
सिमकोट – डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा नाउर गणना गरिने भएको छ। विश्वमै दुर्लभ हिउँ चितुवाको प्रमुख आहाराको रूपमा रहेको नाउरको गणना सुरु भएको हो।
डब्लूडब्लूएफको आर्थिक तथा प्राविधिक सहयोगमा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको करिब १ हजार ३ सय ६६ वर्गमिटर क्षेत्रफलमा ६ वटा संरक्षण ब्लग तयार गरी नाउर गणना गर्न लागिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए।
सन् २०१८ देखि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा नाउरको गणना थालिएको थियो । प्रति एक वर्गमिटरमा चारवटाका दरले पाइने नाउर सन् २०१८ मा २ हजार ७२, २०१९ मा ४ हजार १ सय ३४ वटा नाउरको गणना गरिएको थियो।
उनका अनुसार २०१८ र १९ को तुलानामा २०२० मा के कति अन्तर छ भनेर यकिन तथ्यांक तयार गर्न गणना थालिएको हो। विश्वको सबैभन्दा धेरै घनत्वमा हिउँचितुवा डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पाइने दाबी रहे पनि हिम चितुवाको आधिकारिक तथ्यांक भने आउन बाँकी छ।
गत वर्ष दुईवटा हिम चितुवामा जीपीएस रेडियो कलरिङ गरेर हाल हिम चितुवाको अनुसन्धान भइरहेको निकुञ्जले जानकारी दिएको छ। हिम चितुवाको प्रमुख आहारा मानिने नाउर गणना गरेपश्चात् हिम चितुवाको अवस्थाबारे जानकारी लिन सजिलो हुने भएकोले पनि सन् २०१८ देखि नाउरको गणना गर्न थालिएको हो।
गत वर्ष ४२ वटा ब्लगमा गणना गरिएको नाउर यस पटक ६ वटा संरक्षण ब्लगभित्रका ६८ वटा वाटरसेटमा करिब ६५ जनाले हिउँ चितुवाको आहारा नाउरको गणना गर्ने पौडेलले बताए।
निकुञ्ज, मध्यवर्ती, हिम चितुवा संरक्षण समिति र स्थानीय सरकारको सबैको सक्रियतामा नाउर गणना गरिने छ। टोलीले ल्याएको तथ्यांक विभागले मात्रै सार्वजानिक गर्न पाउने छ।
हिम चितुवाले पछिल्लो समयमा स्थानीयका घोडा, च्याङ्ग्रा र याक मार्न थालेपछि आहाराको मात्रा घट्दै गएको अनुमान निकुञ्जको छ।
गत आवमा मात्रै निकुञ्जले हिउँचितुवाले मारेका चौपायाको १९ लाख राहत वितरण गरेको र यस आव ५० लाखभन्दा धेरै आउने आकलन गरेको पौडेलको भनाइ छ।
शे–फोक्सुण्डो गाउँपालिका–९ का वडाध्यक्ष लार्काया लामाका अनुसार निकुञ्जको कोर क्षेत्रमा २४ वटा गाउँ छन्।