
१२ वर्षको फुच्चेलाई बुबाले हातमा सियो र धागो थमाइदिए। मनले समात्न मानेकै थिएन। तर बुबाको अगाडि ठाडो शीर उठाएर हेर्ने हिम्मत नभएको बेला ‘नाई’ भन्ने शक्ति हेमराज शाक्यलाई आउँदै आएन। जे अराएको हो, ‘हस’ भनेर गर्ने शाक्यलाई ७७ वर्षको हुँदा त्यही सीप खर्च जोहो गर्ने माध्यम बनेको छ।
वि सं १९९९ मा हेमराज शाक्यको जन्म पाटनको न्हः टोलमा भयो। एउटा मात्र छोरा, बाबुआमाको सहयोगी। शाक्यका दिदी र बहिनी छन्। शाक्यको परिवारको पुर्ख्यौली पेशा हो सिलाई। शाक्यका बुबा दरबारमा काम गर्थे। २०२८ सालबाट बुबाले दरबारमा सिलाइ बुनाइको काम गर्न थाले। २०३६ सालमा बुबा स्वर्गे भएपछि हेमराज दरबार छिरे। पुर्ख्यौली बिँडो थाम्दै।
राजा वीरेन्द्रको वंश नाश भएपछि दरबार जाने उनको बाटो पनि बन्द भयो। ‘धेरै अगाडिदेखि म दरबार गएको नै थिइन।’
ललितपुर महानगरपालिका भवन भन्दा पछाडि पर्छ न्हःटोल। बाटोको छेवैमा भएको गणेश मन्दिरको साइडमा सानो गल्ली छिर्ने बाटो छ। ढोकाको माथिपट्टि सानो होडिङ्ग बोर्ड। भित्र थोरै खुल्ला ठाउँ। वरिपरी घर। त्यहाँ उभिएका अग्ला घरहरुमध्ये एउटा घरको ढोका नजिकै बाहिरको जस्तै बोर्ड छ। बोर्डमा लेखिएको छ, ‘एचआर टेलर्स’ ढाकाको दौरा सुरुवाल लगाएका एउटा पुरुष नमस्कार गरिरहेका छन्।
होचो ढोका भित्र उनकी श्रीमति चन्द्रदेवी शाक्य सामान मिलाउँदै थिइन्। भर्याङ उक्लेपछि पहिलो तलाको देब्रे पट्टिको कोठामा शाक्य दौरा सुरुवालको कपडा मिलाउँदै थिए। दुई खाट, एउटा टेबल भएको यो कोठा हेमराजको संसार हो। घर त्यति पुरानो त देखिँदैन, तर उनीहरुले बताएअनुसार १९९० सालको भूकम्पमा नढलेको हो। भित्तामा १४ इन्चको टेलिभिजन छ। त्यसको तलपट्टि खाट अनि खाटको सिरानमा अक्सिजनको सिलिन्डर। ‘मलाई दम छ। काम गर्दा बेलाबेलामा आधा घण्टा जति सिलिन्डर लगाउँछु।’
खाटको सिरानी पट्टी बाहिर निस्कले झ्याल छ, बाहिरको बार्दलीमा सिलाइ लक गर्ने मेशिन। टेबलमा शाक्य उभिएर काम गरिरहेका हुन्छन्। उनको पछाडि अर्को खाटमा उनकी श्रीमति, सिलाई टिपिरहेकी हुन्छिन्, मोटो चश्मा लगाएर। उनीहरुको दैनिकी सधैँ जसो उस्तै छ।
बिहान चार बजे उठ्ने, मुख धुने, नित्य पूजा गर्ने। अनि काम गर्न थाल्ने। उनलाई पूजा गर्न अलि समय लाग्छ। आधाघण्टा, कहिलेकाँही ४५ मिनेट पनि। बेलुका पनि सुत्दा ११ नै बज्छ। कम निदाउछन् शाक्य। उनी भन्छन्, ‘बानी नै भईसक्यो, सानैदेखि बाले १ दुई घण्टामात्र सुत्न दिन्थे।’ उनको परिवारमा राणा शासन जस्तो व्यवस्था थियो। शाक्यका बुवा एकदमै कडा स्वाभावका, हातका केही खत देखाउँदै उनले भने, ‘निन्द्राले झुम्म पार्दा पार्दै काम गर्दा कतिपल्ट सियोले घोचेको छ।’
