
एकादेशमा एउटा पेन्डुलम देश थियो । एकदमै अस्थिर, कहिले यता हल्लिने, कहिले उता ढल्किने।
विभिन्न अध्यायको देश । कुनै अध्याय राणाको हुन्थ्यो भने कुनै अध्याय सानाको हुन्थ्यो। जनताको चाहना त उही हो, छाना, नाना र माना।
देश हराभरा भए पनि शासकको आदेश ज्यानमारा हुन्थ्यो । त्यस लोकमा शिक्षाको भिक्षा माग्नेलाई ज्ञानको अभिमान दिने चलन थियो । दीक्षित त उही थर मात्र बाँकी थियो।
त्यो देशको दरवार कैलाश पर्वतको फेदीमा अवस्थित थियो । त्यस दरबारको रक्षा गर्न थुप्रै तरवारहरू परिचालित थिए तर वरपर सिमानामा कुनै तारबार थिएन । त्यस दरवारका भित्ताहरु ईँट्टाले नभई पैसाका बिट्टाहरुले ठडिएका थिए । छानो शिशाको अनि भर भिसाको थियो ।
दरबारको छेउमै एउटा अजंगको रुख थियो । त्यो रुखमा वैभव फल्ने गर्थ्यो । तर शिशिर ऋतुमा भने त्यस रुखको छायाले दरवारमा कहिलै सूर्यको किरण पर्न दिएन । अनि बसन्त ऋतुको हावाहुरीमा हाँगाले दरवारको छाना चर्कौला भन्ने डर हुन्थ्यो। ग्रिष्म ऋतुमा भने त्यही रुखको भर हुन्थ्यो ।
रुख काट्ने हिम्मत कसैको भएन किनकि फल त त्यसैमा लाग्थ्यो । प्रयासीहरु प्रयास उधुम्मै गर्थे, परन्तु दरबार अन्त बनाउने ल्याकत त के, सार्ने तागत पनि थिएन ।
त्यस दरबारभित्र शासन एकछत्र थियो, बाहिर मात्र भाषण सर्वत्र थियो । दरबारभित्र बस्ने मख्ख, बाहिर बस्ने छक्क पर्थे । जनता स्वाभिमानी, नाइके बेइमानी गर्थे ।भित्रकाले कर्म गर्दा बाहिरकालाई शर्म हुन्थ्यो । भित्र पासाको बाढी चल्थ्यो, बाहिर आशाको नाडी रोकिन्थ्यो । बाकि सब फस्ट क्लास थियो ।
त्यस लोकमा सबैको खानपिन(भोजन र मनोरंजन) ठीक्क हुन्थ्यो । जसोतसो छाक चाहिं टरेको थियो।
अचानक शत्रु शताप्दीमा पश्चिम दिशाबाट बुफे (आफ्नै हात जग्गंनाथ) चलनको सुरुवात भयो । उताका ले यताकालाइ विद्याभ्यास गराएर, त्यो चलन टपक्कै टिप्न लगाए।
त्यो बिष मात आयात भएपछि, नेता थालमा भन्दा भाँडोमा ज्यादा हेर्ने भए । जनता खानेकुराको परिमाणमा भन्दा पारिकारमा केन्द्रित भए । दाल भात तरकारी खाने संकल्प गरेका ती सन्तोषी मनुवा अब त परिकारै परिकारको विकल्पले अम्मली हुनथाले ।
अब त तास खान पनि खेल्न पनि प्रयोग हुन थाल्यो । सिकुवाको सेलरोटीले नभएर अगेनाले सेकुवाको रस सेक्न थाल्यो ।
रितीको फालनी हुदै गर्दा परनितीको थालनी भयो । आफ्नाको निको गर्ने भन्दा, आर्काको सिको गर्ने संस्कारको विस्तार हुदै गयो।
त्यस पश्चात त् राजारामले हराम, रिताले रमिता, मनोहरिले मनपरी अनि रेखाले अनदेखा गर्न सुरु भयो । राज्यलाई भलो हुँदा ठूलालाई के गरुँ के गरुँ हुन थाल्यो । सानालाई बाँचौं कि मरौँ हुन थाल्यो ।
खोरिया जाने मन हुँदाहुँदै कोरिया जानुपर्ने बाध्यता भयो । दुहबी हिडेँका बटुवालाई चालकले दुबही पुर्याउन थाल्यो । तर पनि जन जनको मनले भन्थ्यो, के भयो त ? आँत गलेकै छ जिन्दगी चलेकै छ ।
एकरातको कुरा हो, खाँदाखाँदै जनता जनार्दन प्यासीलाई आधारभूत आवश्यकताहरुको प्यास लाग्यो । ऊ पानीको खोजीमा मूल भुलाएर हिँड्यो । कहिले लहड, कहिले बाध्यता, कहिले आकांक्षा हुदै लतारिँदै -भौतारिँदै भएपनि परभूमिको मरुभूमिमा पुग्यो । ऊ भिन्न देशको अभिन्न अंग बन्न पुग्यो।
उसले त्यहाँको सरदारलाई प्यास मेटाइदिन सादर अनुरोध गर्यो। सरदारले आफ्ना भारदारलाई नजिकैको ईनारको किनारमा लग्न र पानीको खानी देखाउन भन्यो । प्यासीलाई ईनार देखाएर उनीहरु फर्किए ।
एक निमेस पनि नसोची प्यासीले परभुमीको ईनारमा फाल हाल्यो । उसलाई लागेको प्यास त् मेट्यो परन्तु जिन्दगी बिताउन उसले त्यही इनारको ब्यास मात्र भेट्यो ।
अन्त्यमा प्यासी लेख्छ ,
कलर फुल हुने झोकमा
ब्ल्याक एण्ड ह्वाईट रोजिएछ,
फलांस खेल्ने होडमा
तासको जोकर पो भईएछ !
त्यस लोकमा अझैपनि चर्चा उहीं छ रे, हल्लिने कि झुन्डिने ?