
अ
+
अ
अ
-
मुसिकोट – रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा बुधबारदेखि पुनः उडान सेवा सुरु भएको छ । गएको १७ महिनादेखि अवरुद्ध रहेको उडान बुधबार बिहानदेखि सुरु भएको चौरजहारी विमानस्थलका स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताए ।
बुधबार बिहान काठमाडौँबाट चौरजहारीका लागि नेपाल वायु सेवा निगमको जहाजले पुगेको हो । बुधबार काठमाडौँ–चौरजहारी–नेपालगञ्ज तथा बिहीबार नेपालगञ्ज–चौरजहारी–काठमाडौँ उडान भर्ने गरी हवाई सेवा सुरु भएको हो ।
लामो समयदेखि रोकिएको चौरजहारी विमानस्थल पुनः सञ्चालनमा आएपछि रुकुम पश्चिमलगायत छिमेकी जिल्ला जाजरकोट, सल्यान र डोल्पाका नागरिकलाई सहज भएको छ ।
यसअघि नेपाल वायुसेवा निगमसँग पर्याप्त जहाज र पाइलट नभएको भन्दै चौरजहारी विमानस्थलको हवाई सेवा गएको वर्षको जेठ अन्तिम सातादेखि बन्द भएको थियो ।