दाँतले शारीरिक स्वास्थ्यमा जति महत्वपूर्ण भुमिका खेलेको हुन्छ, यसको महत्व सौन्दर्य र व्यक्तित्वमा पनि अभिन्न रुपले जोडिएको छ। शरीरमा प्रवेश गर्ने खानेकुरा चपाउनका लागि दाँतले विशेष भूमिका खेलेको हुन्छ।
दाँत बलियो भएमात्र समग्र पेट वा स्वास्थ्य राम्रो हुन्छ। तर दाँत नदुखेसम्म वा समस्या नआउँदासम्म हामीले दाँतको बारेमा खासै ध्यान दिँदैनौँ।
दन्त चिकित्सक सुवास घिमिरेका अनुसार सरसफाईमा कमी तथा खानपानमा विशेष ख्याल नगर्दा दाँतमा विभिन्न समस्या देखिने गर्छ।
देशसञ्चारसँगको कुराकानीमा उनले भने, ‘९० प्रतिशत मानिसहरुलाई त दाँत कसरी मोल्ने पनि थाहा हुँदैन। अझ कतिपयले बिहान मात्र दाँत मोल्नुहुन्छ।’
डा.घिमिरेका अनुसार मुखको स्वास्थ बिग्रियो भने मधुमेह ‘अनकन्ट्रोल’ हुन्छ।
उनले थपे, ‘प्रेगनेन्सीको बेलामा मुख स्वस्थ भएन भने जन्मिने बच्चा पनि कम तौलको जन्मिन सक्छ या जन्मदै विभिन्न प्रकारका स्वास्थ्य समस्याहरु लिएर आउन सक्छ।
मुखको स्वास्थ्य खराब हुँदा मुटुको रोग, पेटको रोग, फोक्सोको रोग तथा लिभरको रोग पनि लाग्न सक्छ। साथै यसले किड्नी ड्यामेज गराउने काम पनि गर्छ।
दाँतको सुरक्षा कसरी गर्ने?
– ब्रस गर्दा सामान्यतया पाँच मिनेट समय दिनुपर्छ। जथाभावी ब्रस गर्दा दाँत दुख्ने समस्या आउँछ। त्यसैले समय मिलाएर बिहान र बेलुकी सधैँ ब्रस गनुपर्छ।
– सकेसम्म दाँत माझ्दा ‘सफ्ट’ ब्रस प्रयाेग गर्नुपर्छ र माथि र तलको दाँत अलग्गै ब्रस गर्नुपर्छ।
– दाँत र गीजालाई हानी नगर्ने चिल्लो खालको टुथपेस्ट प्रयाेग गर्नुपर्छ।
– तातो र चिसो एकैपटक खादाँ दाँतको संवेदनशीलतामा ह्रास आउने गर्छ त्यसैले यस्तो खानेकुरा एकैपटक नखाने
– गुलियो, केमिकलयुक्त र जङ्क फुडको प्रयोगले दाँतमा ब्याक्टेरिया संक्रमण ल्याउने र दाँत दुख्न सक्ने हुनाले दिनको दुईपटक खाना खाइसकेपछि ब्रस गर्नुपर्छ।
– दाँत माझ्दा ब्रसलाई नघोट्ने, प्रत्यक ३ महिनामा ब्रस चेन्ज गर्ने
– हरेक ६–६ महिनामा दाँत परिक्षण गर्ने गर्नुपर्छ।