
काठमाडौँ– अधिकांश मानिसले आफ्नो जीवनको परिभाषा आ–आफ्नै भोगाइबाट निर्धारण गर्छन्। संघर्षबाटै आफ्नो जीवनको गोरेटो बनाउनेहरुका लागि त झन् जीवनको अर्को नाम नै संघर्ष हो।
२५ वर्षदेखि पशुपतिको राम मन्दिरमा बस्दै आएका ५२ वर्षिय रामनारायण दासको जीवनको संघर्ष सुन्दा कुनै काल्पनिक कथा जस्तो लाग्छ।
२६ वर्षको उमेरदेखि राम मन्दिरमा बस्न थालेका उनलाई त्यहाँ पुग्नेहरुले ‘बाबा जी’ नाम दिएका छन्। तर बाबा बनेर बस्नु सजिलो छैन।
महोत्तरी जिल्लामा उनको पनि घर थियो। परिवार थियो। आफूले माया गर्ने श्रीमती र छोराछोरी थिए। छोरी दुइवर्ष थिइन्। छोरा जन्मेको भर्खर आठ दिन भएको थियो। श्रीमतीले छोरालाई सेक्दै गर्दा आफूले लगाएको लुगामा आगो सल्किएको पत्तो पाइनन्। उनी जलेर घाइते भइन्।
उनले हार मानेनन्। भएको सम्पत्ति बेचेर श्रीमतीको उपचार गरे। तर ६ महिना भन्दा बढी श्रीमतीलाई बचाउन सकेनन्। उनको अगाडी आकाश खस्यो। जमिन भासियो। नाबालक छोराछोरी टुहुरा भए। आफू बेसाहारा भएको अनुभव गरे। मन बिरक्तियो। गाउँमा बस्न सकेनन्। श्रीमती गुमाएको ६ महिनापछि एक दिन उनी साना छोराछोरी च्यापेर काठमाडौँ हिडे।
श्रीमतीको उपचारमा सम्पत्ति सकियो। श्रीमती गुमाए। दाजुभाइ र आफन्तलेसमेत साथ छोडेपछि उनले गाउँ छोडे। यस्तो अवस्थामा उनलाई पशुपतिको राम मन्दिरले आश्रय दियो। २५ वर्ष पहिले आफू बेसाहारा भएको बेला साहारा दिने यो मन्दिर अरुका लागि मन्दिर होला तर उनका लागि घर हो।
सानैमा आमा गुमाएका छोराछोरीका लागि आफूले मागेरै भएपनि सकेजति पढाए। छोरीले पाँचसम्म पढिन्। अहिले उनको बिहे भइसक्यो। १२ पास गरेका छोरा अहिले विदेश छन्।
यहाँ बसेदेखि भण्डारबाटै भोजन गर्ने उनी बिहानै उठ्छन्, नुहाउँछन्, लुगा धुन्छन्, र आफूलाई तयार गर्छन्।
दुःख र संर्घषबाट आफ्नो जीवनको बाटो बनाएका रामनारायण भन्छन्,‘हामी एक्लै जन्मियौँ, यो संसारबाट एक्लै जाने छौँ तर बाँचुन्जेल संघर्ष कहिल्यै सकिँदैन।’
उनका सात जना साथी थिए। अहिले पाँच जना छन्। दुईजनाले संसार छोडेर गइसकेँ। दुइजना हरिद्वार गए। यसरी नै उनको जीवन चलिरहेको छ। साथ छोडेर जानेलाई आफूले चाहेर रोक्न सकिँदोरहेनछ।
पछिल्लो केहि वर्षदेखि पशुपती क्षेत्रमा बाबाले आफ्नो फोटो खिचेको पैसा माग्छन् भन्ने प्रश्नमा उनले भने, ‘जीवन चलाउनको लागि माग्नु पर्छ। बाच्नै प¥यो यत्तिकै माग्दैन। मागेर कहिले ५० देखि कहिले ५ सय सम्म हुन्छ। कहिलेकाँही हातमा केहि हुँदैन।’
काठमाडौमा हुँदा उनी पशुपती छोडेर बाहिर जादैनन्। तर कहिले काँही हरिद्वार, मुक्तिनाथ सम्म पुग्छन्।
अन्त्यमा भने, ‘हिजो छोराछोरीको माया लाग्यो। अरुसँग मागरे भएपनि सक्ने जति गरें। तर आजभोली संसार यस्तै हो भन्ने लाग्छ। मेरोे घर यहि हो। बाँकी जीवन यहि मन्दिरमा बिताउँछु।’
तस्बिरहरुः बर्षा शाह