
खासमा ‘क्षति’ शब्दको यकिन नाप हुँदैन। तर यसको भोगाइ र अनुभूति व्यक्ति पिच्छे फरक हुन्छ। कुनै क्षतिलाई फेरि पूर्ण गर्न सकिन्छ भने कुनै क्षतिको भर्ताला र मूल्य तोक्न नै गाह्रो हुन्छ।
जीवनभर साथ रहने बाचा कसम खाएको, त्यो पनि स्वस्थ अवस्थामा रहेको साथीले यसरी जीवनको बिच बाटोमै छाडेर जालान् भन्ने ३९ वर्षीया सुशीला गुरुङले कल्पना पनि गरेकी थिइनन्। तर उनको जीवनमा यस्तै बज्रपात पर्यो। शुक्रबार साँझ साढे सात बजे नख्खुको एनसेल कार्यलय अगाडि बम बिस्फोट भयो। धुँवा र धुलो उड्यो । त्यही बिस्फोट नख्खुका सिम प्रसादको ज्यान लिने कारण बन्यो।

सिमप्रसाद गुरुङको फेसबुकबाट।
दुर्घटनामा घाइते भएका गुरुङको उपचारको क्रममा शुक्रबार राति साढे १२ बजे निधन भयो। अस्पतालको एमर्जेन्सीमा उनले श्वास फेर्न छोडे, बाहिर कुरिहरेकी सिमप्रसादकी श्रीमति सुशीला नि:शब्द भइन्। उनलाई के भयो थाहै भएन।
आइतबार सिमप्रसादको घर
लमजुङका स्थायीबासी सिमप्रसाद केही समयदेखि नक्खु बस्दै आएका थिए।
उनको घरको गेटमा धेरै जुत्ता, चप्पलहरु थिए। आँगनमा राखिएका प्लास्टिकको कुर्सीमा मानिसहरु बसिरहेका थिए।
घरभित्र छिर्ने बित्तिकै दाहिने पट्टिको हलमा सिप्रसादको फोटोमा माला लगाइएको थियो। प्रहरी पोशाकमा खिचिएको त्यो फोटोमा उनी मुसुक्क हाँसेका थिए।
हलमा उनको फोटो अगाडि बसेर आफन्त सुक्सुकाउँदै थिइन्। भान्सामा खाना बन्दै थियो। दुई-तीन जना सिमप्रसादको परिवार – श्रीमती, छोरा छोरीलाई खाना खुवाउने तरखरमा थिए।
घरको दोस्रो तलामा धेरै मानिसहरु थिए। तर घरमा हल्लाखल्ला थिएन। लमजुङबाट ज्यान गुमाउने गुरुङका आफन्तहरु शनिबार बिहानै काठमाडौँ आएका थिए। बच्चाहरु पनि शान्त थिए। उनीहरु गुरुङको शव के गर्ने भनेर छलफल गर्दै थिए।
शनिबार नेपाल मेडिसिटी अस्पतालमा सांसद पम्फा भूषाल, सांसद देव गुरुङ, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहित प्रहरी प्रमुख सर्वेन्द्र खनाल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारको तर्फबाट १० लाख क्षतिपूर्ति दिने र घाइतेको उपचार गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
सरकारको प्रतिवद्धतापछि उनको शरीरलाई पोस्टमार्टनको लागि पाटन अस्पताल लगिएको थियो। सरकारले क्षतिपूर्ति गर्ने आस्वासन दिएपछि उनको शरीर आइतबार साँझ पाटन अस्पतालबाट ल्याइने सिंगापुर पेन्सनिस्ट एशोसियसनका अध्यक्ष भोगेन्द्र गुरुङले बताए।
उनको दाहसंस्कार सोमबार बिहान गरिने पारिवारिक श्रोतले जनाएको छ।
भावविह्वल सुशीला
आइतबार बिहान कोठामा सुशीला पल्टिहरेकी थिइन्। उनीसँगै दुईजना साथीहरु थिए। घटना भएको दिनदेखि उनले केही खाएकी थिइनन्। उनलाई आफन्त र साथी सम्झाउँदै थिए, ‘जानेले छोडेर गएपनि हामी बाँच्नुपर्छ।’ ‘छोराछोरीका लागि खानुपर्छ।’ भने सम्झाउँदै थिए भने ‘भाग्य नै यस्तै रैछ’ भनेर पिलपिलाउने पनि थिए।
सुशीलाको आँखा सुन्निएका थिए, मुख फुलेका थिए। एक तमासले हेरिरहेकी थिइन्। पातलो ब्ल्याङकेट ओडेर ढलेकी सुशीलालाई साथीले कर गरेपछि उठिन् अनि खाना खाने कोसिश गरिन् तर उनलाई खाना पटक्कै रुचेन।
एक तमासले तलपट्टि हेरिरहेकी सुशीला त्यहाँ आएका मानिसको अनुहार खासै हेर्दिनथिन्। बम बिस्फोटमा पर्नु अगाडि छुट्टिएका साथीसँग ‘कतिबेला छुट्टनुभयो’ भनेर सोधिन्।
सुशीलाले श्रीमान् बम बिस्फोटनमा परेर घाइते भएको खबर पहिला नै पाइसकेकी थिइन्। उनी मेडिसिटिमा आकस्मिक कक्ष बाहिर श्रीमान्को स्वास्थ्यको खबर जान्न आतुर भइरहेकी थिइन्, कसैले उनलाई के भईरहेको छ भनिरहेको थिएन। तर साढे १२ बजे उनले श्रीमान्ले संसार छोडेको खबर पाइन्।

सिमप्रसादकी बहिनी धनकुमारी गुरुङ
सिमप्रसाद र सुशीलाको दुई छोरी एक छोरा छन्। जेठी छोरी स्वेता गुरुङ अष्ट्रेलियामा पढ्दै छिन्। सिना नेपालमा नै कलेजमा अध्ययनरत छिन्। छोरा अंकुश गुरुङ कक्षा ६ मा पढ्दैछन्। सिमप्रसादकी जेठी छोरी आइतबार साँझ नेपाल आइपुग्दैछिन्।
घटनापछि उनलाई भेट्न थुप्रै मान्छे आए। केही परे हामी छौ भन्दैछन्। अहिले खचाखच भरिएको घरमा सिमप्रसादको कमी छ। जुन जहिले उनलाई खड्किनेछ। सिमप्रसाद उनका श्रीमान् र बच्चाका पितामात्र थिएनन् उनको आड भरोसा थिए। उनले टेक्ने सुरक्षित जमिन अनि उनी स्वतन्त्र भएर उड्ने आकाश थिए। बिना कुनै दोष सिमप्रसादले ज्यान गुमाए, सुशीलाले धर्ती आकाश दुवै गुमाइन।