
दक्षिण अमेरिकी देश चिलेका नागरिकले संविधान पुनर्लेखनको पक्षमा मत दिएका छन् । तानाशाह जनलर अगस्तो पिनोचेतको पालामा बनाइएको संविधानलाई पुनर्लेखन गर्नुपर्ने पक्षमा चिलेका मतदाताले मत दिएका हुन् ।
जनमत संग्रहको झण्डै ९० प्रतिशत मतगणना हुँदा ७८ प्रतिशतले संविधान पुनर्लेखन गर्नु पर्ने पक्षमा मत दिएका हुन् । असमानताको विरोधमा भएको आम प्रदर्शनपछि संविधानलाई लिएर जनमत संग्रह भएको हो ।
राष्ट्रपति सेबास्टियन पिनेराले मत परिणाको स्वागत गर्दै शान्तिपूर्ण मतदानको प्रशंसा गरेका छन् ।
चिलेमा एक वर्ष पहिलेदेखि सरकार विरोधी प्रदर्शन भएको थियो । संविधानले नै नागरिकबिच विभाजन पैदा गरेको भन्दै त्यसलाई पुनर्लेखन गरिनु पर्ने माग अनुसार त्यसकै पक्षमा मत आएको हो ।