
काठमाडौँ– निलो रंगको हाइनेक, टपक्क टासिँएको जिन्सको प्यान्ट। पातलो जिउडाल, कुमभन्दा अलि तल पुगेका सिल्की कपाल, गाजले आँखा, गुलाबी गाला, ओठमा लगाएको कलेजी रंगको लिपिस्टिक। कुराकानी नभएसम्म उनी पूर्ण रुपमा महिला लाग्छिन्। तर उनको स्वरले पहिला गरिएको अनुमानलाई झुटो सावित गर्छ।
मंगलबार नेपाल हाउस बालुवाटारमा भूमिका श्रेष्ठलाई पहिलो पटक देख्नेले यस्तै महशुस गरे। काठमाडौँका स्थानीय तहका उपप्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले आफूजस्तै मानिसहरुको परिचय के हो ? भावना के हो ? र कस्ता समस्या भोग्नुपरिरहेको छ भनेर जानकारी दिइन्। भूमिका जन्मदा केटा भएर जन्मिइन्, नागरिकतामा उनको नाम कैलाश श्रेष्ठ छ। तर अहिले उनले आफ्नो पहिचान बदलेकी छन्।
जन्मिदा ‘छोरा’, हुर्कदै जाँदा छोरी कसरी हुन सक्छ? लिंग छोराको हुँदा हुँदै उ कसरी छोरीको पहिरनमा हिँड्न सक्छ ? विपरित लिंगीसँगको आकर्षण हुने सामान्य अवधारणा भन्दा फरक व्यवहार किन देखाउँछ ? यिनीहरु सामान्य अर्थमा बुझिँदै आएका महिला वा पुरुषको परिभाषामा समेटिन सक्दैनन । उनीहरुको परिचय लैंगिक तथा यौनिक अल्पसंख्यकको रुपमा रहेको छ वा फरक यौनिकता भएका व्यक्तिको रुपमा ।
यो समूहमा पुरुष भएर यौनिक रुपमा पुरुषसँगै आकर्षित हुने र महिला भएर महिलासँगै आकर्षित हुनेहरु छन् । यस्तै आफू गलत शरीरमा जन्मिएको बुझ्नेहरु छन्, जसलाई ट्रान्ससेक्सुअल भन्ने गरिन्छ । यस्तै आफ्नो यौनिकता तथा लैंगिकताका कारण समस्यामा रहेको समूह छ ।
यो समूहका मानिसहरुको स्वरुप रंगमञ्चमा मञ्चन हुन लागेको नाटकको तयारी होइन, उनीहरु कुनै चलचित्रको पात्र बनेका छैनन, जो कुनै निश्चित समयपछि सक्किन्छ।
यो समूहमा पर्ने मानिसहरुको परिचयमा सधैँ यस्तै समस्या, व्यवहारमा हेला भएको सुनिन्छन्। यो हिजो आजमात्र भएका घटना होइनन्। हुन त यो समूहको परिचय महाभारतका कथादेखि मुगल साम्राज्यको बेलामा पनि छ। महाभारतको शिखण्डी पात्र र मुगल राजा अकबरको रानीमहलमा हुने अंगरक्षक महिला र पुरुषको परिभाषामा नसमेटिने वर्गहरु छन्। इतिहास र शास्त्र, कथाका महान पात्र बनेका यी समूह हेलामा परेका धेरै घटना छन्।
सन् १९८० को दशकमा एचआइभीको पत्ता लाग्दा ‘समलिंगी’ ले सारेको भनेर उनीहरुलाई उपचारबाट बञ्चित गरिएको थियो। उनीहरुले पनि उपचार पाउँनुपर्छ भन्ने कुरा पछि मात्र आयो। समाजमा अहिले पनि ‘छक्का, हिजडा’ लगायतका नामले उनीहरुलाई अपमान गर्ने गरिएको छ।
