
काठमाडौँ – कविशिरोमणि लेखनाथ पौड्यालको १३५ औँ जन्मजयन्ती विशेष कार्यक्रम गरी आइतबार मनाईँदैछ । कविशिरोमणि पौड्यालको जन्म भएको दिनको सम्झनामा हरेक वर्ष पुस १५ मा उनको स्मृतिमा विविध कार्यक्रम हुने गरेका छन् ।
विसं १९४१ को पुस १५ मा कास्कीको पोखरा लेखनाथ महानगरपालिकाको अर्घौँ अर्चेलमा जन्मिएका कविशिरोमणिको जन्मजयन्तीको अवसरमा आइतबार उनको जन्मथलोमा विशेष कार्यक्रम हुँदैछ ।
कविशिरोमणिका ऋतुविचार, तरुण तपसी, गंगा गौरीसहितका महाकाव्य, लालित्य कविता संग्रह, नाटक तथा प्रश्नोत्तरसहितका खण्डकाव्य र कविताहरु प्रकाशित छन् ।
यो वर्ष साहित्यकार डा. सनतकुमार वस्तीको सम्पादनमा कविशिरोमणिका रचनाहरुको समग्र संग्रह कविशिरोमणि रचनावली प्रकाशित भएको छ । नेपालयले प्रकाशन गरेको संग्रहमा कविशिरोमणिका २१ वटा कृतिका रचनाहरु संग्रहित रहेको डा. वस्तीले बताए ।

कवि शिरोमणि रचनावली विमोचनमा संगीतकर्मी आभास, रमा शर्मा, प्रतिभा पाण्डे र सनतकुमार वस्ती। तस्बिर: नेपालय
यस्तै कविशिरोमणिका ५८ वटा अप्रकाशित कविताहरुको संग्रह लालित्य तेस्रो पनि संग्रहित गरिएको छ । पाँच खण्डमा रहेको रचनावलीमा कविशिरोमणिले संस्कृतबाट अनुवाद गरेका रचनाहरु पनि समेटिएका छन् ।
अप्रकाशित रचनाहरुको खोजी र सन्दर्भ सामग्री उपलब्ध गराउनमा कविशिरोमणिकी नातिनी डा. प्रतिभा पाण्डेले सहयोग गरेको डा. वस्तीले बताए । यो वर्ष रचनावली निस्किएकाले पनि जन्मजयन्ती विशेष बनेको कविशोरिमणिको जन्मजयन्तीको औपचारिक कार्यक्रमका लागि पोखरा पुगेका साहित्यकार डा. वस्तीले बताए ।
साहित्यकार जगदिश घिमिरेको प्रेरणामा आफूहरुले पाँच वर्ष लगाएर रचनावली तयार पारेको भए पनि प्रकाशित अवस्था घिमिरेले देख्न नपाएकोमा मनमा असजिलो लागेको भए पनि कविशिरोमणिका रचनाको एकीकृत रुपमा निकाल्न पाएकोमा खुशी रहेको उनले बताए ।

कविशिरोमणि लेखनाथ पौडेलका सबै सिर्जनाको संग्रह नेपाली शिक्षा परिषद्की रमा शर्मालाई हस्तान्तरण गर्दै कविशिरोमणिकी नातिनी प्रतिभा पाण्डे। तस्बिर: नेपालय
कविशिरोमणिको जन्मजयन्तीको अवसरमा हरेक वर्ष अर्घौँ अर्चलेमा विशेष कार्यक्रम हुने गरेको छ । त्यहाँ रहेको कविशिरोमणिको घरलाई जिर्णोद्धार गरिएको छ । उनको घरबाट माछापुच्छ्रे स्पष्ट रुपमा देखिन्छ भने पूरै पोखरा उपत्यका देखिन्छ ।
कविशोरमणि विश्वका उत्कृष्ट कविमध्ये मानिन्छन् । उनीको रचना र रचनाशिल्प संस्कृतका महाकवि कालिदास, बंगाली कवि रवीन्द्र नाथ ठाकुर र उर्दुका महाकवि गालिबको जस्तै रहेको साहित्यकार डा. वस्तीले बताए ।
उनका रचनामा जीवनको र जीवन सत्यका कुराहरु भव्य रुपमा व्यक्त गरिएको डा. वस्तीको भनाई छ । तर नयाँ पुस्ता उनका रचनाहरुबाट वञ्चित भएजस्तो लागेको उनले बताए ।