भित्तामा रातो बत्ति छ। झ्यालबाट आएको बत्तीको प्रकाश कम भयो भने उनी त्यही बत्ती पिलिक्क बालिहाल्छन्।
तर अहिले पनि उनी त्यही काममा छन् जसलाई उनले निन्द्रामा झुलि झुलि, हातमा खोपी खोपी सिके। दौराको बाउला कैँचीले काट्दै उनले भनेँ, ‘मैले मेरो सन्तानलाई यो काम सिकाइन।’
उनको परिवार अहिले ५ जनाको छ। हेमराजका बुढाबुढि अनि उनको छोराको परिवार। छोरा र नाति हस्तकलाका काम गर्छन्। दुई नातिमध्येका जेठा प्रदिप शाक्य थांका चित्र कोर्दै थिए।
तर श्रीमति चन्द्रदेवी शाक्य भने उनको सहयोगी भईन्। काम पहिला जानेको थिएन, सघाउँदा सघाउँदै आयो।
विवाहपछि
२०१५ सालमा उनीहरुको विवाह भयो। विवाह पछि चन्द्रदेवीले सासुको खटनी खानु पर्यो। ससुराको अगाडि त छिस्रिक्क गर्न सक्ने थिइनन्। श्रीमान्ले आफूलाई सघाए हुन्थ्यो जस्तो गर्ने, सासुले श्रीमान् नजिक भएको देखि नसहने। यसो गर्दा गर्दै समय बित्यो। बिस्तारै सबै ठीक भयो। हेमराज घरमा बसेर काम गर्न थालेपछि उनी पनि रोजगार भइन्। शाक्य दरबारमा काम गर्न जानेभएपनि चन्द्रदेवी कहिले पनि दरबार जान पाइनन्।
हेमराज कपडामा आइरन घस्दै थिए, अलि पुरानो भएकोले आइरन आवाज निकाल्दै थियो। चन्द्रदेवी एकाएक हाँस्न थालिन्, ‘मलाई बेला-बेलामा त तर्साए पनि। उनलाई भेट्न धेरै केटी पनि आउँथे।’
श्रीमतिको कुरा सुनेर हेमराज मुसुमुसु मुस्कुराए मात्र । ‘विवाह गर पनि भन्थे, म केही भन्ने थिइन’ उनी सुनाउन थालिन्, ‘मलाई केही भन्न आउँदैन थ्यो, तर भगवानले छुटाइदिए।’
चन्द्रकुमारीले सानैमा आमा गुमाएकी थिइन्, उनको बुबाले नै उनी र उनको बहिनी हुर्काएका थिए। घरमा मायामा हुर्केकी उनलाई विवाह गरेपछि केही समस्या झेल्नुनैपर्यो। तर हेमराजले उनलाई धोका दिएनन्। कोठाका भित्तामा यो दुवैको विभिन्न उमेरका जोडी फोटा छन्। जोडी ढुकुर जस्तै।
यो जोडीलाई अहिले पनि एक अर्काको सारथी छन्। उमेर बढ्दै गएपछि अनेक रोगले शरीरलाई गाजेको छ, दुवैले दुवैको ख्याल पनि राख्छन्। चन्द्रदेवीलाई सुगर छ, औषधि खाइरहेकी छन्। हेमराज बेला बेलामा ‘ग्लूको मिटर’ ले सुगरको मात्रा पनि नापी दिन्छन्। बाथको औषधि खान सम्झाउँछन्।
