
- नेकपा एमाले, कांग्रेस र जनमत पार्टीको समर्थनमा मधेस प्रदेशमा नयाँ सरकारको लागि दोस्रो दावी पेश गरियो।
- जनमत पार्टी सहित ६ दलले ५७ जना प्रदेशसभा सदस्यको समर्थनमा सरकार गठनको दावी पहिले नै पेश गरिसकेको थियो।
- जनमत पार्टीका नेता महेशप्रसाद यादवले एमाले–कांग्रेसको पत्र गलत रहेको र आफ्नो दल सोनलको पक्षमा रहेको बताए।
जनकपुरधाम – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमाले, नेपाली कांग्रेस र जनमत पार्टीको समर्थनमा नयाँ सरकार गठनका लागि दोस्रो दावी परेको छ। प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव सत्रुधन यादवले एमाले, कांग्रेस र जनमत पार्टीको संसदीय दलको नेताको हस्ताक्षर सहित कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्न गरिएको दावी पेश भएको बताए। एमालेका २३, कांग्रेसका २२ र जनमतका १३ प्रदेशसभा सदस्यको समर्थन रहेको भन्दै दावी पेश गरिएको हो।
आज बिहान मात्र लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेशसभा सदस्य जितेन्द्र प्रसाद सोनार ९सोनल० को नेतृत्वमा सरकार गठनका लागि जनमत पार्टी सहित ६ दलले ५७ जना प्रदेशसभा सदस्यको समर्थन रहेको भन्दै दावी पेश गरिएको थियो। बिहान पेश गरिएको दावीमा जनता समाजवादी पार्टी, नेपाल, लोसपा, जनमत, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा नयाँ सरकार गठनका लागि दावी पेश गरिएको थियो।
यसअघि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सरकार गठनका लागि आह्वान नगरेको अवस्थामा असोज २२ गते एमाले, कांग्रेस र जनमतले दावी पेश गरेको थियो। यद्यपी उक्त प्रस्ताव दर्ता भएको थिएन्। तर मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान हुँदा जनमत एमाले–कांग्रेससँग बाहिरिएर ती दल बाहेकका दलसँग मिलेर नयाँ सरकार गठनका लागि आज देवी पेश गरेका थिए।
यता जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले एमाले–कांग्रेसले पेश गरेको पत्र गलत भएको प्रतिक्रिया दिएका छन्। उनले आफ्नो दल अहिलेपनि सोनलको पक्षमा रहेको बताए। मधेस प्रदेशसभामा १०७ सदस्य रहेकोमा हाल २ जना निलम्बनमा परेपछि १०५ जना छन।