शहीदपत्नी पनि मजदूरीमै, फेरिएनन् मजदूरका दिन

+
-

रोल्पा – “प्रजातन्त्रको अनुभूति गर्न पाउनु त टाढाको कुरा हामीले फागुन ७ गते प्रजातन्त्र दिवस पर्छ भन्नेसमेत थाहा पाएका छैनौँ”, रोल्पा नगरपालिका स्थायी घर बताउने सुकमाली डाँगीले भनिन् ।

५० वर्षीया डाँगी शहीदपत्नी हुन् । सशस्त्र युद्धका समयमा श्रीमानको हत्या भएपछि डाँगी तीन छोरा र एक छोरीसहित जिल्ला सदरमुकाममा मजदुरी गर्दै आउनु भएको छ । संघीयताको त कुरै छाडाैँ नयाँ संरचनापछि उहाँलाई आफ्नो वडा कति नम्बरमा पर्छ भन्ने कुरासमेत थाहा छैन ।

“श्रीमान शिक्षक हुनुहुन्थ्यो । २० वर्ष पहिले स्कूल गएका श्रीमान्लाई पुलिसले मारे भन्ने खबर आयो । उहाँको मृत्युपछि सरकारले दिएको राहतले छोराछोरी पढाउँदै आएकी छु ।”

“आफूले ढुंगामाटोको काम गरेर कमाएको ज्यालाबाट साँझ बिहानको गुजारा चल्छ”, उहाँले लामो श्वास लिँदै भन्नुभयो । डाँगीलाई आजसम्म पनि प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्रका बारेमा केही थाहा छैन ।

“सुन्न त सुनेकी छु, सुनेपनि के काम, मजदूरका दिन कहिले फेरिएलान् ?” उहाँको राज्यसँग प्रश्न छ । प्रेम विवाह गरेकी डाँगी बिहेपछि श्रीमानसँग करिब १२ वर्षमात्र सँगै बस्नुभएको हो । युद्धका नाममा श्रीमानको हत्या नभएको भए आज डाँगीलाई ढुंगामाटोमा दिनरात बिताउनु पर्ने थिएन कि जस्तो लाग्छ ।

आम शिक्षकका परिवार जस्तै उहाँको परिवारमा पनि श्रीमान्को तलबबाट जीविका चल्ने थियो भन्ने उहाँलाई लाग्छ । पटकपटक चुनावमा प्रचार गर्न जानेले शहीद परिवारलाई गाडी भाडा बिना नै यात्रा गराउने आश्वासन बाँडेको भएपनि त्यो पूरा हुन नसकेपछि उहाँमा गुनासो रहिरहेको छ ।

“जे दिवस आए पनि हामीलाई केही फरक पर्दैन, हाम्रा दिन फेरिएनन् । अब त फेरिएलान् जस्तो पनि लाग्दैन ” उनले भनिन् ।

डाँगीलाई आफ्नोभन्दा अझ बढी छोराछोरीको भविष्यको चिन्ता छ । उनका अनुसार राहतबाट आएको रकमले छोरा काठमाडौंमा पढ्दैछ । “जेठी र कान्छी छोरी सानै उमेरमा आफैँ विवाह गरेर गइसके । माइली छोरी मसँगै छे । दुःखसुख गरेर लिबाङको एक विद्यालयमा पढाइरहेकी छु,” उनले सुनाइन् ।

सन्तानले धेरै पढ्नसके केही गर्लान् कि भन्ने आशा भए पनि छोरीहरु बालविवाह गर्दै जानाले उहाँलाई बेलाबेला थप निराश बनाउने गरेको छ ।

डाँगीजस्तै परिवर्तन गाउँपालिका–५, रोल्पाका अनिलकुमार घर्तीले पनि जिल्ला सदरमुकाममा करिब १२ वर्षदेखि ज्याला मजदूरी गरेर जीविका चलाउँदै आउनुभएको छ । ३९ वर्षीय घर्तीका अनुसार दिनभरि ढुंगामाटोमा पसिना चुहाएमात्र उनको परिवारले साँझ बिहान पेटभरि खान पुग्छ ।

एक दिन बिरामी भए वा काममा अल्छी गरे भोकै बस्नुपर्ने बाध्यता रहेको पनि उनले सुनाइन् । यसअघि मजदूरीका लागि भारतका विभिन्न स्थानमा लामो समय खर्चिएका घर्तीले २०६२/०६३ को आन्दोलनपछि नेपालमै मजदूरका दिन फेरिन्छन् भन्ने सुनेर स्वदेश फर्किएका थिए ।