चन्द्रदेवीको पनि दायित्व छ, त्यस्तै किसिमको। बोल्दा बोल्दै शाक्य खोक्दै थिए। सुकेको स्वरमा उनको आवाज सानो निस्कन्थ्यो, घाँटी बसेको जस्तो। दम भएर औषधि खाएपछि उनको स्वर बसेको रे , उनले पिरो, अमिलो, चिल्लो, काउली, बन्दा, गोलभेडा लगायत सर्दी हुने खानेकुरा खान छोडेको निकै वर्ष भयो। खाने भनेको हरियो सागपात, दाल भात मात्रै।
बाहिर निस्कदा पनि कहाँ जाँदैछु भनेर सोचेर जानुपर्छ, उनी भन्छन्, ‘थोरै हेलचेक्राई गर्यो की गयो।’
यो अवस्थालाई सहजीकरण गर्नकै लागि भए पनि हेमराज काम गरिरहेका छन्। उनले कमाएको पैसाले दुई बुढाबुढीको जसोतसो खर्च टरेको छ, नसकेको बेलामा छोराले सहयोग गर्छन्।
हेमराज बाथको औषधि पनि बेच्छन्। कुरा गर्दै गर्दा एक जना मानिस आए र पैसा तिरेर औषधि लगे।
फोटोको सोखिन शाक्य
पातलो जिउडाल, अनुहारमा उमेरको मुजा परेको छ, नाकमा चश्मा अडेको छ। कान चनाखै सुन्छन्। फोटो खिच्न उनलाई खुब मन पर्छ। त्यो सानो कोठाको भित्तो हेमराज र चन्द्रदेवीको धेरैवटा फोटोले ओगटेको छ। हेमराज एकपछि अर्को फोटो देखाउन थाले, ‘राजकुमारी श्रुतिको विवाहको बेलामा खिचेको, यो चाँही स्वयम्भूमा’ ।
उनले धेरै फोटोहरु राखेका छन्, बेलाबेलामा पल्टाउँछन् अनि दंगीएर बस्छन्। उनले आफ्नो आमाबाबाको फोटो पनि सम्हालेर राखेका रहेछन्, फोटो हेरेर उनी मख्ख परे।
आमाको फोटो भन्दा बुवाको फोटोको रंग अलि धमिलिएको थियो र उनले भनेँ, ‘प्रिन्ट गर्दा रंग फरक पारिदिए।’
विज्ञापन बिना चलेको एचआर टेलर्स
शाक्य एउटा ब्राण्ड बनिसकेका छन्। उनलाई खाली बस्नु परेकै छैन। न ठूलो साइनबोर्ड, न विज्ञापन। त्यही पनि उनलाई दौरा सुरुवाल नसिलाई बस्न फुर्सद नै हुँदैन। अहिले काम गर्ने उनी एक्लै छन्। पहिला धेरै थिए। उनी भन्छन्, ‘काम सिकेपछि आफ्नै व्यवसाय सुरु गरे। ’
अहिले उनलाई एचआर टेलर्सको एकलौटी जिम्मेवारी छ। बिहान भगवानको पूजाआजा सकेपछि सुरु भएको ड्यूटी बेलुका अबेरसम्म पनि चलिरहन्छ। साँझ बिहान समय हेरेर एकछिन हावा खान घर बाहिर निस्कन्छन् पनि।
उनलाई लेजिड जेन्स सबै किसिमको कपडा सिलाउन आउँछ। तर केही समय अघिदेखि उनले राष्ट्रिय पोशाक मात्र सिलाउँछन्। उनको त्यही सानो कोठाको भित्ते दराजमा दौरा सुरुवाल सिलाउने कपडाहरु छन्। कपडा सिलाउन आउँनेले त्यहीबाट कपडा छान्छन्। भर्याङको दायाँपट्टी कपडा सिलाउने मेशिन छ। बेला बेलामा उनी त्यही मेशिनलाई घिर-घिर पार्छन् र दौरा सुरुवाल बनाउँछन्।
महिनाको ३० देखि २० हजार रुपैयाँ आम्दानी हुन्छ। उनले सिलाइको नयाँ नयाँ कामहरु धेरै ठाउँमा घुमेर सिकेका हुन्। उनी भन्छन्, ‘जसजसले काम गराउँछन्, प्रायः दोहोराएर आउँछन्, साथी ल्याउछन्। अहिलेसम्म ‘नो कम्प्लेन।’