ब्लू डाइमण्ड सोसाइटिकी अध्यक्ष पिंकी गुरुङ्गले अहिले उनीहरु लडेको १८ वर्ष पूरा भएको बताइन्। उनीहरुले आफ्नो पहिचानको बारेमा बताउँदै आएको, आफू को हो भन्ने बुझाउँदै आएको १८ वर्षपछि पनि यहि नै सवालमा काम गरिरहेका छन्। गुरुङ भन्छिन्, ‘हाम्रो परिचयको नै समस्या छ।’
हुन त नेपालको संविधान २०७२ धारा १२, १८ र ४२ मा उनीहरुको अधिकारलाई सुनिश्चित गरेको छ। तर समस्या भनेको उनीहरु खुलेर आउने वातावरण नहुनु हो।
स्थानीय तहसँग उनीहरुको माग
काठमाडौँका विभिन्न ६ नगरपालिकाका उपप्रमुखहरु छलफलमा सहभागी थिए, कीर्तिपुर, टोखा, तारकेश्वर, नागर्जूङ, गोकर्णेश्वर, चन्द्रागिरी नगरपालिका मध्ये कीर्तिपुर नगरपालिकामा मात्र तोकेर शिर्षक राखेर बजेट छुट्याइएको छ, तेस्रो लिङ्गी सशक्तिकरण कार्यक्रम।
यो शिर्षकमा बजेट आउनु राम्रो भएपनि उनीहरुको परिचय गलत भएको भूमिकाले बताइन्। कीर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वति खड्काले यो समूहलाई सम्बोधन गर्ने ठेट शब्द नभेटेको बताइन्।
कार्यक्रममा उपस्थित अरु नगरपालिकाका उपमेयरको एउटै स्वर भयो, उनीहरुले छुट्टै शिर्षकमा बजेट नछुट्याएको, लक्षित समूह अन्तर्गत राखेको जानकारी दिए।
तर कीर्तिपुर नगरपालिकामा छुट्याइएको एउटा कार्यक्रमको बजेट लिन कोही पनि आएका छैनन्। नगरपालिका उपप्रमुख भन्छिन्, ‘आफ्नो पहिचान खुलाउन अफ्ठेरो मानेको जस्तो लाग्छ।’
यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महसंघले आयोजना गरेको कार्यक्रममा उनीहरुको पहिचान र रोजगारीको अवस्थाबारे दर्शाइयो। ‘परिचय एक र पहिचान अर्कै भएका हामीलाई पनि रोजगारीको व्यवस्था हुनुपर्छ, हामी खुलेर आउँदा समाजले हामीलाई लाल्छना लगाउनु हुँदैन, हामी पनि अरु सामान्य नागरिकले बाँचे सरह बाँच्न पाउनुपर्छ।’ यस्तै यस्तै माग छन् उनीहरुको।
छलफल कार्यक्रम सकिएपछि, चन्द्रागिरी नगरपालिकाकी उपप्रमुख लिशा नकर्मीले यो समुदायको लागि कुन माध्यमबाट कार्यक्रम ल्याउन सकिन्छ, त्यो गर्ने सुझाव माग गरिन्। आगामि नगरसभामा ३३ जनाको अगाडि आफू को हो भन्ने बारे जानकारी दिन समय उपलब्ध गराउने पनि बताइन्।
लामो लडाई लड्दा पहिलाको भन्दा केही सजिलो भएको छ, तर यति नै सिमित भने होइन्। आर्थिक सशक्तिकरण यसको लागि आवश्यक छ। रोजगारी चाहिएको छ। भूमिका भन्छिन्, ‘लैगिंक तथा योनिक अल्पसंख्यक भएकै आधारमा म राज्यले दिने सेवा र सुविधाबाट बञ्चित किन हुने? क्षमता हुँदा हुँदै पनि लोक सेवा आयोगमा म मेरै पहिचानसहित लड्न किन नपाउने? महिला, जनजाति जस्तै हामीलाई कोटा किन दिँइदैन? हामी ढुक्कसँग बाँच्न कहिले पाउने?’