काठमाडौँ – विश्वका हरेजजसो प्रसिद्ध लेखकहरु कुनै खास स्थानमा बसेर लेख्छन्। कोही बार्दलीबाट टहलिँदा–टहलिँदा लेख्न बस्ने गरेका चर्चा गर्छन्, कोही चाहिँ घरको छतमा बसेर आकाशतिर हेर्दा–हेर्दै मनका बह पोख्न थाल्छन्। हरेकका आ–आफ्नै शैली छन् लेखनका।
नेपाली साहित्य जगतका महाकवि लक्ष्मीप्रसाद देवकोटाको पनि साहित्यलेखनको आफ्नै शैली थियो। जानकारहरुका अनुसार देवकोटा घरको माथिल्लो तल्लास्थित झ्यालमा बसेर लेखन प्रारम्भ गर्थे। घरको दक्षिणतर्फ रहेको सायद झ्यालबाट दृश्यावलोक गर्दै देवकोटा लेख्थे।

महाकवि देवकोटाको घर। तस्बिरः बर्षा शाह/देश सञ्चार
यस्तो छ देवकोटाको घर
महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौँको डिल्लीबजारस्थित घर अहिले बुढो भइसकेको छ। अगाडि पक्कीघर छ।
घरको पछाडि जाँदै गर्दा गल्लीबाटै महाकवि देवकोटाको फोटो झुण्डिएको देखिन्छ। त्यो फोटोमा उनी मन्ध मुस्कानका साथ देखिन्छन्। लाग्छ आगन्तुकलाई स्वागत गर्न उनी तम्तयार छन्।
देवकोटा जन्मेको घरको रंग पहेँलो छ। पक्की घरको पछाडि एक सय वर्षभन्दा पूरानो एउटा घर छ। जहाँ महाकवि देवकोटाको जन्म भएको थियो।
र, उनले त्यही आफ्नो बाल्यवस्था र युवावय बिताए। आफ्ना कृतिहरुको लेखन पनि त्यही गरेका देवकोटा घर डिल्लीबजारको ओरालोबाट अघि बढेपछि सानो गल्ली छिचोल्दै उनको त्यो घरका पुगिन्छ।
देवकोटाका कृति नपढ्ने र उनका अनेक किस्सा नसुन्न सायदै होलान्। घरभित्र छिर्न बित्तिकै भर्याङ छ। अनि एक कुनामा पूरानो ढिकी पनि छ। त्यही भर्याङमा हिँडेका थिए देवकोटा।
घरमा रहेका प्रायः सबैजसो सामग्रीहरु एक सय वर्षभन्दा बढी उमेरका भइसकेका छन्। घरको सबैभन्दा माथिल्लो तलामा भान्साकोठा छ। जहाँ उनी खाना खान्थे। अनि त्यसमुनि रहेका अरु कोठाभन्दा अलि ठूलो कोठा छ देवकोटाको।
देवकोटाले प्रायः आफ्नो कोठाको झ्यालतर्फ बसेर लेखन गर्ने गरेको उनकी भाइकी छोराबुहारी सन्तोष देवकोटाले देश सञ्चारलाई बताएकी छिन्।
‘मुमाले भन्नु हुन्थियो –उहाँले लेख्दा केही पनि पत्तो पाउनु हुँदैनथियो रे, यो झ्यालमा बसेर कृतिहरु लेख्नु हुन थियो रे। एकदिन उहाँकी छोरी भर्याङ नजिक रोइरहेको हुनुहुन्थ्यिो रे, उहाँ झ्यालमा बसेर लेख्दै हुनुहुन्थ्यो, तर उहाँले छोरी खसेको पनि थाहा पाउनु भएनछ,’ उनले भनिन्।
भूकम्पबाट क्षति
वि.सं. १९९० सालको भूकम्पमा महाकवि देवकोटाको घरमा सामान्य क्षति पुगेको थियो। २०७२ सालको भूकम्पबाट घरमा निकै धेरै क्षति पुग्यो।
‘पहिले हामी यहीमा बस्थ्यौँ,’ उनले भनिन्, ‘कतिले त यो घरमा के छ र भनेर पनि भन्छन्, तर यो घर पूरानो भएपनि यहाँ उहाँको बाल्यकालको स्मरण छ, उहाँले हिँड्नु भएको भर्याङ र उहाँका यादहरु छन्, संरक्षण गर्ने मन छ।’
सन्तोष देवकोटाले यसरी नै आफ्ना मनका कुरा सुनाइन्। देवकोटाको सबै कृति नपढे पनि पढेका कृतिले आफ्नो मन छोएको उनले बताइन्।
‘घरका भित्ताहरु चिरा परेका छन्, तर त्यही घरमा देवकोटाका धेरै यादहरु रहेका छन्, तर अहिलेसम्म सरकारी निकायबाट घर संरक्षणका बारेमा केही काम भएको छैन,’ उनले भनिन्।
हुन त यो ऐतिहासिक सम्पत्ति हो। त्यसैले पनि सरकारी तहबाट संरक्षणका लागि पहल हुनुपर्ने उनको तर्क छ।