
काठमाडौँ – भगवान इन्द्रको पालादेखि चल्दै आएको विश्वास गरिने परम्परागत इन्द्र जात्रा तथा राजा जयप्रकाश मल्लाको पालादेखि हुँदै आएको जीवित देवी कुमारीको जात्रा यो वर्ष नहुने भएको छ।
कोरोना भाइरसको महामारीलाई मध्यनजर गरेर इन्द्रजात्रा व्यवस्थापन समितिले यो वर्ष इन्द्र तथा कुमारी जात्रासहितका जात्रा नगर्ने निर्णय गरेको समितिका वरिष्ठ उपाध्यक्ष शरदकुमार डंगोलले देश सञ्चारलाई जानकारी दिए।
डंगोलले भने, ‘गाईजात्रासम्म कोरोना भाइरसको संक्रमण त्यति तीव्र गतिमा फैलिएको थिएन । अहिले संक्रमण काठमाडौँ उपत्यकामा अति बढेको छ। जात्रा गर्दा भिडभाड हुने र संक्रमणको जोखिम बढ्ने भएकाले यो वर्षका लागि जात्रा नगर्ने निर्णय गरेका हौँ।’
सरकारले धार्मिक स्थल खुला नगरेको तथा भिडभाड नगर्न भनेकाले पनि सोही अनुसार जात्रा स्थगित गरिएको समितिले जनाएको छ। वरिष्ठ उपाध्यक्ष डंगोलले भने, ‘हामी रहे न भगवानको जात्रा तथा स्याहार गर्न सक्छौँ। अहिले त जात्रा गर्दा संक्रमण हुने डर भयो। सोही भएर रोकेका हौँ । तर तिथि अनुसार विशेष पूजासहित क्षमा पूजा भने गर्ने छौँ।’
इन्द्रजात्राका लागि भदौ ३ गते बुधबार काभ्रेको नालाबाट लिंगो ल्याउने साइत हो। तर यो वर्ष लिंगो ल्याउन नजाने उनले जानकारी दिए। भदौ १४ गते लिंगो ढड्याइ त्यसको दुई दिनपछि अर्थात १६ गते इन्द्र जात्रा मनाउने तिथि छ।
डंगोलले यस वर्षको जात्रा स्थगित गरेपछिको प्रक्रियाबारे स्पष्ट पार्दै भने, ‘जात्रा रोकिएको हो, तर तिथि अनुसारका दिनमा सम्बन्धित ठाउँमा सीमित व्यक्तिको उपस्थितिमा विशेष पूजा र क्षमा पूजा भने गरिन्छ। लिंगो नढड्याए पनि सो दिन पूजा हुन्छ।’
भगवान इन्द्र आफ्नी आमालाई पूजाका लागि चाहिएको पारिजातको फूल लिन काठमाडौँ (पृथ्वी लोक) आएका बेला ‘चोर’ भनी स्थानीय महिलाले बाँधेर राखेको किंवदन्तीसँग जोडिएको इन्द्र जात्रा कोरोना कहरका कारण नहुने भएको हो। यसअघि २०६५ सालमा इन्द्रजात्रा सुरु भए पनि विधिवत रुपमा सम्पन्न हुन पाएको थिएन।
यस्तै जयप्रकाश मल्लको पालादेखि हुँदै आएको कुमारीको रथ यात्रा पनि पूर्ण रुपमा रोकिएको यो पहिलो घटना भएको समितिले जानकारी दिएको छ।
यसैबिच रातो मच्छिन्द्र नाथाको जात्रा भने अझै अनिश्चित रहेको छ। ढिलो गरी साउन १० गते रथारोहण भए पनि रथ यात्रा सुरु हुन सकेको छैन। आफूहरुले सरकारका सबै नियम मान्ने गरी यात्राका मुख्य १२ प्रक्रिया पूरा हुने गरी जात्रा चाँडो सक्ने योजना बुझाए पनि सरकारको व्यवास्ताका कारण अलमल भएको मच्छिन्द्रनाथको मुल जोतिश खलकका सदस्य ज्योतिश कीर्तिमदन जोशीले बताएका छन्।
उनले भने, ‘आवश्यक परेमा निषेधाज्ञा वा कर्फ्यू लगाएर भए पनि बढीमा १०० जनाको उपस्थितिमा रथ यात्रा अधिकतम चार दिनमा पूरा गर्ने योजना हामीले प्रशासन र गुठी संस्थानमा बुझाएका छौँ। तर धर्म–संस्कृतिमा राज्यको चेतना नुहँदा समस्या भएको छ।’
भदौ मसान्त भित्र रातो मच्छिन्द्र नाथको मूर्ति बुंगमती लैजानु पर्ने र त्यसका लागि साइत हेर्न जात्रा अन्तर्गत लगनखेलमा महावली दिनै पर्ने भएकाले आफूहरुले बढीमा चार दिन लगाउने गरी बढीमा १०० जनाको प्रयोग गरेर रथ यात्रा गर्ने प्रस्ताव गरेको उनले बताए।
उनले भने, ‘अझै केही दिन पर्खिन्छौँ, भएन भने हामी प्रधानमन्त्री, राष्ट्रपतिसम्म पुग्ने छौँ।’ केही समयअघि मच्छिन्द्रनाथको रथ यात्राको विषय लिएर शीतल निवास पुगेकाहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको अवस्था जात्रा गर्न उपयुक्त नरहेको जवाफ दिएकी थिइन्।
तर ज्योतिष जोशीले भने सीमित प्रक्रिया पूरा नगरी मूर्ति बुंगमती लैजान नमिल्ने भएकाले आफूहरुले प्रस्तुत गरेको अधिकतम चार दिनको योजना अनुसार कर्फ्यू नै लगाएर भए पनि रथयात्रा पूरा गर्नु पर्ने बताए।
अत्यावश्यक विधि नरहेकाले नरिव खसाल्ने तथा भोटो देखाउने जात्रा भने आफूहरुले पेश गरेको योजना समावेश नरहेको उनले बताए।
विकल्पका रुपमा काँचो धागो रथमा घुमाएर सोही धागोलाई यात्रा गराएर जात्रा पूरा गर्ने वा पुल्चोकबाट मूर्ति लैजना प्रस्ताव पनि आएको, तर ती दुवै प्रस्ताव उपयुक्त नरहेको उनको भनाई छ।