पट्टाइएको कपडामा कालो डटपेनको सुन्दर अक्षर थिए। हेमराजले लेखेका हुन्। शाक्यको औपचारिक शिक्षा जम्मा पाँच कक्षासम्म मात्र छ। त्यतिबेला पढ्नुपर्छ भन्दा पनि काम गर्नुपर्छ भन्ने भावना थियो। उनले पढेका विद्यालय बालबिनोद विद्याश्रम र श्री चन्दी विद्या आश्रम हुन्। उनी भन्छन्, ‘जमाना फेरियो, अहिले त पहिला पढ्नुपर्छ अनि मात्र काम गर्नुपर्छ भन्छन्।’
उमेर ढल्कदैँ गईरहेको छ, उनको जाँगर एक रति पनि घटेको छैन। हेमराज छोरा हुँदा पाँच जनाको परिवार थियो, अहिले छोरा, छोरी, नाति, नातिनी समेत गरेर ४० जना भन्दा बढि पुगिसकेको छ। ‘रातो मछिन्द्र नाथको जात्रामा घरमा सबै आफन्तहरु भेटिन्छन्’। यही नै उनको सम्पत्ति हुन्।
त्यो बेला काम गर्न सजिलो थिएन
‘त्यो बेला सहज थिएन।’ उनी आफ्ना अतित सम्झन थालेँ, ‘२००७ सालमा खेल्ने समय थियो। जब काम गर्न थालेँ व्यवहारिकताले सबै सिकायो।’ बाजेको पालादेखिनै दरबार र राणाको कपडा सिलाउने पेशा भएकोले दरबार र राणा शासनको धेरै किस्सा सुनेका छन् उनले।
‘मान्छेभन्दा ठूला चाङ्ग हुन्थे रे कपडाका’, उनी भन्न थाले, ‘त्यो बेला महिलाका साडी पनि एक दमै लामो हुन्थे, त्यसका पनि कारण छुट्टै छ।’
बसेकै स्वरमा उनी भन्न थाले, ‘बाले सुनाउथे, राणाको काम गर्नु भनेको तरवारमा हिँडे जस्तै थियो, केही गल्ति भयो खैरियत छैन।’
उनी आफैले अनुभव गरेको दरबार भनेको राजा वीरेन्द्रको समय हो। धेरै कम पटक मात्र उनको वीरेन्द्रसँग भेट भएको थियो, उनलाई राजा जाति लाग्थे। दरबारमा काम गर्दा पाएको बक्सिस, विवाह वर्तबन्धमा दरबारबाट आउँने सहयोग उनका मीठा स्मृति हुन्।
२०३६ सालमा उनी दरबार छिर्दा नेपालका राजप्रमुख राज वीरेन्द्र थिए, त्यसबेलादेखि राजा वीरेन्द्रको निधन अवधिसम्म उनी दौरा सुरुवाल लगायत अरु कपडा सिलाउन दरबार जान्थे। तर दरबारहत्याकाण्ड भन्दा केही समय अगाडिबाट नै दरबार नपुगेका शाक्यलाई त्यहाँ के भयो होला भन्ने कौतुहलता छ, सबै नेपालीलाई भएजस्तै।
जागिर छुटेपनि सीप छुटेन, उनले आफूले जानेको सीपलाई छाडेनन्। त्यसको लागि कुनै कार्यलय चाँहिएन। आफ्नै घरको दुई कोठा सिलाउन, मिलाउन, भण्डारन गर्न काफी छ। कमाएको पैसा थोरै सहकारीमा पनि जम्मा गर्छन्। जङ्कु गर्ने बेला भएको छ शाक्यको। ज्यानले साथ दिएसम्म दौरा सुरुवाल सिलाउने नै मनसाय छ।
तस्बिरहरु सुलभ श्रेष्ठ