
काठमाडौँ-हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसको रुपमा मनाइन्छ। यसदिन संसारभर उपभोक्ताको अधिकार सम्बन्धी विविध कार्यक्रम गर्ने गरिएको छ।
‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार: हामी सवैको सराेकार’ भन्ने मूल नाराका साथ शुक्रबार विश्वभर ३७ औँ विश्व उपभोक्ता अधिकार दिवस मनाइयाे।
सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले सुरक्षा, सूचना, छनोट र सुनुवाई उपभोक्ताका चार अधिकार भएको घोषणा गरेका थिए। त्यसै दिनको सम्झनामा ‘विश्व उपभोक्ता अधिकार दिवस’ मनाउन थालिएको हो।
उपभोक्ता अधिकारका अन्तरनिर्हित आधारभूत चार सिद्धान्तमा उपभोक्ता आफैँ सचेत हुनुपर्दछ। सचेत उपभोक्ताले मात्र आफ्नो अधिकारको विषयमा कुरा गर्न सक्छन्। उपभोक्तालाई सचेत र जागरुक गर्ने दायित्व सरकार र वस्तु वा सेवा उत्पादन, आयात वा बिक्रि वितरण गर्नेहरुको हो।
वस्तु वा सेवाका उत्पादक वा बिक्रेताहरू उपभोक्ताप्रति जिम्मेवार हुनु अति नै आवश्यक हुन्छ। वस्तु तथा सेवाको विस्तार उपभोक्ता विना असम्भव छ। त्यसैले पनि उपभोक्तहरु बजारका सार्वभौम हुन्।
शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रम गरेर विश्व उपभोक्ता दिवस मनाइयो। दिवसमा अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक सन्देश जारी गर्दै सेवा दिने निकाय, उद्यमी, व्यवसायिलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्नुपर्ने बताए।
विश्व उपभोक्ता दिवस मनाईरहँदा नेपालमा भने उपभोक्ता सधैँ ठगीमा पर्ने गरेको पाइएको छ। उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालोबजारीले उपभोक्ता भने सधैँ मारमा पर्ने गरेका छन्। स्वच्छ उपभोग्य वस्तु तथा सेवा उपभोग गर्न पाउनु उपभोक्ताको अधिकार हो।
उपभोग्य वस्तुहरुमा हुने मिसावटले गर्दा उभोक्ताहरुको स्वास्थ्य जोखिममा पर्ने गरेको छ। स्वस्थकर जीवन बाँच्न पाउने नागरिकको अधिकार हो।
उपभोक्ताको अधिकारलाई नेपालको संविधान (२०७२) को धारा ४४ मा मौलिक हकको रुपमा राखिएको छ। जसमा उल्लेख छ, ‘प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ। गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ।’
उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्रदान गरिने भनेर संविधानमा उल्लेख भएतापनि यसको कार्यान्वयनको अवस्था भने दयनीय देखिन्छ।
अब उपभोक्ता आफ्नो अधिकारका लागि आफैँ सचेत हुनुको अर्को विकल्प छैन।