
काठमाडौं – विश्व स्वास्थ्य संगठनले आइतबार ६५औं विश्व कुष्ठरोग दिवस मनाउन आह्वान गर्यो। हरेक वर्ष जस्तै स्वास्थ्य सेवा विभागले पनि दिवसका अवसरमा पत्रकार सम्मेलन र अन्तरक्रिया डाक्यो। तर, त्यसका सहभागीका अधिकांश अनुहार र व्यथा भने पुरानै भेटिए।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको कुष्ठरोग नियन्त्रण महाशाखाले रोग र त्यसबाट पीडितको पछिल्लो अवस्थाबारे औपचारिक जानकारी गराउँदै भन्यो,’चेतनामुलक कार्यक्रमले कुष्ठरोगीमाथिको विभेद घट्दो छ र रोगीको संख्या पनि न्युन हुँदैछ।’ उक्त दावीकैबीच त्यहाँ उपस्थित वासुदेव यादवको अनुहारमा असन्तुष्टि झल्कियो ।
कार्यक्रमस्थलबाट बाहिरिएपछि कुष्ठरोगले अपाङ्ग बनाएको आफ्ना हात देखाउँदै उनले भने, ‘सरकारको यो भनाईमा सत्यता नै छैन। अहिले पनि कुष्ठरोगी घरबाट निकालिएका छन्। समाजको तिरस्कारले हामीहरु बाँचेर पनि मरिरहेका छौं। ’ महाशाखाले तराई जिल्लामा सबैभन्दा बढी कुष्ठरोगी रहेको तथ्याङ्क प्रस्तुत गर्यो।
तराई सप्तरी घर भएका ४३ वर्षीय यादवले भने, ‘जहाँ धेरै कुष्ठरोगी छन भनिएको छ त्यहाँ नै पुगेको छैन सरकारी उपचार सेवा ।ठूल्ठूला आइएनजीओलाई कमाई खाने भाँडो मात्रै भएका छौं हामी । हाम्रो उपचार र पुनस्र्थापनामा कसैको ध्यान छैन।’ यादवले आफ्नो गुनासो सुनाए।
‘१२ वर्ष हुँदा कुष्ठरोग लागेको रहेछ । झारफुखमै धेरै वर्ष विते । थाहा पाउन १४ वर्ष लाग्यो । काठमाडौंमा आएरै लामो संघर्षपछि मात्रै निःशुल्क उपचार पाएँ ।’ उनी थकित मुद्रामा भनिरहेका थिए।
टाँठोबाँठो नभए उपचारको पहुँचमै पुग्न नसक्ने यादवको अनुभव छ। कुष्ठरोग अधिकांश गरिब र अशिक्षित समुदायका मानिसमा देखिने गरेको छ।
समयमा उपयुक्त उपचारको पहुँचमा पुग्न नसक्दा महत्वपूर्ण अंग गुमाएर बाँच्नु पर्ने अवस्था अहिले पनि छ। ‘कुष्ठरोगीको उपचार र पुनस्र्थापनामा राज्यले केही नगरेको त होइन तर निरन्तर निगरानी गर्दैन। एकपटक कार्यक्रम चलाउँछ अनि फर्केर सरकारका कर्मचारी प्रभावित ठाउँमा पुग्दैनन्,’यादव दृुखेसो गर्छन,’ त्यसपछि पहिलेकै अवस्थामा प्रभावित पुग्छन।’
घरपरिवारले निकाल्दा
घरपरिवारले कुष्ठरोगीलाई निकाल्ने क्रमले निरन्तता पाइरहेको छ। यादव भन्छन्, ‘केही महिना मात्र अघि मेरै क्षेत्रबाट एक कुष्ठरोगी महिलालाई प्रहरी लगाएर गाउँबाट निकालिइयो । कतै बस्ने ठाउँ नपाएपछि मेरै आश्रममा ल्याएर बचाएँ ।’
