
संसार विचित्रकै छ। विचित्रताले ओतप्रोत नभएको भए संसार हुने नै अथवा रहने नै थिएन। तपाईंलाई के विचित्र लाग्छ, मलाई थाहा हुने कुरा भएन! मलाई भने सबैभन्दा विचित्र मानिस नै लाग्छन्।
कहिलेकाहिँ कल्पना गर्छु, मानिस नभएको भए संसार कस्तो हुन्थ्यो? मेरो कल्पनाशक्ति अति फितलो छ, स्पष्ट केही कल्पना कोर्न सक्दिन। कोहि पाठकमित्रसँग ‘यस कल्पनाबारे’ केही स्पष्ट कल्पना छ भने मसँग साझा गर्नुहोला।
उपनिषदले ज्ञानको उपमा अग्निसँग गरेका छन्, गर्नुको औचित्य पनि छ। अग्नि प्रज्वलित हुँदा आफ्नो परिधिभित्र आउने सम्पूर्णलाई खरानी बनाई अन्तमा स्वयं पनि खरानी बन्छ। आशय आफू पनि अन्त्य हुन्छ । ज्ञानको पनि यही गुण छ, ज्ञान प्रगाढ हुँदै जाँदा यसले आफ्नो परिधिमा आउने समस्त अज्ञानलाई अग्निका माफिक नष्ट गरिदिन्छ र अन्ततः आफू पनि अग्नि कै माफिक शान्त हुन्छ।
मलाई परम वा अनन्तको कुनै अनुभव छैन। बुद्ध – महावीर सदृश्यका चेतनालाई परम ज्ञान भयो भन्ने धार्मिक विश्वास वा मान्यताप्रति मेरो किञ्चित पनि अनादरभाव छैन, सन्देहभाव छैन। तर, परम/अनन्तको बुझाइमा मतभेद भने अवश्य छ। परम अर्थात अनन्तको अन्त! के अनन्तको अन्त अर्थात परमलाई अनुभव अथवा आत्मसात गर्ने अवसर पाउन सकिन्छ?
विषय निश्चय पनि सहज छैन, अधिकांशका लागि रुचिकर पनि नहुन सक्छ, तर कुनै संयोगवश चिन्तनको चक्रव्यूह अल्झिसकेका मानिसलाई यस विषयक गहिरो अभिरुचि हुनु नौलो पनि होइन।
एउटा काम गर्नुस— १ देखि १०० देखि १००० एवम् रितले लेख्दै जानुस्। १ का पछाडि १०० शून्य थप्नुस्, के अनन्तको छेउ पुगियो? हजार शून्य थप्नुस्, लाख शून्य थप्नुस्….. अर्ब शुन्य थप्नुस्। के तपाईं भन्न सक्नुहुन्छ अब अनन्तको नजिक पुग्न लागियो ?
हुन त प्रकृतिमा ‘माइनस’ अंक जस्तो केही हुन्न। प्रकृतिमा कि त केही हुन्छ, केही हुन्छको आशय त्यो गन्तीमा आउँछ, यथा (१ -२- ३ -९ – अर्बौँ)। कि त केही हुन्न, नभएको कुरालाई गन्ती गर्नु आवश्यकता नै रहदैन। तर मानिसको गणितले व्यवहारजन्य समस्यापूर्ति हेतु ‘माइनस’ अंकको परिकल्पना गर्यो। यसको पनि कुनै अन्त छैन, अर्थात यो माइनस अंक पनि अनन्तसम्म फैलिएको छ । माइनस एक, माइनस दस, माइनस हजार जति भन्दै गए पनि ‘प्लस’ अंक’का माफिक ‘माइनस’को पनि परम अवस्था कहिल्यै भेट्टाउन सकिन्न।
झण्डै बुद्ध – महावीर कै समयकालमा पदार्थको सबैभन्दा सानो इकाइ अणु भएको तथ्य उजागर भएको थियो। दृष्टिगोचर हुने सबै पदार्थ अणुले बनेका हुन्छन्। अणु नै सबै पदार्थको ‘बिल्डिङ्ग ब्लक’ (मूलकण) हो भन्ने त्यही बेला स्पष्ट भई सकेको थियो। के तपाईँलाई अणुको आकार थाहा छ, कति हुन्छ?
