
धनगढी– दसैँ र तिहारलाई लक्षित गरी सुदूरपश्चिमका नौ जिल्लामा ५ हजार ५० जना प्रहरी परिचालित भएका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले दसैँ, तिहार, छठ लगायतका चाडपर्वको समयमा हुनसक्ने सम्भावित सुरक्षा खतरालाई न्यूनिकरण गर्न सुरक्षा व्यवस्था कडा बनाइएको बताए।
‘हाम्रो नियमित चेकजाँच भइरहन्छ,’ उनले भने, ‘नियमितभन्दा केही बढी सक्रियता बढाइएको छ। चाडपर्वको समयमा मानिसहरूको बढी भीडभाड हुने स्थानहरू घर, सम्पत्ति रहेको स्थान, विशिष्ट व्यक्ति, महत्वपूर्ण प्रतिष्ठानहरू, मठ मन्दिर, गुम्बा, व्यापारिक केन्द्र, वित्तीय संस्था, बैंक तथा सुन पसलमा उच्च निगरानी बढाएका छौँ।’
चाडपर्वको समयमा कुटपिट, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिरा बिक्री, आगजनी, विष्फोट, तस्करी, चोरी, निकासी, दुर्घटना, ठगी, ट्राफिक नियमको उल्लंघन जस्ता क्रियाकलाप हुनसक्ने भएकाले ठाउँ–ठाउँमा प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ।
साथै यसपाली कोरोना महामारीका कारण भीडभाड नगरेर, भेला नभएर सामान्य तवरले दसैँ मनाउनसमेत सरकारले अनुरोध गरेको छ। प्रहरी र ट्राफिक प्रहरीले बिहीबार मात्रै २ बजेदेखि साँझ ६ बजेसम्म १ सय २७ सवारीसाधनलाई मातहतका इकाइले ‘सरप्राइज चेर्किङ गरेको छ।
जसमा १ स १५ सवारीसाधनलाई ट्राफिक कारबाहीसमेत गरेको छ। जुन कारबाहीबाट एकदिनमा ६१ हजार राजस्व संकलन गरेको छ।