कुष्ठरोगी घरबाट निकालिनुको कारणको खोजी सरकारले गर्नुपर्छ। संख्या मात्रै खोजेर समाधान हुँदैन । सरकारका कार्यक्रम सतही मात्रै भएको यादवको आरोप छ।
पढ्न नपाउँदा
यादवले अहिले पनि कुष्ठरोग लागेका बालबालिका शिक्षा बाट बञ्चित भएको बताए। आफुले पहिले भोगेको समस्या अहिले पनि कायमै रहेको उनको भनाई छ।
यादवले रोजीरोटीका लागि काम खोज्दा ठूलो मुल्य चुकाएका छन्। लामो संघर्षपछि उनले नेपाली कागज बनाउने संस्थामा काम पाएका थिए ।
त्यसपछि आफैले त्यस्तो कागज बनाउने संस्था खडा गरेका छन्। जहाँ कुष्ठरोगीलाई नै प्राथमिकता दिएका छन्।
अङ्गभङ्गको नियति
समयमै उपचार नपाउँदा अधिकांश कुष्ठरोगी अंगभंग हुनु पर्ने वाध्यता छ। त्यसको सिकार यादव आफै पनि बनेका छन्।
ढिलोगरी उपचार पाएपनि चिकित्सकले धेरै मेहेनेत गरे तर पनि उनका दुवै हात खुम्चिएका छन्।
उनको व्यथा र भोगाईले मुलुकका ३३ हजार (सरकारी रकेर्डमा रहेका ) कुष्ठरोगीको व्यथा र भोगाईको प्रतिनिधित्व गर्ने दावी उनले गर्छन।
नयाँ विरामीको संख्या तीन हजार दुई सय १५ जना रहेको तथ्याङ्कले बताउँछ।
सामाजिक कार्यबाट अलग
कुष्ठरोगीका सन्तानलाई पनि त्यही समस्या हुने भ्रमले यसबाट प्रभावितलाई विवाहका लागि कसैले स्वीकार गर्दैन।
विवाह मात्र होइन अन्य सामाजिक कार्यहरुमा पनि कुष्ठरोगीलाई पन्छाउने गरेको यादवको अनुभव छ।
‘मनमा सँधै डर हुन्छ । हामीलाई देख्ने वित्किै मानिस पर भाग्छन। हामी मानव नै होइन की भन्ने व्यवहार गरिन्छ।’
चेतना पुग्नै सकेन
नेपालमा सन् २०१० मै कुष्ठरोग निवारणको घोषणा गरिएको थियो। कुष्ठरोग उपचार गरे निको हुन्छ भन्ने जानकारी अहिले पनि धेरैलाई थाहा नभएको यादवको भनाई छ।
शिक्षित परिवारमै कुष्ठरोगीमाथि विभेद रहेको उनी बताउँछन्।
पुर्नस्थापनामा बेवास्ता
सरकारले हालसम्म बहु औषधिबाट उपचार पुरा गर्नेको संख्या १८ हजार भन्दा बढी रहेको घोषणा गरेको छ । तर उनीहरुको समुदायमा पुर्नस्थापना हुनै सकेको छैन। ‘मलाई कुष्ठरोग लागेको छ भन्दै खुलेकाहरु फेरी समुदायमा लुक्न बाध्य छन् ।
पुर्नस्थापनामा सरकारले ध्यान नदिएकाले उनीहरुको त्यस्तो अवस्था आएको हो।’ यादवले भने,’ म उपचारका लागि घरबाट काठमाडौं आए । त्यहाँ हेपिने डरमा फर्किने आँटै आएन। मेरो जस्तै भोगाई छ अरुको पनि ।’
त्यसैले संख्या घट्नु, उनीहरुलाई निःशुल्क उपचार दिनुभन्दा बढी निको भएकाहरुलाई ससम्मान परिवार र समुदायमा पुर्नस्थापित गर्नु महत्वपूर्ण भएको उनी बताउँछन्।