
नेपालले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउँदै छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको तयारी अन्तिम चरणमा पुगेको सम्बद्ध निकायले बताएका छन् ।
यहिबिचमा भ्रमण वर्षलाई टेवा पुर्याउने खालको सामग्री विख्यात म्यागजिन फोर्ब्समा प्रकाशित भएको छ ।
फोर्ब्सका लागि ग्याथरिन पार्कर–माग्यारले लेखेको यात्रा गन्तव्य सम्बन्धी फिचर स्टोरीमा नेपाललाई आउँदो दशकका ‘बकेट लिस्ट ट्रिप’ का लागि उत्कृष्ट १० गन्तव्यमा राखिएको छ ।
सुविधा सम्पन्न जंगल सफारीदेखि हिमायलमा गर्न पाइने ट्रेकिङ्गका कारण नेपाल आउँदो आर्थत सन् २०२० को दशकका लागि विश्वभरका यात्रीहरुको बकेट लिस्ट ट्रिप डेस्टिनेशन बन्ने उल्लेख गरिएको छ ।
नेपालसँगै इक्वेडर, न्युजिल्याण्ड, पेरु, अलास्का, ब्राजिल, मोरक्को, चीन, फिनल्याण्ड र केन्यालाई आउँदो दशकको ‘बकेट लिस्ट ट्रिप’ राखिएको छ ।