- हिमपात र चिसोका कारण लिमी गाउँमा चौरी गाईसहित अन्य पशुवस्तु फर्काइएका छन्।
- चौरी गाई गाउँमा फर्किएपछि स्थानीयहरूले अन्नबाली भित्र्याएर गाईलाई जग्गामा छोड्न थालेका छन्।
- गोठालाहरूले चौरी गाईसँगै घ्यू, छुर्पी, र अन्य दुग्धजन्य उत्पादन पनि गाउँमा ल्याएका छन्।
हुम्ला- उच्च पाटनमा ६ महिनासम्म पालनका लागि लगिएका चौरी गाई नाम्खा गाउँपालिका– ६, हिमालपारिको गाउँ लिमीका बस्तीमा फर्काइएका छन्। उच्च पाटन क्षेत्रमा हिमपात भएर चिसो बढेपछि चौरी गाईलाई गाउँमा ल्याइएको हो।
गत वैशाख अन्तिम साता लिमीका बस्तीबाट तुम्लिङ र ताक्ची हुँदै लाप्चा क्षेत्रमा सारिएका चौरी गाईहरूलाई अहिले बस्तीमा फिर्ता ल्याइएको लिमीको हल्जी गाउँका स्थानीय कोनुर्वु तामाङले जानकारी दिए।
लाप्चा क्षेत्रको पाटनमा हिमपातपछि चरन क्षेत्रमा हिउँ जमेकाले चिसो बढेपछि चौरी गाईसहित अन्य पशुवस्तुलाई पनि बस्तीमै ल्याउनुपरेको हो।
चौरी गाईसँगै गोठालाहरू पनि ६ महिनापछि घर फर्केका छन्। लिमीका वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार अन्नबाली भित्र्याइसकेपछि चौरी गाईलाई ‘उदाउनी खान’ (खेतबारीमा छोड्न) का लागि पनि जग्गामा छोडिएको छ। चौरी गाई र अन्य पशुवस्तु गाउँमा आइपुगेपछि गाउँमा रमाइलो हुन थालेको उनको भनाइ छ।
लिमीका तीन गाउँमध्ये तील र हल्जीमा चौरी गाई ल्याइएको छ। जाङ गाउँका तीन घरधुरीका बासिन्दा एक हप्ताभित्र काठमाडौं फर्किने भएकाले उनीहरूले आफ्ना चौरी गाई हल्जी गाउँका आफन्तको जिम्मा लगाएका छन्।
गोठालाहरूले चौरी गाईसँगै घ्यू, छुर्पी, नौनी, थुत (दहीबाट बन्ने परिकार) र चीजजस्ता दुग्धजन्य उत्पादन पनि ल्याएका छन्। अहिले लिमीमा चौरी गाईको घ्यू र छुर्पी बिक्री हुन थालेको छ।
बस्तीमा आइपुगेका चौरी गाईलाई अब हिउँदभर गाउँमै राखिनेछ र आगामी वैशाख अन्तिम साता फेरि पालनका लागि उच्च पाटनतर्फ लगिनेछ। लिमीमा हाल डेढ सयभन्दा बढी चौरी गाई पालन हुँदै आएका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































