
मध्यान्न दिउँसो नारायणटार जोरपाटीकी विष्णु आले मगर तयार हुँदै थिइन्। सारी लगाएर, चिटिक्क पर्नलाई उनलाई छोरीले सहयोग गर्दै थिइन्।
५० वर्षे मगरलाई तीज आइसकेको थियो। टेलिफोनमा बोल्दै गर्दा उनको पछाडि तीजका गीत घन्किरहेको थियो। उनले आफ्नो योजना सुनाइन्, ‘अब तयार हौँ, हेरौँ न के गरिन्छ।’ किनकी उनलाई यो वर्ष कहीँ जानु छैन।
उनले विवाह भएपछि देखि तीजको व्रत बस्न सुरु गरेकी थिइन्। यो क्रम चलेको ३० वर्ष पुग्यो। ब्रत बस्न सुरु गरेदेखि हरेक वर्ष उनी पशुपति जान्थिन्, तर यो वर्ष छुट्यो। ‘म जसरी पनि पशुपति पुग्थे, तर यो वर्ष यसरी बस्नुपर्यो, आफ्नो ज्यानको सुरक्षा गर्नै पर्यो।’ विष्णु भन्छिन्, ‘यो पाली त भगवानसँग पनि डराउने नि आए। त्यसैले भित्र भित्रै बस्नुपर्या छ।’ उनको अनुभवमा नेपाल बन्द हुँदा पनि चाडकै लागि पनि मन्दिर खोल्थ्यो, तर अहिलेको थाहा नभएको रोगले यस्तो दिन आयो।
हिन्दु धर्मावलम्बी महिलाको महान चाड हरितालिका तीजमा महादेवको पूजा आराधना गरिन्छ। तीजमा शिवालयहरुमा भिड हुने गर्दछ। आज धेरै समयमा माइती आइपुगेका चेलिबेटी माइतीमा जम्मा भई आफ्नो पीर व्यथा पोख्ने गर्छन्।
तर यो वर्ष कोरोना भाइरसको महामारीले गर्दा पहिलाको जस्तो सहज वातावरण छैन। पहिलो चरणमा लकडाउन गरेको सरकारले कोरोना संक्रमणको जोखिम बढेपछि निषेधाज्ञा जारी गरेको छ। सरकारले अति आवश्यक काम बाहेक अरु बेलामा बाहिर ननिस्कन आग्रह गरेको छ र नियम नमान्नेलाई कारवाही समेत गरेको छ।
मगर भन्छिन्, ‘मन्दिर जान पाइएन भनेर सरकारलाई के दोष दिनु। किनकी सरकारले हाम्रै लागि गरेको हो। अहिले एकअर्कासँग डराउनुपर्ने बेला आएको छ। मैले बहिनीलाई पनि लकडाउन भएदेखि नै भेटेको छैन।
दाङकी अनिता शर्माले यसपालीको तीजमा न रातो साडी किनिन्, न कुनै तामझाँमनै गरिन् । दिदीबहीनी जम्मा भएर दर पकाएर खाए । अनी घर भित्रै नाचगान गरेर तीजको रहर पूरा गर्ने कोशिस गरिन् ।
नागपञ्चमीबाट उनको गाउँघरमा नाचगान सुरु हुन्थ्यो । ओल्लो घर पल्लो घरका साथी संगी भेट हुन्थे। तर यो वर्ष त्यो पनि भएन। चोक चोकमा जम्मा भएर, मन्दिरको आगँनमा नाँच्ने नारीहरु घरको कोठा भित्र नाँचेर तीजको रहर पुरा गर्दै छन्।
कोरोना भाइरसको संक्रमण फैलदै जान थालेपछि तीजमा हुने सांस्कृतिक कार्यक्रमहरु सबै प्रभावित भएको छ । ‘नजिकका दिदी बहिनी जम्मा भएका छौँ । परिवार भित्रै दर खायौँ। तीजको नाच कोठा भित्रै हुने भयो’ उनले भनिन्–‘पोहर जस्तो छैन । कोरोनाले सबै लथालिंग पार्यो ।’
तीजको दिन ब्रत बसेका दिदीबहिनीहरु नाचगान गर्न सार्वजनिक ठाउँमा पुग्ने गथ्र्ये । तर, अहिले ती सबै कार्यक्रम छैनन् । जति हुन्छ परिवार भित्रै रमाइलो गरेर तीज मनाउन थालिएको छ । ‘कोरोनाले यो उ भन्दैन । धेरै भिडभाड हुने ठाउँमा नगएकै बेस्’ शुसीला शर्माले भनिन्–‘कोरोना सकियो भने धित मारेर मनाउँला तीज । यसपाली खुम्चिएकै तीज राम्रो ।’
सरकारले पनि चाड पर्व सावधानी पूर्वक मनाउन अपिल गरेको छ । दिउँसोमा समेत भिडभाड नगर्न, सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्न निषेध गरेको छ । कोभिड–१९ को प्रभाव चाडपर्वमा पर्न थालेको छ । टाढा घर भएका दिदी बहिनी माइतीमा आउन पाएनन् । निषेधाज्ञाले गर्दा गाडी चलेनन् । छोरीचेलीहरु माइतीमा आउन सकेनन् ।
‘यसपालि यस्तै भयो । अर्को पाली कोरोना गयो भने एकै ठाउँमा भेट होला भनेर चित्त बुझाएका छौं’ दीपा पौडेलले भनिन्–‘रहर लागेर के गर्नु । कोरोनाबाट पहिला ज्यान बचाउनु पर्यो । रमाइलो गर्ने दिन त धेरै छ ।’
भक्तपुरकी शान्ति खत्री ६० वर्ष पुग्न लागिन्। पहिलोपल्ट महिनावारी हुँदा उनको विवाह भइसकेको थियो। घरभरी नन्द आमाजू अनि माइतमा ६ दिदी बहिनी थिए, उनकी आफ्नै छोरी छिन्।
हरेक वर्ष तीजमा माइती जान उनलाई व्यवहारले मिलेन तर देउरानी जेठानी, छोरी नन्द आमाजू जो भएपनि उनीसँग तीज मनाउन साथ हुन्थे। ब्रत बस्दा टाढा जान नसकेपनि घर पारीको मन्दिर पुग्थिन् तर यो वर्ष उनी चित्त बुझाएर घरमे बस्न परेको छ।
यो वर्ष उनको घरमा कोही आएनन्, उनी कतै जान पाइनन्। तल्लो घर, माथ्लो घरका साथीहरुसँग कौँशीमा बसेर कुरा गरिरहेकी छन्। उनी भन्छिन्, ‘यो वर्ष यस्तै भो, अर्को पाली राम्रो होला।’