
परासी – यो वर्षको दसैँ आइतबारदेखि सुरु भएको छ । बिहानको शुभसाइतमा घटस्थापना गरेर देशभरका दसैँघर तथा सर्वसाधारणका घरमा दसैँ विधिवत रुपमा सुरु भएको छ । विशेष गरी दसैँलाई शक्तिस्वरुपा दूर्गाको पूजाका रुपमा मनाउने गरिन्छ । नवरात्र भनिने दसैँको टीकाअघिका नौ दिन शक्तिस्वरुपा भवानीका विविध रुपहरुको पूजा गरिन्छ ।
तराई क्षेत्रमा पनि दसैँको रौनक सुरु भएको छ । नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारसहितका क्षेत्रमा आइतबार दुर्गा देवीका मूर्तिलाई सजाएर विविधवत रुपमा घटस्थापना गरिएको छ ।
तराई क्षेत्रमा दूर्गा देवीका मूर्तिहरु स्थापना गरी विशेष रुपमा पूजा गर्ने गरिन्छ । परासीका बासिन्दाल दुर्गा देवीका मूर्तिहरु अधिकांश रुपमा सीमावर्ती भारतीय बजारबाट ल्याउने गरेका छन् ।
आइतबार सजाइएका घडासहित मूर्ति स्थापित गरेर दसैँ सुरु भए पनि सप्तमीदेखि भव्य रुपमा विशेष पूजा सुरु हुन्छ । सप्तमीको दिनसम्म देवीदेवताको अनुहार छोपिएको हुन्छ भन्ने दानवको अनुहार खुल्ला रहन्छ । सप्तमीमा विशेष पूजा सुरु भएपछि देवी देवताको अनुहार पनि खुला गरिने स्थानीय बासिन्दाले बताएका छन् ।