
काठमाडौँ- दिल्लीको एपोलो अस्पतालमा उपचार गराइरहेका खुमबहादुर खड्काको स्वास्थ्यस्थिति बुझ्न कांग्रेस दुई जना केन्द्रीय सदस्यलाई दिल्ली पठाउने भएको छ।
सोमबारको बैठकमा खड्काको स्वास्थ्य लाभको कामना गर्दै कांग्रेसले केन्द्रीय सदस्य रमेश लेखक र शंकर भण्डारीलाई दिल्ली पठाउने भएको हो।
मिर्गौला प्रत्यारोप गरेका खड्काको नेपालमा उपचार नभएपछि दुई हप्ता अघि दिल्ली लगिएको थियो। सोमबारको बैठकमा बोल्ने वक्ताहरुले खड्काको स्वास्थ्य अवस्थाप्रति पार्टी गम्भीर बन्नुपर्ने बताएका थिए। उनको स्वास्थ्य अवस्था गम्भीर र स्थिर रहेको बताइएको छ।
को को बोले सोमबार ?
बैठकमा सोमबार आठ जना केन्द्रीय सदस्यहरुले बोलेका छन् । नेताहरु रमेश लेखक, गोविन्द भट्टराई, लक्ष्मी परियार, डिना संगा्रैला, शेखर कोइराला, बलबहादुर केसी, सरिता प्रसाई र जीवन परियारले आफ्नो धारणा राखेका छन् । अधिकांश नेताहरुले सभापति देउवाको आलोचना गरेका छन् ।