
नेपालगञ्ज – ४० जना भन्दा बढीले एकैपटक नेपालगञ्जबाट बर्दियाको ठाकुरद्वारासम्म साइकल यात्रा सुरु गरेका छन् ।
स्वास्थ्य, पर्यापर्यटन र आन्तरिक पर्यटन प्रवर्द्धनका लागि साइकिलिङ गरिएको हो । नेपालगञ्ज साइकिलिङ क्लवले आयोजना गरेको ‘सद्भाव डटकम दुर दी ठाकुरद्वारा’ नेपालगञ्जमा रहेको नेपालकै प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरबाट सुरु भएको छ ।
विश्व साइकलयात्री पुष्कर शाह, नेपालको ७७ वटै जिल्ला घुमेका भोजपुरका तेजप्रसाद पराजुली, मेची–महाकाली यात्रा गरिसकेका दाङका रेशम केसी, ६८ जिल्ला घुमिसकेका झापाका ओम बानिया, खप्तडमा पहिलो पटक साइकल पु¥याउने भरत शाही, प्यारासाइकिलिष्ट यामलाल रसाइली र युवक लामा, अष्टे«लियाका निल र फिल डिभिस, चार महिलासहित ४० जना ‘गाउँ र शहर जोड्ने’ साइकिलिङ यात्रामा निस्केका छन् ।
नेपालगञ्जका मेयर धवलशमशेर राणा, उपमेयर उमा थापामगर, नेपालगञ्ज साइकिलिङ क्लबका अध्यक्ष केशर आले, नेपाल उद्योग बाणिज्य महासंघका कृष्णप्रसाद श्रेष्ठले वातावरणमैत्री र मानव स्वास्थ्यका हिसावले साइकिलिङ धेरै आवश्यक रहेको बताए । विश्व साइकलयात्री पुष्कर शाहले साइकल रिङरोडको अवधारणाहरु अघि बढाउन आग्रह गरे । ‘नेपालका हरेक शहरमा साइकल ट्रयाकको आवश्यक छ’, विश्व साइकलयात्री शाहले भने, ‘हप्तामा एक दिन मेयर, उपमेयर साइकलमै कार्यालय जाने परम्पराको थालनी गर्नुपर्छ ।’
नेपालगञ्जबाट निस्केको साइकलयात्रीहरु कोहलपुर, बर्दियाको बाँसगढी, भुरीगाउँ हुँदै ठाकुरद्वारामा बास बस्नेछन् । कार्यक्रमका संयोजक सतिश निरौलाका अनुसार, पर्यापर्यटन मञ्च ठाकुरद्वाराले बासको प्रवन्ध मिलाउनुका साथै ठाकुरद्वारा, डल्ला होमेस्टे, ठाकुरबाबा मन्दिरलगायत त्यस क्षेत्रको पर्यटकीय स्थलहरुको विषयमा साइकलयात्रीहरुलाई जानकारी गराउने छ । साइकलयात्रीहरु शनिबार बिहान कर्णाली चिसापानी हुँदै नेपालगञ्ज फर्किनेछन् ।
‘पश्चिम नेपालमा हुन लागेको यस्तो कल्चर एकदमै नयाँ हो, फ्रान्सबाट सुरु भएको यो कल्चरलाई विगत ८–१० वर्षदेखि काठमाडौँ, पोखरा, धरान, हेटौँडालगायतका केही शहरमा हुने गरेको थियो’, कार्यक्रम संयोजक निरौलाले भने, ‘यसले नयाँ सन्देश प्रवाह गर्नेछ, नेपालगञ्जलाई बर्दियासँग जोड्ने काम गर्छ, गाउँलाई शहरसँग जोड्ने पनि हाम्रो अभियान हो ।’
नेपालगञ्ज साइकिलिङ क्लवले यसअघि नेपालगञ्ज म्याराथनमा स्कटिङ गरेको थियो । क्लवका पदाधिकारीहरु सधैं विहान साइकिलिङ गर्ने गर्दछन् । विहान साइकिलिङ गर्नेको संख्या दिन प्रति दिन बढ्दै गएको सचिव गगन थापाले जानकारी दिए ।
विश्व साइकल यात्री पुष्कर शाहलगायतको टोली कोहलपुरमा पुग्दा नेपाली क्रिकेटका पूर्वकप्तान एलबी क्षेत्रीले आफ्नो आत्मकथा ‘कप्तान १९९८’ मायाको चिनाको रुपमा दिएका छन् ।