यसरी स्वदेश फर्किएका घर्तीले कहिले प्रजातन्त्र, कहिले लोकतन्त्र त कहिले गणतन्त्रको चर्चा चलेको सुन्दै आएका छन् । तर पनि मजदूरका जीवनमा कुनै तन्त्रले पनि सकारात्मक प्रभाव छोड्न नसकेको उनको अनुभव छ ।

आफ्नो जीवनमा उनको इच्छाएको पार्टी र नेता रोज्दै करिब ६–७ पटक भोट हालिसकेका छन् । ‘मजदूरका लागि न त कुनै तन्त्रले केही गर्‍यो न त आफूले जिताएका नेताले नै आफूहरुका बारेमा केही सोचेका छन्’ उहाँले दुःखेसो गरिन्।

ढुंगामाटोमै पसिना चुहाउँदै आएका घर्तीले दुई सन्तानलाई सरकारी विद्यालयमा भर्ना गराएकी छन् । तर सन्तानका दिन पनि नफेरिएलान् कि भन्ने विषयमा उनलाई हरपल चिन्ता छ ।

यस्तै रोल्पा नपा–८ का ३८ वर्षीय तेजराम खत्रीले पनि रोजगारीका लागि कतार, मलेसियालगायतका विभिन्न स्थानमा वैदेशिक रोजगारीका शिलशिलामा लामो समय खर्चिसकेका छन् ।

बिहे गरेको केही समयमै बाँकी जीवन सुखसँग बिताउने आश्वासनसहित श्रीमतीलाई घरमै छोडेर रोजगारीका लागि हिँडेका खत्रीको पनि वैदशिक रोजगारीले जीवनमा कुनै किसिमको परिवर्तन ल्याउन सकेन । विदेशमा सोचेअनुरुप कमाइ नभइरहेकै बेला देशमै जनताका दिन फेरिन्छन् भन्ने सुनेपछि उनी पनि स्वदेश फर्किए ।

दशवर्षे सशस्त्र युद्धले उथुलपुथल भएको रोल्पा र रोल्पालीका दिन फेरिने, युवाले रोजगारी पाउने भन्ने खबर पाएपछि उनी निकै उत्सुकताका साथ घर फर्किएका थिए । अब रोजगारी पाए परिवार पाल्न सजिलो हुनेछ भन्दै घर फर्किएका खत्रीका पर्खाइमै दिन बितिरहेका छन् ।

उनले पनि सदरमुकाममा ढुंगामाटो गरेर जीविका चलाउँदै आउनुभएको छ । तर बूढेशकालमा काम गर्न नसक्दा पो के गर्ने भन्ने चिन्ताले उनलाई बेलाबेला पिरोल्ने गर्छ । ‘अरु केही नभए पनि सरकारले मजदूरका छोराछोरीलाई निःशुल्क उच्च शिक्षा दिनसके पनि ठूलो राहत हुने थियो’ उनी भन्छन् ।

यसैगरी, साविकको पाछाबाङ गाविस–६, रोल्पाका शर्मिला बूढा हाल ३५ वर्षकी छन् । उनले पनि जिल्लामा लामो समयदेखि ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएकी छन् । “८–९ वर्षदेखि वैदेशिक रोजगारीमा पुगेका श्रीमानको कमाइ ऋण तिर्दैमा ठिक्क छ । अझै तीन वर्ष आउनुहुन्न होला”, उनले भनिन् ।

आफूले कमाएको कमाइ घरखर्चमै तथा श्रीमान्को तलब ऋण तिर्नमै ठिक्क भएपछि उनको जीवनमा नयाँ प्रगति हुन सकिरहेको छैन ।

देशमा विभिन्न राजनीतिक उतारचढाव आइरहे पनि मजदूरका भविष्यका बारेमा कसैले पनि नसोच्दा दिक्क लाग्ने गरेको उनले बताइन् । श्रम गरेअनुसार जीवनमा परिवर्तन नआउँदा दुःख लाग्ने गरेको उनले बताइन् ।

सबैजसो मजदूरले आफ्नोभन्दा पनि आफ्ना छोराछोरीको भविष्यको चिन्ता गरेका छन् । यसतर्फ समयमै सरोकारवालाको ध्यान जानुपर्नेमा मजदूरको सुझाव छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?