
काठमाडौँ – धनुषामा बुधबार बिहान गोली चल्दा एकजनाको मृत्यु भएको छ । पंकज चौधरीले चलाएको गोली लागेर मनोज साहको ज्यान गएको हो । प्रारम्भिक अनुसन्धानमा यो घटना लेनदेनसँग सम्बन्धित रहेको पाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीका अनुसार गोली प्रहार गर्ने चौधरी र मृतक साह दुवैजना स्थानीय ठेकेदार हुन् । ‘लेनदेनको विवाद जस्तो देखिन्छ’, कार्कीले भने, ‘चौधरी पक्राउ परिसकेका छन् सोधपुछ हुँदैछ ।’
गोली प्रहार गरेर चौधरीलाई छिमेकीको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको कार्कीले बताए । ‘घटनास्थल नजिकैको एकघरबाट चौधरीलाई समात्न सफल भएका छौँ, उनले भने, ‘अब थप कुरा अनुसन्धानपछि खुल्दै जाला ।’
चौधरीको साथबाट दुईवटा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद भएको प्रहरीले जनाएको छ।