मानी लिउँ तपाईंको तौल ७० किलो र लम्बाई डेढ मिटर छ। मानव शरीरको ‘बिल्डिङ्ग ब्लक’कोशिका हो। ७० केजीको मानिसमा झण्डै १०० खरब कोशिका हुन्छन्। भाइरस, ब्याक्टेरिया, अमीबा सबै कोशिका हुन्। कोशिकाको आकार ०.०३ (भाइरस ०.०३ —०.८) माइक्रोमिटर देखि लिएर १ मिटर लामो (मानव मस्तिष्कको कोशिका) सम्म हुन्छ। ब्याक्टेरिया कोशिकाको आकार ०.५ देखि ५ माइक्रोमिटरसम्म हुन्छ। १ माइक्रोमिटर भनेको १ मिटरको दसलाख भाग बराबरी हुन्छ। ०.५ माइक्रोमिटर भन्दा साना कोशिकालाई साधारण ‘माइक्रोस्कोप’ बाट हेर्न सकिन्न ,यस्का लागि इलेक्ट्रोन माइक्रोस्कोप आवश्यक हुन्छ। अहिले देखिएको कोरोना भाइरसको आकार ०.०६ माइक्रोमिटर देखि ०.१२ माइक्रोमिटरसम्म रहेको छ। सामान्य ‘माइक्रोस्कोप’बाट यसलाई हेर्न सकिन्न।
ब्रह्माण्डको निरन्तर विस्तार भइरहेको छ। विज्ञान भन्छ दृश्य ब्रह्माण्ड (observable Universe) ५ प्रतिशत मात्रै हो, बाँकीको ९५ प्रतिशत ‘डार्क एनर्जी’ र ‘डार्क म्याटर’ को साम्राज्य छ। ‘डार्क म्याटर’ र ‘डार्क एनर्जी’ के? ‘डार्क’ नामाकरण नै विज्ञानलाई यसबारे केही थाहा नभएर भएको हो।
मानव शरीरको सबैभन्दा सानो कोशिका ‘ग्रैनुल सेल’, ‘रेड ब्लड सेल’ ( ४ देखि ८ माइक्रोमिटर) कोरोना भाइरस भन्दा कैयन गुना ठूला कोशिका हुन्। कोशिकाको आकार प्रकार अनुसार यिनको तौल फरक फरक हुन्छ। ‘रेड ब्लड सेल’को तौल २७ पिकोग्राम हुन्छ। १ पिकोग्राम भनेको १ ग्रामको १ खरबौं भाग हो।
म तपाईंलाई सानोतिरको अन्तत यात्रामा लैजादैछु । मानव कोशिकासम्म पुग्दा हामी १ मिटरको दसलाख भन्दा पनि सानो आकारमा पुगेका छौं। यस आकृति अथवा आकारमा जीवन छ, स्वतन्त्र जीवन छ। तर यस ‘स्टेज’को जीवनलाई ‘इलेक्ट्रोन माइक्रोस्कोप’को सहायता बिना हेर्न सकिन्न। र, यस ‘स्टेज’को जीवनको तौल पिकोग्राम (१ ग्रामको खर्बौँ भाग) मा सीमित रहेको हुन्छ।
यस माइक्रोमिटर स्केलमा रहेको जीवनरुपी कोशिकामा कति अणु हुन्छन्? बुझ्नतर्फ लागौं — कुरा ‘रेड ब्लड सेल’कै गरौं — ‘अरबीसी’को द्रव्यमान (mass ) २७ पिको ग्रामलाई ‘युनिफाइड एटमिक मास यूनिट’ ( ऐएमयू ) १.६६०५ *१० को घात माइनस २४ बाट भागा गरेर ज्ञात गर्न सकिन्छ। । साब गर्दा १ ‘अरबीसी’मा अणु संख्या झण्डै १० खर्ब हुन आउँछ।
एउटा कोशिकाको निर्माण दशौं खर्ब अणुले मिलेर भएको हुन्छ। अणुको आकार पिकोमिटर ( १ मिटरको १ खरब भाग) मा रहेको हुन्छ । कार्वन तत्वको अणु को आकार ७० पिकोमिटर हुन्छ ।
कल्पना गर्नुस १ मिटरको एक खरब भाग ! यही आकार हुन्छ एउटा अणुको ।
तर तीनजना ब्रिटिश नागरिकले अणु सबैभन्दा सानो नरहेको प्रमाणित गरिदिए । जेजे थामसनले १८९७ मा इलेक्ट्रोन ,अर्नेस्ट रदरफोर्डले १९२० मा प्रोटोन र जेम्स चैडविकले १९३२ मा न्यूट्रॉनको खोज गरेर अणुलाई विभाजित गरी दिए। अब हामीलाई थाहा छ अणुको पनि संरचना छ। अणु भित्र प्रोटोन, न्यूट्रॉनको आकार फेमटोमिटरमा ( १० को घात माइनस १५ मिटर ) इलेक्ट्रोनको आकार अटोमिटरमा (१० को घात माइनस १८ मिटर ) रहेका हुन्छन्।
