।