
जनकपुरधाम– जनकपुरधामसहित मिथिलाञ्चलभर आइतबार घरघरमा रामजानकी विवाहपञ्चमी महोत्सवको रौनकता छाएको छ।
त्रेता युगमा भएको सीता र रामको विवाहको झ–झल्को दिने विवाहपञ्चमी महोत्सव हेर्नका लागि देश विदेशबाट हजाराैँ दर्शनार्थीहरु जनकपुरधाम पुगिसकेका छन्। जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव सीताका पिता राजा जनकको भूमिकामा छन्। उनले अहिले छोरीको बिहे गरिरहेको जस्तै अनुभव गरिरहेको बताए।
जानकी मन्दिरका महन्थ राजा जनकको भूमिकामा छन् भने राम मन्दिरका महन्थ राम गिरी राजा दशरथको भूमिका निर्वाह गरिरहेका छन्। सीताजस्तो बुहारी पाउने भएपछि हर्षको कुनै ठेगान नरहेको उनी बताउँछन्।
रामजानकी विवाहको स्वयम्बर सम्पन्न भएको छ भने विवाह उत्सव पनि सुरु भएको छ।
त्रेता युगमा अयोध्याका राजा दशरथका पुत्र भगवान् श्रीराम र मिथिलाका राजा जनककी पुत्री जानकीको विवाह भएको स्मरणमा साताव्यापी रुपमा मनाइने विवाहपञ्चमीको छैठाैँ दिन आइतबार राति विवाहको कार्यक्रम मनाइँदैछ।
विवाहपञ्चमी अन्तर्गत पहिलो दिन नगर दर्शन विधि गरिएको थियो जसमा राम–लक्ष्मणको प्रतिक स्वरूप बनाइएको राम–लक्ष्मणलाई जनकपुरधाम नगर दर्शन गराइन्छ।
विवाहपञ्चमी महोत्सवको दोस्रो दिन फूलबारी लिला भएको थियो। फूलबारी लिलामा राम जानकीको पहिलो भेट यहाँ नै भएको हुन्छ। त्रेता युगमा भगवान रामको पहिलो भेट भारतको गिरिजा स्थानमा रहेको गिरिजा माई मन्दिरको प्राङ्गणमा रहेको फूलबारीमा भएको रामायणमा उल्लेख छ। यो विधि जानकी मन्दिरको छेउमै रहेको राम–जानकी विवाह मण्डपमा रहेको फूलबारीमा प्रत्येक वर्ष सम्पन्न गरिन्छ।
तेस्रो दिन धनुष यज्ञ सम्पन्न भएको थियो। सीताले शिवजीको पिनाक धनुषलाई बायाँ हातले उठाएर लिपपोत गरेको देखेर राजा जनक यो धनुषमा प्रत्यंचा चढाउन सक्ने वीर पुरुषसँगै आफ्नो छोरीको बिहे गरिदिने वचन लिएर धनुष यज्ञको आयोजन गरिएको भन्ने मान्यता छ। त्रेता युगमा सो धनुष यज्ञको आयोजना रंगभूमि मैदान १२ विघामा भएको मानिन्छ। सोही स्मरणमा धनुष यज्ञ विधि सम्पन्न गरिएको थियो।
महोत्सवको चौथो दिन राम मन्दिरको प्राङ्गणमा तिलकोत्सव विधि सम्पन्न हुन्छ। तिलकोत्सवमा यस पटक रंगभूमि मैदान बाह्रविघा मैदानबाट महन्थ राम तपेश्वर दास वैष्णवको नेतृत्वमा पाहुर राम मन्दिरमा आएको थियो। जहाँ जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र राम मन्दिरका महन्थ राम गिरीबीच अंकमाल (सम्धि मिलान) हुन्छ। तिलकोत्सवको दिन जसमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी पनि आएकी थिइन्।
तिलकोत्सवमा सहभागी महिलाहरु राम–जानकीको बिहेका गीतहरु गाउँछन् भने हास्य परिहाँसको माहौल समेत हुने गर्छन्। जसरी मिथिलामा सम्धीलाई विभिन्न किसिमको गाली गरिन्छ त्यसरी नै मन्दिरमा समेत दुबै पक्षबाट गालीसहित हाँसाेठट्टा गरिन्छ।
राम मन्दिरका महन्थ राम गिरीका अनुसार सम्धि मिलान कार्यक्रममा जानकी मन्दिरका महन्थ, उत्तराधिकारी महन्थ, पूजारीहरु सहभागी हुने गर्दछन् भने राम मन्दिरबाट महन्थ स्वयम्, गुठी संस्थानका प्रतिनिधि तथा स्थानीय युवा क्लबका प्रतिनिधिहरु सहभागी हुन्छन्।
महोत्सवको पाँचौ दिन शनिबार मटकोर विधि भएको थियो। मटकोर विधिमा माता जानकीको मटकोरका लागि मिथिलाका महिलाहरुले जनकपुरधामकै पवित्र सरोवर रहेको गंगासागर पोखरीबाट साँझको समयमा मिथिलाको परम्परा अनुसार गीतनाद गाउँदै माटो खनेर ल्याउने गर्दछन्। सोही माटोबाट विवाहका लागि वेदी तयार गरिन्छ।
छैठौ दिन आइतबार ऐतिहासिक रंगभूमी मैदानमा स्वयंवर विधि सम्पन्न भएको थियो भने रातिमा वैदिक परम्परा अनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ। स्वयम्वर समाप्त भएपछि दुबै मन्दिरको डोला शोभा यात्रा गर्दै जानकी मन्दिर पुगेको छ जहाँ वैवाहिक कार्यक्रम हुन्छ र रातभरी चल्ने सो वैवाहिक कार्यक्रममा महिलाहरु गीतनाद गाउने गर्छन्।
आजु मिथिला नगरिया निहाल सखिया,
चारों दुलहा में बड़का कमाल सखिया !
शिश मणी मौरिया, कुण्डल सोहे कनमा,
कारी कारी कजरारी जुलमी नयनमा,
लाल चंदन सोहे इनके भाल सखिया,
चारों दुलहा में बड़का कमाल सखिया !
विवाहपञ्चमीको सातौँ दिन भारतको अयोध्याबाट जन्ती बनेर आएका साधुसन्तहरुलाई भोजन गराउँदै विदाई गरिन्छ। जसलाई रामकलेवा भनिन्छ। राम कलेवामा बेहुला पक्षबाट आएकाहरुलाई गाली गलौज गर्ने समेत परम्परा रहेको छ।
मन्दिरका पूजारीहरु तथा मिथिलाका नारीहरु गीतकै माध्यमले गाली गर्ने गर्छन्। जसले अदभूत वातावरणको निर्माण गर्छ। र रामकलेवा सँगै औपचारीक रुपमा विवाहपञ्चमी समाप्त हुन्छ।