इलेक्ट्रोनले नेगेटिभ चार्ज बोकेको हुन्छ भने प्रोटोनले पोजेटिभ चार्ज। अर्थात अणुभित्र पनि मैथुन प्रक्रिया हुन्छ।
अनन्तको यात्रा यहाँ पनि कहाँ टुङ्गिन्छ र ? फेमटोमिटर (१० को घात माइनस १५ मिटर ), अटोमिटर (१० को घात माइनस १८ मिटर ) आकारका प्रोटोन र इलेक्ट्रोन पनि विभिन्न ‘क्वार्क’ र ‘लेप्टान’बाट मिलेर बनेका हुन्छन्। क्वार्क र लेप्टान नै अहिलेसम्म विज्ञानले पत्ता लाएका सबैभन्दा सुक्ष्म कण हुन्। र वास्तवमा विज्ञानसँग यी कणको आकार पत्ता लाउने कुनै उपाय अथवा तरीका नै छैन। अनुमान छ, यी कण प्रोटोनको जम्मा ०.००१ प्रतिशत मात्रै हुन्छन्। तर विज्ञानलाई यति भने स्पष्ट थाहा छ यिनको आकार शून्य हुन सक्दैन। यसपछि भने विभिन्न स्तरका एनर्जीको कुरा गर्छ विज्ञानले। विज्ञानसँग सानोमा अटोमिटर पछि जेप्टोमिटर (१० को घात माइनस २१मिटर ) योकटोमिटर (१० को घात माइनस २४ मिटर ) हुँदै ‘प्लांक लेन्थ’ ( १.६१६२२९ *१० को घात माइनस ३५ मिटर) सम्मको परिकल्पना छ।
माथि भनिएको डेढ मिटर अग्लो मानिसले के १० को घात माइनस ३५ मिटरको आकारबारे कुनै कल्पना गर्न सक्छ? के उसले कुनै एक मिटर लामो वस्तुलाई खुम्च्याउदै १० को घात माइनस ३५ मिटरको अवस्थासम्म पुर्याउन सक्छ?
सानोतर्फको अनन्त यात्रा जस्तै ठूलो तिरको अनन्त यात्रा पनि कल्पनादेखि पर नै छ । विज्ञान भन्छ – ब्रह्माण्डको विस्तार ९३ अर्ब प्रकाशवर्षसम्म छ। साथेै विज्ञान भन्छ – प्रतिपल ब्रह्माण्डको विस्तार भइरहेको छ र यस विस्तारको गति प्रकाशको गतिभन्दा पनि बढी छ। प्रकाश जसले एक वर्षमा ९४ खर्ब, ५४ अर्ब, २४ करोड, ५ लाख, १२ हजार किमी यात्रा गर्छ। प्रकाश जसले १ सेकेण्डमै पृथ्वीको सातवटा परिक्रमा गर्न भ्याउँछ, त्यही प्रकाशलाई ब्रह्माण्डको एक कुनाबाट अर्को कुनासम्म पुग्न ४६.५ अर्ब वर्ष लाग्छ। अब कल्पना गर्नुस् ब्रह्माण्ड कत्रो छ? के तपाईँको कल्पनाले केही कल्पना गर्न सक्यो?
ब्रह्माण्डको निरन्तर विस्तार भइरहेको छ। विज्ञान भन्छ दृश्य ब्रह्माण्ड (observable Universe) ५ प्रतिशत मात्रै हो, बाँकीको ९५ प्रतिशत ‘डार्क एनर्जी’ र ‘डार्क म्याटर’ को साम्राज्य छ। ‘डार्क म्याटर’ र ‘डार्क एनर्जी’ के? ‘डार्क’ नामाकरण नै विज्ञानलाई यसबारे केही थाहा नभएर भएको हो। दुबैतिर अनन्त विस्तार छ। हामी दुबैमध्ये कुनैतिरको अनन्तताबारे थाहा पाउन सक्दैनौँ। थाहा पाउन सक्दैनौँ लेख्नु पनि गलत हो, कल्पना पनि गर्न सक्दैनौँ। जसको कल्पना पनि गर्न सक्दैनौ त्यसलाई अनन्त भनी भन्नु बाहेक अर्को विकल्प नै के हुन सक्छ?
