
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगातार खोली लाग्ने क्रम नरोकिएपछि अस्पताल भर्ना गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रधानमन्त्री ओली केही दिनदेखि बिरामी थिए र उनलाई त्यो बेलादेखि नै लगातार खोकी लागेको थियो ।
खोकी नरोकिएपछि र स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार बिहानै ३ बजेतिर त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको उपचारमा संलग्न डाक्टरले जानकारी दिएका हुन् ।
उनलाई अहिले त्रिविको भिआइपी आइसियुमा राखेर उपचार गरिएको छ । उपचारमा मुटु, मृगौला, नाक–कान–घाँटी, एनेस्थेसियासहितका विशेषज्ञ डाक्टर संलग्न भएकमा छन् ।
उपचारमा चिकित्सक अरुण सायमी, दिलीप शर्मा, सन्तकुमार दास, शिक्षण अस्पतालका आइसियु इन्चार्ज चिकित्सक सुवास आचार्य, प्रकाश काफ्लेसहित सामेल भएका छन् ।
प्रधानमन्त्री ओलीलाई सोमबार अस्पतालमै राखिने भएको छ । प्रेस सल्लाहकार कुन्दन अर्यालले दिएको जानकारी अनुसार डाक्टरले २४ घण्टाको निगरानी गर्नु पर्ने भएकाले प्रधानमन्त्री ओली सोमबार अस्पतालमै हुने छन् ।
डाक्टरहरुले ओलीको लिक्वीड प्रोफाइल जाँच गरिरहेका छन् । प्रधानमन्त्री ओलीको छातीमा संक्रम देखिएको डा. अरुण सायमीले देश सञ्चारलाई बताएका छन् ।
प्रधानमन्त्री ओलीलाई केही दिनदेखि सन्चो भएको छैन । उनी अस्वस्थताकै कारण पार्टीले शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा पनि सहभागी हुन सकेका थिएनन् ।
आइतबार उनका निजी सचिवालयले मौसमी रुघाखोकी रहेको भन्दै स्वास्थ्यमा त्यस्तो गम्भीर चिन्ता गर्नु पर्ने नरहेको बताएको थियो । तर राति स्वास्थ्य अवस्थामा खराबी देखिएपछि ओलीलाई शिक्षण अस्पताल लगिएको हो ।