
काठमाडौँ– फागुन ९ गतेको महाशिवरात्री मनाउने तयारी सुरु भएको छ। शुक्रबार पशुपति क्षेत्र विकास काेषले शिवरात्री पूजा मूल आयोजक समिति गठन गरी शिवरात्रीका लागि तयारी सुरु गरेको हो।
पशुपति नाथको दर्शनका लागि आउने धर्मावलम्बी तथा पर्यटकलाई असुविधा नहोस् भन्नको लागि समिति, उपसमिति बनाएर काम थालिएको हो। समितिले सुरक्षा, स्वास्थ्य, भोजन, आवास लगायतका नि:शुल्क जुत्ता चप्पल कक्ष, स्वास्थ्य शिविरका विषयमा शुक्रबार छलफल गरेको हो।
पशुपति क्षेत्र विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा १ सय ११ सदस्यीय मूल समिति गठन भएको हो।
यसमा नेपाल सरकारका गृह, भौतिक पूर्वाधार तथा यातायात, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, सञ्चारकर्मी, ४ ओटै सुरक्षा निकाए, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, विभिन्न माडवाडी समिति, धार्मिक संगठन लगायतका व्यक्तित्वहरुलाई मूल समारोह समितिमा राखिएको छ। पशुपति क्षेत्र विकास कोष यसको व्यवस्थापन समिति रहनेछ।
कोषले पशुपतिको दर्शनका लागि आउने भक्तजन तथा पर्यटकलाई सुरक्षित किसिमले दर्शन गराउन र पर्व व्यवस्थापनको लागि ११ ओटा उपसमिति बनाएर व्यवस्थापन योजना ल्याउन थालेको छ। माघ मसान्तसम्म ११ ओटै उपसमितिले आ– आफ्नो कार्यसमिति बनाएर माघ मसान्तसम्म योजना बुझाउने छन्। त्यसपछि सबैलाई हेरेर काम सुरु गर्ने आयोजक समितिका प्रवक्ता गौरी शंकर पराजुलीले बताए।
‘कुनै पनि ठाउँमा जाँदा सुरक्षित महशुस गर्नुपर्ने कुरा महत्वपूर्ण छ, त्यसैले हामीले ५ हजार सुरक्षाकर्मी परिचालन गर्दैछाैँ’, नेपाल प्रहरीका डिआईजी विश्व पोख्रेलले भने, ‘समान ढंगबाट सबैलाई दर्शनको व्यवस्था गर्नेछौँ। हामी सुरक्षाको प्रत्याभूति दिन्छौँ।’
यस्तै यो वर्ष पशुपति दर्शनका लागि राज्यका प्रमुख पाँच वरियताका भीआईपी (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधिश, सभामुख) लाई बाहेक हरेकलाई समान व्यवहार गरिने, लाइनमा लाइनवद्ध हुनुपर्ने व्यवस्था समितिले गरेको छ। तर छिमेकी देश भारत, मलेशिया लगायत विश्वका अन्य देशबाट आउने विशिष्ट व्यक्तिलाई पहिलो प्राथमिकतामा राखिने पराजुलीले बताए।
व्यवस्थापनको लागि खटिएका व्यक्तिहरु परिचयपत्रमार्फत आफ्नो व्यवस्थापन कक्षसम्म जाने भएपनि दर्शनको लागि विशेष व्यवस्था नभएको आयोजक समितिले जानकारी दिएको छ।
यो वर्ष नेपालमा भ्रमण वर्ष २०२० चलिरहेको हुनाले पर्यटन वर्ष प्रवर्द्धनका लागि विशेष व्यवस्था हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताए।
उनले भने, ‘पशुपतिको प्रतिष्ठा राख्न सकेमात्र हाम्रो गरिमा रहन्छ। त्यसैले हामीले सुरक्षा सँगसँगै सरसफाई, शौचालय र पानीको पनि राम्रो व्यवस्था मिलाउन आवश्यक छ।’