लेख लामो हुन्छ भन्ने बोधका कारण समय, द्रव्यमान, गुरुत्वाकर्षण, एनर्जी लगायत अन्य विषय बारेको अनन्त गाथा लेख्नतिर लागिन। यी सबै पनि दुबैतिरबाट ( सानो-ठूलो) अनन्त सम्म विस्तारित छन्। तर विडम्बना हेर्नुस् त, धर्म अध्यात्मले ईश्वरलाई अनन्तको उपमा दिँदा समाजका आधुनिक विद्धतवर्गले विज्ञान सम्मत नभएको आक्षेप लाउँछन्!
लेखको प्रारम्भमा मानिसको विचित्रताबारे लेखिएको सन्दर्भ ‘जस्टीफाइ’ गर्ने अवसर पाएँ। एक थरी मानिस ईश्वरको अस्तित्वलाई प्रमाणित गर्न र अर्का थरी आफूलाई नास्तिक भन्नेहरु ईश्वरीय सत्तालाई निरस्त गर्न दिलो ज्यानले लागि परेका हुन्छन्। दुबै थरी प्राणीको भागीरथ प्रयासमा मलाई दया लाग्छ।
के अनन्तलाई प्रमाणित अथवा अप्रमाणित गर्न सकिन्छ? मेरो समानुभूति प्रमाणित गर्नेहरुसँग (तर मैले प्रमाणित गर्ने ठेक्का भने बोकेको होइन ) रहेको हुनाले एउटा प्रश्न गर्न मन लाग्छ – यदि कुनै दिन तपाईका प्रयासले अनन्त हाम्रो इन्द्रीय संज्ञानको परिधिमा कैद हुन बाध्य भयो भने के त्यों फेरि अनन्त रहँला ?
मेरो ईश्वरीय सत्ता प्रतिको अमोघ विश्वासको कारण नै ऊ मेरा कुनै पनि इन्द्रियको पहुँचभन्दा धेरै टाढा भएकोले हो। जुन दिन ऊ मेरा इन्द्रियको संज्ञानभित्र आउँछ, मेरा लागि त्यो ईश्वर रहँदैन, बरु त्यो ईश्वरीय सत्ताको ‘मेनिफेस्टेसन’ अर्थात एनर्जीको पदार्थमा रूपान्तरण (स्मरण रहोस पदार्थको यो अवस्था ठोस, द्रव्य, ग्यास,प्लाज्मा भन्दा पनि परको हुन सक्छ) साबित हुनेछ। मनोविदले यसलाई इन्द्रियको प्रक्षेपण भन्छन्। तर के मनोविदहरुलाई आधुनिक भौतिक शास्त्रको यस खोजबारे थाहा छैन जस अनुसार प्रकृतिमा कतिपय पदार्थ अति अल्प समयका लागि मात्रै अस्तित्वमा आउँछन र अस्तित्वमा आउनासाथ विलीन हुन्छन्। तपाईँ जसलाई इन्द्रीयको प्रक्षेपण भन्नु हुन्छ के त्यो पदार्थको त्यही अवस्था हुन सक्दैन?
अन्तमा उपनिषदको भनाइ ‘ज्ञान अग्नि हो’ पनि ‘जस्टीफाइ’ गर्ने मौका उपस्थित भएको छ। ‘ज्ञान आफ्नो परिधिमा आएको अज्ञानलाई नष्ट गरी आफु पनि नष्ट हुन्छ’ उपनिषदको यो ‘ज्ञान’ ज्ञानका सन्दर्भमा पूर्णतया सत्य छ। ज्ञान नष्ट हुन्छ नै किनकी उसलाई आफ्नो लघुता र ‘प्रकृतिको अनन्तता बोध’ हुन्छ। नष्ट हुनु बाहेक (स्वमृत्यु) रहनुको अर्थ नै के? जे नष्ट हुँदैन त्यो अज्ञान हो, अज्ञान नष्ट हुँदैन। अज्ञानलाई नष्ट गर्न ज्ञानले स्वरुप ग्रहण गर्छ र त्यो अज्ञानलाई नष्ट गरी ज्ञान स्वयं पनि ‘धर्म संस्थापनार्थ संभवामि युगे युगे’ उद्घोष गर्दै आफ्नो लीला र अस्तित्वको पटाक्षेप गर्छ। ज्ञानको परिधिमा नआएको अज्ञान सधै शेष रहन्छ । ज्ञान – अज्ञानको यो चक्र अनादिकालदेखि चली आएको र अनन्तकालसम्म चली रहनेछ।